PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

 बालाजुमा बिहानैदेखि जात्राको उल्लास, बाइसधारामा स्नान गर्नेको भिड

बालाजुमा बिहानैदेखि जात्राको उल्लास, बाइसधारामा स्नान गर्नेको भिड

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आज ल्हुति पुन्ही अर्थात् बालाजु बाइसधारा मेला। काठमाडौं महानगरपालिका अन्तर्गत रहेको बाइसधारा उद्यानमा रहेको २२ वटा धारामा आज स्नान गर्ने परम्परा रहेको छ। 

हरेक वर्ष चैत शुक्ल पूर्णिमाको दिन बालाजुस्थित बाइसधारामा जात्रा लाग्ने गर्छ। त्यहाँ रहेको २२ वटा धारामा स्‍नान गर्न आज बिहानैदेखि भक्तजनहरुको घुँइचो लागेको छ। बाइसधारा गेट देखि नै सर्वसाधारणहरु लाइनमा बसेका छन्।

मल्लकालिन ल्हुति क्षेत्रमा रहेका यी धाराबाट पहिला नागार्जुन क्षेत्रबाट पानी आउने गर्थ्यो। तर, अहिले भने यी धाराका स्रोतहरु सुकिसकेका छन्। पहिला २२ वटै धारामा कलकल पानी आउने गर्थ्यो। अहिले भने जात्राको समयमा मात्रै २२ वटा धारामा पानी पठाउने गरिन्छ। अरु बेला एउटा-दुई धारामामात्रै पानी छोड्ने गरिन्छ।

बुधवार मध्यरातमा श्वेत गणेशको मूर्ति बाइसधारा क्षेत्रमा रहेको गणेश मन्दिरमा ल्याएर राखिएपछि विधिवत् रुपमा जात्रा सुरु भएको हो। आजको दिन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने जामाचोमा पनि मेला लाग्ने गर्छ। जामाचो गएर मानिसहरु बाइसधारामा आएर स्नान गर्ने कथन पनि छ।

बिहानैदेखि बालाजु चोकदेखि बाइपाससम्म मानिसहरुको ठेलमठेल सुरु भएको छ। सडकको दायाँबायाँ पसल राख्नेहरुको भिड पनि बढेको छ।

बुधवार बौद्धमा तामाङ समुदायले आफ्नो पितृलाई स्मरण गर्दै न्हाङसल(बत्ती) बालेका थिए। तामाङहरुले चैत पूर्णिमाको अघिल्लो दिन दिवंगत पितृहरुको स्मरणमा बत्ती बाल्ने गर्छन्। हिजो पितृको स्मरणमा बत्ती बालेका तामाङ समुदायले आज बालाजु बाइसधारामा स्नान गर्ने परम्परा पनि रहेको छ। बाइसधारामा स्नानपछि स्वयम्भू महाचैत्यमा गई श्रद्धालु भक्तजनले पितृको सम्झनामा बत्ती बाल्ने गर्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell