काठमाडौं : प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्म ‘बहाव’को प्रिमियर सम्पन्न भएको छ। बुधवार काठमाडौंमा आयोजित ग्राण्ड प्रिमियर शोमा फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको छ।
प्रिमियर शोमा नेकपा (एमाले)का सांसद रघुजी पन्न, नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलका साथै चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति थियो। कलाकार लुनिभा तुलाधारले फिल्मले उठान गरेको कथा आफूलाई निकै मन परेको बताइन्। साथै फिल्मको कतिपय दृश्यहरुले आफूसँग जोडिएको महसुस भएको उनको भनाइ छ।
त्यसैगरी, कलाकार हरि निरौला (कक्रोज)ले फिल्मको विषयवस्तु राम्रो भएको बताउँदै उत्कृष्ट फिल्म भएको प्रतिक्रिया दिए। उनले विशेषगरी युवायुवतीहरुलाई फिल्म हेर्न अनुरोध गरे।
‘यस फिल्मको कथा युवायुवतीहरुको जीवनसँग मेल खान्छ। फिल्मको टाइटल अनुसार फिल्मले स्वतन्त्र तरिकाले कुनै बाधाअवरोध हिड्ने खोज्ने युवायुवतीको मनोदशा भन्ने सन्देशसहितको कथा छ। त्यसैले यो युवायुवतीहरुले हेर्नै पर्ने फिल्म हो,’ उनले भने।
फिल्मको कथादेखि लिएर निर्देशक र कलाकारहरुको कामले फिल्म राम्रो बनेको कलाकार भोला सापकोटाले बताए। यस्तै, दीपक आचार्य (काकु)ले पनि देशमा राजनीतिक परिवर्तनहरु भए, समाजमा विभेदसम्बन्धित कानुनहरु बनेता पनि अझै पनि वैचारिक लडाई लड्नुपरिरहेको सन्देश फिल्मले दिने बताए।
श्रीधर पौडेललको लगानी रहेको फिल्ममा सुरक्षा पन्न र कमणमणी नेपाल मुख्य भूमिकामा छन्। जहाँ कमलमणी बुवा र सुरक्षा छोरीको भूमिकामा छिन्। केही विषयमा घरपरिवारसँग द्वन्द्व हुँदा सुरक्षाले गर्ने विद्रोह र क्रान्तिको बाटो नै फिल्मको कथा हो।