काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ १ को उपनिर्वाचनमा उम्मेदवार रहेका स्वर्णिम वाग्लेले झुटो दाबी गरेका छन्। आफ्ना प्रत्यासीविरुद्ध उनले गलत दाबी गरेका हुन्। नेपाली कांग्रेसका तर्फबाट उक्त क्षेत्रमा उम्मेदवार रहेका गोविन्द भट्टराईलाई राष्ट्रिय सभा सदस्य बनाइने भन्दै उनले प्रचार गरेको भेटिएको हो।
'तपाईँको इन्टरभ्यू हेर्ने मान्छे। तपाईँलाई म बधाई दिन सक्छु। गोविन्द भट्टराईको यहाँ लगानी धेरै छ,' चुनावी प्रचारमा घरदैलोमा पुगेका वाग्लेलाई कांग्रेसका राजेश कार्की नाम गरेका कार्यकर्ताले यस्तो भनेपछि वाग्लेले उनलाई आश्वस्त बनाउन भट्टराईलाई राष्ट्रिय सभा सदस्य बनाइने बताए। भने, 'उहाँ राष्ट्रिय सभामा जादैँ हुनुहुन्छ ग्यारेन्टी नै छ। गोविन्दजीलाई अन्याय हुदैँन।'
तनहुँ १ मा कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। मंसिरमा भएको प्रतिनिधि सभाकै निर्वाचनमा उम्मेदवारीका लागि लबिङ गरेका वाग्लेले टिकट भने पाएनन्। अहिले पनि टिकट नपाएपछि केहि दिन अघि मात्रै वाग्ले रास्वपा प्रवेश गरेका थिए।