PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कोरोनाको जोखिम बढेपछि भारतबाट फर्किनेलाई बेलहिया नाकामा कडाइ



पहिलोपोस्ट

कोरोनाको जोखिम बढेपछि भारतबाट फर्किनेलाई बेलहिया नाकामा कडाइ

बुटवल : कारोना जोखिम बढेपछि बेलहिया नाकामा कडाइ गरिएको छ। भारतबाट स्वदेश फर्किने नागरिकमा कोराना संक्रमण देखा पर्न थालेपछि जाँचमा कडाइ गरिएको हो।

भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा नियमित जाँच र निगरानी बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए। विशेष गरी भारतमा लामो समयसम्म बसेका नेपाली नागरिक र भारतीय पर्यटकलाई लक्षित गर्दै जाँचको दायरा बढाइएको उनले बताए।

‘पछिल्लो समय भारतमा संक्रमण फैलिरहेको अवस्था छ, भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि जोखिम बढ्दै गएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि सीमाक्षेत्रमै परीक्षणमा कडाइ गरेका छौँ,’ प्रजिअ पाण्डेले भने।

संक्रमण नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले बुधवार बेलहियास्थित हेल्थ डेस्कको अनुगमन गरिएको उनले बताए। प्रजिअ पाण्डेसहित, रुपन्देही प्रहरी प्रमुख (एसपी) भरत बहादुर विक, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल, सिद्धार्थनगर नगरपालिकाका प्रतिनिधिलगायतले बेलहिया हेल्थ डेस्कको अनुगमन गर्दै त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन्।

भारतदेखि आउने पर्यटकहरूसँग पीसीआर रिपोर्ट माग्ने र नभएमा अनिवार्य रुपमा एन्टिजेन परीक्षण गर्न निर्देशन दिइएको छ। बेलहिया हेल्थ डेस्कमार्फत निगरानी बढाइएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख ढकालले बताए।

‘हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गर्ने र संक्रमण पुष्टि भए सुरक्षित ढंगले गन्तव्यसम्म पुर्‍याउने र ट्र्याकिङ गर्ने तथा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन विशेष सावधानी अपनाउन अनुरोध गरेका छौँ,’ उनले भने।

संक्रमणलाई मध्यनजर गर्दै खोप अभियानलाई प्रभावकारीरूपमा अघि बढाइएको र संक्रमण फैलन नदिन आवश्यक जनचेतना जगाउने काम पनि भइरहेको उनले बताए। बेलहिया हेल्थ डेस्कका अनुसार पछिल्लो चार दिनको अवधिमा भारतबाट फर्किएका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सीमा नाकामा परीक्षण गर्दा दैनिकरूपमा कोरोना संक्रमण देखिरहेकोले समुदायस्तरमा पनि यसको जोखिम बढेको छ। नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका सबै नाकामा स्वदेश फर्किनेको संख्या पनि बढेको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell