PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पहिलो पटक सीआईबीको कमाण्ड महिला प्रहरीको काँधमा, कति चम्किन सक्लिन् किरण?



सविन ढकाल

पहिलो पटक सीआईबीको कमाण्ड महिला प्रहरीको काँधमा, कति चम्किन सक्लिन् किरण?

काठमाडौं : नेपाल प्रहरीको नेतृत्व प्रतिस्पर्धामा सबैभन्दा माथिल्लो सिढींसम्म पुग्न सफल किरण बज्राचार्य दुई दिनयता सीआईबीको कमाण्ड सम्हाल्दै छिन्। कुनै समय डीआईजीको दरबन्दी रहेको व्यूरो अहिले भने एआईजीको कमाण्डमा चल्छ। र, त्यसको नेतृत्वमा पहिलो पटक महिला प्रहरी अधिकृत पुगेकी छिन्।

नेपाल प्रहरीमा अनुसन्धानका हिसाबले विशेष रुपमा हेरिने व्यूरो हो, केन्द्रीय अनुसन्धान व्यूरो अर्थात् सीआईबी। गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने भूमिकामा रहेकाले प्रहरी संयन्त्रभित्र यसको नेतृत्वलाई विशेष महत्त्वका साथ हेरिन्छ।

ठूला आर्थिक आपराधिक मुद्दादेखि जघन्य र गहन प्रकृतिका अपराधको अनुसन्धान गर्ने अधिकार सीआईबीको जिम्मामा हुन्छ। प्रहरी महानिरीक्षकसँग प्रत्यक्ष जोडिएर यसको अनुसन्धान हुनेगर्छ। त्यसैले पनि धेरै एआईजीको नजरमा सीआईबी पर्नेगर्छ।

सीआईबीको इतिहासमा पहिलो पटक व्यूरोको नेतृत्व महिला प्रहरीले गर्दैछिन्। केही दिनअघि मात्र सरकारले व्यूरोमा एआईजी बज्राचार्यलाई प्रमुख बनाएर पठाइएको छ। त्यसो त बज्राचार्य नेपाल प्रहरीको महानिरीक्षकको दावेदारीमा रहेकी पहिलो महिला हुन्। तर, उनी पहिलो महिला महानिरीक्षक बन्न भने सकिनन्।

सरकारले एआईजी बसन्त कुँवरलाई आईजीमा नियुक्त गर्‍यो। यही मेलोमा एआईजी बज्राचार्यले चुनौती र अवसर दुवै रहेको व्यूरोको नेतृत्व गर्ने मौका भने पाएकी छिन्।

'मेरो लागि यो अवसर र चुनौती दुवै हो। अपराध नियन्त्रण र अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्नेछु,' ब्यूरोको जिम्मेवारी सम्हालेपछि एआईजी बज्राचार्यले भनिन्।

पछिल्ला २८ वर्ष प्रहरी सेवामा उनले यस्ता धेरै कार्यालय, परिसर र प्रदेशमा पहिलो महिला प्रहरीका रुपमा जिम्मेवारी बहन गरिन्। काठमाडौं उपत्यकाभित्रका तीनमध्ये दुई तात्कालीन परिसरहरु भक्तपुर र ललितपुरमा पहिलो महिला प्रहरी बनेर काम गरेको अनुभव छ उनीसँग।

२०७७ मङ्सिर ७ गतेबाट लागू हुने गरी ३३ जना एसएसपीको सरुवा गरिँदा किरणले ललितपुरको कमान्ड सम्हाल्ने मौका पाएकी थिइन्। त्यहाँ उनी खरो रुपमा उत्रिइन् पनि। त्यस्तै, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भएर पनि उनले जिम्मेवारी बहन गरिन्।

पहिलेको तुलनामा अहिले नेपाल प्रहरीको उच्च पदमा महिलाको सहभागिता बढ्दै छ। नेपाल प्रहरीमा दुई जना महिला एआईजी कार्यरत छन्।

प्राविधिकतर्फ नेपाल प्रहरी अस्पतालको प्रमुखमा एआईजी डाक्टर आशा सिंह छिन्। त्यस्तै एक साता अघिमात्र डीआईजी मीरा चौधरी एआईजीमा सिफारिस भइन्। मीरा एआईजी बज्राचार्यसँगै प्रहरी सेवामा प्रवेश गरेकी हुन्।

अबको केही दिनमा नेपाल प्रहरीमा तीन जना महिला एआईजी हुनेछन्। नेपाल प्रहरीको इतिहासमा उच्च तहमा पहिलो पटक यति धेरै महिला प्रहरीले नेतृत्व सम्हाल्न लागेका हुन्। किरण र मीराकै ब्याजी डीआईजी दुर्गा सिंह र किरण रानाले पनि महत्वपूर्ण विभाग सम्हालिरहेका छन्।

अहिले नेपाल प्रहरीको कूल जनशक्ति ७५ हजार ४ सय रहेको छ। जसमा महिला प्रहरीको सङ्ख्या ८ हजार ९ सय ६९ छ। ३३ प्रतिशत महिलाको सहभागिता भनिरहँदा प्रहरी सङ्गठनमा मुस्किलले ११ प्रतिशतमात्र प्रतिनिधित्व देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell