काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेका क्याम्पसहरुमा आगामी चैत ३० गते निर्वाचन गर्न तत्काल नयाँ कार्यतालिका प्रकाशित गरी निर्वाचनको सुनिश्चितता गर्न संयुक्त विद्यार्थी संगठनहरुबिच सहमति भएको छ। बिहीवार विद्यार्थी संगठनहरुबिच सो सहमति भएको हो।
देशभरीका निर्वाचन हुन बाँकी रहेका आङ्गिक र सम्वन्धनप्राप्त क्याम्पसहरुमा निर्वाचन गर्ने, निर्वाचन विथोलिने खालका गतिविधि नगर्ने र निर्वाचन भाड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला तोडी चुनावी प्रक्रिया अगाडि बढाउन संयुक्त विद्यार्थी संगठनहरु प्रतिवद्ध रहेको समेत बताइएको छ।
विद्यार्थी भर्ना विवादका कारण स्ववियु निर्वाचन रोकिएका क्याम्पसहरुमा विवादित विषयमाथि सत्यतथ्य छानबिनको लागि अध्ययन र अनुगमन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरी निर्वाचन प्रक्रियालाई अगाडि बढाउन संयुक्त विद्यार्थी संगठनहरुले माग गरेका छन्। साथै, विश्वविद्यालय लगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण पक्षलाई निर्वाचनमा केन्द्रीत हुन पनि संयुक्त विद्यार्थी संगठनहरुले विज्ञप्तिमार्फत अनुरोध गरेका छन्।