इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकालेको छ। गुवाहटीस्थित वर्षापरा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले राजस्थानमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थान ७ विकेट गुमाएर १९२ रनमा समेटियो।
सुरुवाती ब्याटिङमा उत्रिएको पञ्जाबका लागि ओपनरद्वय शिखर धवन र प्रभशिमरन सिंहले पहिलो विकेटका लागि ९० रनको साझेदारी गरेका थिए। कप्तान धवन ८६ रनमा अविजित रहँदा सिंहले ६० रन बनाए। त्यस्तै जितेश शर्माले २७ तथा मोहम्मद शाहरुख खानले ११ रन बनाए।
बलिङतर्फ राजस्थानका जेसन होल्डरले २ विकेट लिँदा रविचन्द्र अश्विन र युजवेन्द्र चहलले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले ओपनिङमा आएका रविचन्द्रन अश्विनले शुन्य रनमै विकेट गुमाउँदा अर्का ओपनर यशस्वी जसवालले ११ रन बनाए। राजस्थानका लागि कप्तान सञ्जु सामसनले सर्वाधिक ४२ रन बनाउँदा शिमरन हेटमायरले ३६, ध्रुव जुरेलले अविजित ३२, देवदत्त पार्डिकलले २१ तथा जोस बट्लरले १९ रन बनाए।
राजस्थानलाई लक्ष्यसम्म पुग्न नदिन पञ्जावका नाथन एल्लिसले सर्वाधिक ४ विकेट लिँदा अर्सदीप सिंहले २ विकेट लिए।
जारी सिजन पञ्जावको यो लगातार दोस्रो जित हो भने राजस्थानको पहिलो हार हो। यसअघिको खेलमा पञ्जाबले कोलकत्ता नाइटराइडर्सलाई ७ रनले हराएको थियो भने राजस्थानले सनराइजर्स हैदराबादलाई ७२ रनले हराएको थियो।