PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

सिर्सिया प्रदुषण मुक्त बनाउने जोडमा वीरगंज महानगर, कारखानाको पानी मिसाउने उद्योगहरुमा मेयरको छड्के



राधेश्याम पटेल

सिर्सिया प्रदुषण मुक्त बनाउने जोडमा वीरगंज महानगर, कारखानाको पानी मिसाउने उद्योगहरुमा मेयरको छड्के

वीरगंज : वीरगंज महानगर यति बेला सिर्सिया नदीलाई पुरानै अवस्थामा फर्काउन प्रयासरत छ। वीरगंजकै लाइफलाइन मानिने यस नदीको पानी सफा बनाउन महानगर सक्रिय बने पनि उद्योगहरुले भने टेरेको छैन।

बुधवार वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको नेतृत्वमा बुधवार अनुगमन टोली पुग्दा पनि उद्योगहरुले नदीमा प्रशोधन बिनै नदीमा पानी मिसाएको पाइयो। पटकपटकको निर्देशनलाई पनि अवज्ञा गर्दै वीरगंजका केही उद्योगहरुले प्रशोधन बिना नै प्रदुषित पानी सिर्सिया नदीमा मिसाइरहेको पाइएको हो। 

यसरी अटेर गर्ने उद्योगहरु वीरगंज वडा नम्बर २१ परवानीपुरस्थित श्री सिद्धी टेक्सटायल्स प्रालि,अर्निका प्रोसेसिङ् उद्योग प्रालि, पन्ना पेपर उद्योग प्रालि ग्लोबल लेदर उद्योग प्रालि, मरियम लेदर उद्योग प्रालिलगायत भएको महानगरले जनायो। यसअघि उपप्रमुख इम्तियाज आलमको नेतृत्वमा पटकपटक अनुगमन गर्नुका साथै महानगरले प्रशोधन गरेर मात्रै नदीमा मिसाउन पत्राचार गर्दासमेत उद्योगहरुले बेवास्ता गरेको महानगर प्रमुख सिंहले दाबी गरे। उनले भने, ‘महानगरले जसरी पनि सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाएरै छाड्छ, अहिले प्रदुषित गराउने उद्योगहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउनुका साथै कडा रुपमा उत्रिनेमा हामी पछाडी हट्ने छैनौं।’ 

पटकपटक आग्रह गर्दा पनि अटेर गर्नुका साथै पत्राचारलाई पनि उद्योगहरुले बेवास्ता गरेको महानगर प्रमुख सिंहको भनाई छ। उनले भने, ‘उद्योगहरुले पूर्ण रुपमा बदमाशी गरिरहेका छन्, यो कुनै पनि हालतमा सह्य हुँदैन। प्रायः उद्योगले अनुगमन गर्न आउँदा देखाउनमात्रै प्रशोधन केन्द्र बनाएका छन्। तर प्रशोधन नै नगरी दुषित पानी नदीमा मिसाएर जनताको स्वास्थ्यसँग खेलवाँड गरिरहेका छन्।’

कुनै पनि उद्योग सञ्चालन गर्दा वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा यस क्षेत्रका अधिकांश उद्योगले बेवास्ता गरेको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको बुझाई छ। पौडेल भन्छन्, ‘उद्योगहरुको लापरवाही स्पष्ट देखिन्छ, व्यवस्थित तरिकाले प्रशोधन गरेर नदीमा सफा पानी फाल्ने वातावरण बनाउनुपर्छ। तर यहाँ ठीक बिपरित देखियो। नामका लागि मात्रै प्रशोधन केन्द्र बनाए पनि प्रदुषित पानी नै नदीमा मिसाउनु सरासर गलत हो।’ 

अनुगमनका क्रममा  नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर (रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु) सीधै नदीमा फाल्दै आएको भेटिएको छ। सिद्धि टेक्सटायल्स उद्योगको प्रदुषित पानी मिसिनुभन्दा माथि सिर्सिया नदिको पानी सफा देख्न सकिन्छ। सिद्धि टेक्सटायल्स उद्योग नै सिर्सिया नदिलाई प्रदुषण बनाउने पहिलो उद्योग हो। त्यसपछि अरु उद्योगको प्रदुषित पानीले नदी प्रदुषण हुँदै आएको छ। 

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल भन्छन्, ‘सिर्सिया नदी वीरगंज शहरकै लाइफलाइन हो, त्यसका कारण यो नदिलाई प्रदुषित बनाउने जोसुकै भए पनि महानगरले कारबाही गर्छ, नदीलाई प्रदुषणमुक्त बनाउने अभियान अब कुनै पनि हालतमा रोकिदैन।’

अनुगमनलाई निरन्तरता दिनुका साथै नदिलाई प्रदुषित बनाउने अन्य उद्योग र निकायलाई पनि कडा कारबाही गरिने पौडेलको भनाई छ। 
सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउने अभियानमा वीरगंज उद्योग वाणिज्य संघले हातेमालो गरिरहेको छ। नदीलाई सफा बनाउने विषयमा संघ पनि गम्भिर रहेको उल्लेख गर्दै अध्यक्ष अनिल कुमार अग्रवालले यसको दीर्घकालिन समाधानको बाटो खोज्नुपर्ने आवश्यक्ता औँल्याए। अग्रवालले भने, ‘नदीलाई सफा बनाउनु हामी सबैको सरोकारको विषय हो, अहिले तत्कालका लागि मात्रै नभएर दीर्घकालिन रुपमै समस्याको समाधानका लागि सबैले हातेमालो गर्न आवश्यक छ।’ 

यसअघि महानगरले नदी प्रदुषण गर्ने ५ वटा उद्योगलाई ३ लाख रुपैयाँका दरले जरिवाना पनि गरेको थियो। ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिद्धी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई ३/३ लाखका दरले जरीवाना गरेको हो। 

करिब तीन दशकदेखि प्रदुषणको चपेटामा परेको वीरगंज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन महानगरपालिकाले दुई महिना यता अभियान नै सञ्चालन गरेको छ। प्रमुख सिंहसहित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी निरीक्षक मनिषा लौडारी लगायतको अनुगमन टोलीले बुधवार परवानीपुरका ५ वटा उद्योगको अनुगमन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell