काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ। चितवन-२ बाट प्रतिनिधि सभाको उप निर्वाचनमा उम्मेदवार रहेका लामिछानेविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा खारेज भएको निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए। 'चारवटा उजुरी परेका थिए। एउटा आयोगले नै निर्णय गर्ने हो। त्यसबारेमा हामीले उहाँसँग स्पष्टीकरण सोधेका छौं। अरु यहाँ परेका ३ वटा उजुरी दाबी अनुसारको कानुन र रवि लामिछानेले दिएको जवाफ हेर्दा दाबि विरोध कायम नहुने भयो। उहाँको उम्मेदवारी सदर हुने भयो,' न्यौपानेले भने।
यसअघि नागरिकता सम्बन्धि विवादमा लामिछानेको सांसद पद खारेज भएको थियो। नागरिकता पुन प्राप्ति गर्नुपर्ने सर्वोच्च अदालतले फैसला गरेपछि उनी सांसदका लागि अयोग्य भएका थिए। फेरि वैशाख १० मा हुने चुनावका लागि लामिछाने उक्त क्षेत्रबाटै उम्मेदवार रहेका छन्। अहिले पनि लामिछानेविरुद्ध अदालत र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेका हुन्।