काठमाडौं : नेपालको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछि अस्ट्रेलियामा सांगितिक यात्रा गर्ने भएको छ। नेपाली टच अस्ट्रेलियाको व्यवस्थापनमा त्यहाँको विभिन्न ८ शहरमा ब्यान्डले आफ्नो सांगितिक प्रस्तुति दिनेछ।
अप्रिल १० अर्थात चैत २७ गतेबाट म्युजिकल टुर सुरु हुने ब्यान्डका म्यानेजर एवं गिटारिस्ट बबि लामाले बताए।
‘हामी शुक्रवार नै नेपालबाट अस्ट्रेलिया प्रस्थान हुँदैछौँ। १० वर्षपछि अस्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौँ। दर्शक-श्रोतालाई सरप्राइज दिने हिसाबले हामीले तयारी गरेका छौँ,’ उनले भने।
ब्यान्डको पहिलो सांगितिक प्रस्तुति १० तारिखमा मेल्बर्न शहरमा हुनेछ। त्यसपछि १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा क्यान्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर सांगीतिक यात्रा सकिनेछ।
३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट नै चर्चामा आएका गायक हुन् राजु लामा। लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।
ब्यान्डको यात्रा ३० वर्ष पुगेको अवसरमा अस्ट्रेलिया टुर गर्न पाउँदा उत्साहित रहेको बताउँछन् ब्यान्डका फ्रन्ट म्यान गायक राजु लामा।
‘१० वर्षपछि अस्ट्रेलियामा मंगोलिन हार्टसहित ‘ज्यो ज्यो’ जाँदैछ’, उनले भने, ‘ब्यान्डका पुराना र केही नयाँ गीत हामी त्यहाँ प्रस्तुत गर्नेछौँ। हामी अस्ट्रेलियासँगको हाम्रो पुरानो सांगीतिक सम्बन्ध फेरि रिन्यू गर्न पाउँदा साह्रै उत्साहित छौं।’
‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’लगायत मंगोलियन हार्टका चर्चित गीतहरु हुन्।