बुटवल : लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिताको उपाधि दीपक अधिकारी र राजपुरा पछाईले जितेका छन्। प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले १ घण्टा ६ मिनेट २ सेकेन्डमा २१ किलोमिटरको दुरी पूरा गरेका थिए। उनले १ लाख ५० हजार रुपैयाँ नगद प्रमाणपत्र तथा मेडल पाए।
यस्तै, महिलातर्फ नेपाल प्रहरीकी पछाईले १ घण्टा २४ मिनेट २ सेकेन्डमा २१ किलोमिटरको दुरी पूरा गरेकी थिइन्। उनले १ लाख ५१ हजार रुपैयाँ नगद प्रमाणपत्र तथा मेडल पाइन्।
अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा बिहीवार मदन भण्डारी स्पोर्ट्स एकेडेमीले शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थल लुम्बिनीमा प्रतियोगिता आयोजना गरेको थियो। मायादेवी मन्दिर प्रवेशद्वारबाट सुरु भएको म्याराथनमा प्रतियोगिहरुले पर्साचोकबाट पुनः महिलवार हुँदै २ फन्का लगाएर २१ किलोमिटरको दुरी पार गरेका थिए।
प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पार्कीले १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो भए। त्रिभुवन आर्मीका मुकेश पाल १ घण्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै तेस्रो र त्रिभुवन आर्मीकै नरेन्द्र रावल १ घण्टा ७ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै चौथो हुन सफल भए। पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाँचौं र महिनदेव जोशी छैटौं भए। एपीएफका राजेन्द्र तामाङ सातौं एवं त्रिभुवन आर्मीका जितेन्द्र दनुवार आठौं, प्रेमबहादुर बस्नेत नवौं र टंक कामी दसौं भए।
यस्तै, महिलातर्फ एपीएफका विन्द्रा धान्के श्रेष्ठ १ घण्टा २६ मिनेट ७ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो भइन्। नेपाल प्रहरीका रेखा विष्ट १ घण्टा २६ मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै तेस्रो र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी १ घण्टा २८ मिनेट ३३ सेकेन्डमा दुरी पार गर्दै चौथो हुन सफल भइन्। महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा पाँचौ र एपीएफका आशा रावल छैटौं भए। त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौं एवं खुलाबाट आठौं सुर्खेतकी विन्दु हमाल, त्रिभुवन आर्मीकी निर्मला पुन नवौं र शारदा शाही दसौं भइन्।
प्रतियोगितामा दुवै विधामा दोस्रो हुनेले ७५ र तेस्रोले ५० हजार रुपैयाँ नगद पुरस्कार पाए। त्यस्तै पाँचौंले २० हजार, छैटौंले १० हजार, सातौंले ७ हजार, आठौंले ५ हजार र नवौं तथा दसौंले ५–५ हजार नगद प्रमाणपत्र तथा मेडल पाए। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित शान्तिदीपमा बालेको दीप प्रशिक्षक तथा ओलम्पियन चन्द्रबहादुर गुरुङ, विमला राना र मोहन घलेलाई हस्तान्तरण गरेर प्रतियोगिता शुरु गरेका थिए। प्रतियोगितामा देशभरका दुई हजार पाँच सय ५० महिला तथा पुरुष खेलाडी सहभागी रहेको आयोजक संस्था मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए।