PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

साम्बाले फर्काइन सान्त्वना गोल, नेपाल भियतनामसँग पराजित



पहिलोपोस्ट

साम्बाले फर्काइन सान्त्वना गोल, नेपाल भियतनामसँग पराजित

काठमाडौंः पेरिस ओलम्पिक छनोट अन्तर्गतको पहिलो चरणको नेपाल र भियतनामबीच आज सम्पन्न पहिलो खेलमा नेपाली टोली भियतनामसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भियतनामले नेपाललाई ५-१ गोलअन्तरले हराएको हो।

डिफेन्डर र गोलकिपरबीचको असमझदारीले ११औँ मिनेटमा नै नेपालले पहिलो गोल खाएको थियो। त्यसअघि ९औं मिनेटमा पाएको एउटा सुन्दर अवसरमा नेपाल चुकेको थियो।

खेलको २७औं मिनेटमा साम्बाको क्रसलाई दीपा शाहीले गोलमा परिणत गर्न सकिनन्। 

खेलको ३६औँ मिनेटमा हिराकुमारी भुजेलले ह्याण्डबल गरेपछि भियतनामले पेनाल्टीको अवसर पाएको थियो। जसलाई सदुपयोग गर्दै हुयन नहुले गोल गरिन्।

तेस्रो गोल एनगुइन थिनबीचको प्रहार अमृता जैसीको खुट्टामा लागेर ३८औँ मिनेटमा गोल भएको थियो।  

दोस्रो हाफमा भने नेपालले केही लय समात्दा खेलमा प्रतिस्पर्धा बढेको थियो। तर, ४७ औँ मिनेटमा होआङ थि लोङको पासमा हुयन नहुले गोल गरिन्। यसबीचमा नेपालले केही राम्रा अवसर पनि बनाएको थियो। 

७९औं मिनेटमा साबित्रा भण्डारी साम्बाले गोल फर्काइन्।  लगत्तै ८५औं मिनेटमा सविता राना मगर फिनिसिङमा चुकिन्। 

इन्ज्युरी समयमा नेपालले पाँचौँ गोल ब्यहोर्‍यो। सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेकी एनगुएन थीले भियतनामका लागि गोल थपिन्।
दोस्रो खेलमा २५ गते नेपाल र भियतनाम आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell