
काठमाडौं : संस्कृतमा एउटा भनाइ छ : यद् भावो- तत् भवति। अर्थात् तपाईं जे विश्वास गर्नुहुन्छ, त्यस्तै बन्नु हुनेछ। यो सन्दर्भलाई नेपाली फुटबल टोलीकी सर्वाधिक गोलकर्तासमेत रहेकी स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' लाई पनि बिझेको छ।
पेरिस ओलम्पिक छनोट अन्तर्गत बुधवार नेपालले भियतनामसँग खेल्यो। विश्वकपमा छनोट भएको भियतनामले नेपाललाई ५-१ गोलअन्तरले हराउँदा नेपालको तर्फबाट गोल फर्काउने उनै साम्बा नै थिइन्।
पहिलो हाफमा भियतनामले 'डोमिनेट' गरे पनि दोस्रो हाफमा भने 'उन्नाइस बीस'कै खेल भएको थियो। त्यसो भए विश्वकप खेल्ने भियतनाम र साफ च्याम्पियनसीप खेल्ने नेपालबीच ग्याप के थियो? साम्बाले निकालेको निष्कर्ष हो : सोच।
'उनीहरुको भिजन विश्वकप छ, हाम्रो साफ,' साम्बा भन्छिन्, 'अहिले हाम्रो सोच नै दक्षिण एसियाबाट बाहिर जान सकेको छैन।' पहिलेदेखि नै नेपाली फूटबल टोलीको सोच साफभन्दा बाहिर जान नसेको उनको भनाई छ। 'अहिलेको सन्दर्भमा महिला फुटबल साफ रिजनभन्दा बाहिर जाने त योजना नै छैन। पहिलेको पुस्तामा पनि यही थियो। मेरोमा पनि यही छ। र, हामी पछिको पुस्तामा पनि यही होला।'
उनको भनाईलाई पुष्टि गर्छ नेपाली महिला फुटबल टोलीकी पहिलो कप्तान रमा सिंह भनाईले। 'फिफाले महिला टिम अनिवार्य गरेको हुँदा नेपालको महिला टिम बनेको हो,' लामो समय अमेरिका बसेर काठमाडौं फर्केकी उनले भनेकी छिन्, 'नेपाली टोलीमा अझै पनि धेरै परिवर्तन हुन सकेको छैन। सेवासुविधाको स्तर उस्तै देख्छु।'
उसो त लिगका हिसाबले होस् या अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको - साम्बाले भनेजस्तै नेपाली महिला फुटबल दक्षिण एसियाली क्षेत्रबाट माथि उठ्न सकेको छैन। साफ च्याम्पियनमा सदाबहार उपविजेताको छबि तोड्न पनि सकेको छैन नेपालले। अझ लिगमा १४ खेल खेल्नुपर्ने नियम लत्याउँदै ७ खेल खेलाएरै अभिभावक निकाय एन्फाले विजेता घोषित गरेको थियो। यस्तोमा स्वभाविक छ : 'गार्बेज-इन-गार्बेज-आउट' अर्थात जति गर्यो, त्यही भयो।
'यतिको मिहिनेत, यतिको लगानी र यतिको ट्रेनिङ सेसन र प्राथमिकताले यो राम्रो नतिजाजस्तो लाग्छ,' साम्बा भन्छिन्, 'जति पनि टिममेटले खेलिरहनु भएको छ। मेरो ब्याचमा आएकाले साउथ रिजनभन्दा माथि उठेर हेरेका छैनौँ। माथिल्लो भिजन भयो भने पो साफ पनि जितिन्छ। साफकै मात्र भिजन हुँदा त्योभन्दा माथिको त सोच्नै सकिँदैन।'
साम्बाले उठाएको मुद्दा महिला टोलीका प्रशिक्षक अनन्त थापाले हरेकजसो प्रेसमिटमा भन्दै आएकै कुरा हो : ठूला टोलीसँग खेल्न पाए पो कमजोरी पत्ता लगाएर सुधार्न सकिन्छ।
बुधवार भियतनामसँग खेल्दा नेपाली टोलीले आफ्नो के के कमजोरी पत्ता लगाए त? नेपाली टोलीका प्रशिक्षक थापाको विश्लेषण छ : अवसरहरु सिर्जना गरेर पनि सदुपयोग गर्न नसक्दा ठूलो हार ब्यहोर्नु पर्यो। फिफा वरीयतामा ६७ स्थानअघि रहेको टोलीसँग नेपालको अपेक्षा चाहिँ के थियो त? थापाको जवाफ छ : बराबरी।
खासगरी जर्सी १० को भूमिका ट्रेनिङमा उत्रिएजस्तो देखिएन। 'पहिलो गोल खाएपछि टिम संगठित हुन कठिन भयो। हाम्रो ट्रेनिङअनुसार १० नम्बर चल्न नसक्दा टिम नै कोल्याप्स हुने अवस्था आयो,' साम्बाले भनिन्। जर्सी १० मा देखिएकी रश्मीकुमारी घिसिङको कम्बिनेसन साम्बासँग नजम्दा नेपाल फितलो देखियो। उनको स्थानमा ५४ औँ मिनेटमा विमला चौधरी मैदान प्रवेश गरेपछि नेपालले भियतनाममाथि दबाव बढाउँदै गोलसमेत फर्काउन सफल भएको थियो।
थप कमजोरी प्रशिक्षक थापाले डायरीमा टिपेकै होलान्। तर भियतनामका प्रशिक्षकले नेपाली टोलीमा देखेको मुख्य कमजोरी हो – गोलमा एक्लो साम्बामाथि निर्भर हुनु।
प्रशिक्षक थापाले सुरुवाती ९ औँ मिनेटमा पाएको सुन्दर गोलको अवसरमा चुक्दा मोमेन्टम बिग्रिएको बताएका थिए। सायद पाएका दुई सुन्दर अवसर सदुपयोग गर्न सकेको भए नतिजा अर्कै हुने थियो।
२७ सयभन्दा बढी दर्शक उपस्थित खेलमा पहिलो हाफमा भियतनाम पुरै हावी भएको थियो भने दोस्रो हाफमा भने नेपालले लय बनाउँदै भियतनामलाई हम्मेहम्मे पारेको थियो।
साम्बा फिलिपिन्ससँगको खेल सम्झन्छिन्। उनी त्यतिबेला घाइते भएर कतारमा उपचाररत थिइन्। २०७८ को असोजमा एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो। उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा नेपालले अग्रता जोगाउन नसक्दा फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो। खेलको १० औँ मिनेटमै विमला चौधरीको गोलमा नेपालले अग्रता बनाए पनि खेलको निर्धारित समय १ मिनेट बाँकी छँदा तहनाइ एन्निसले गोल गर्दै खेल १-१ गोल बराबरीमा ल्याएकी थिइन्। त्यस्तै इन्ज्यरी समयमा विल्सन केमिलीले गोल गर्दै फिलिपिन्सलाई २-१ को जित दिलाएकी थिइन्।
फिलिपिन्स अहिले कहाँ छ?
यही वर्ष हुने फिफा महिला विश्वकपको समूह 'ए' मा न्युजिल्यान्ड, नर्वे र स्वीजरल्यान्डसँग छ।
साफमा फेरि उपविजेता बनेर अर्को पटक विजेता बनुम्ला भनेर सुतेर बसेको छ नेपाल। त्यो पनि बल्लबल्ल आयोजना भएको लिग बीचमै टुंग्याएर। २०७८ सालको महिला लिग आधा भएर ११ महिना अन्योलमा रोकियो। पहिलो चरणको खेल चितवनमा र दोस्रो चरणका खेल विराटनगरमा गर्ने योजना थियो। तर, पहिलो लिगपछि एन्फामा पनि नेतृत्व परिवर्तन भयो विराटनगर महानगरमा पनि। यसको पेलानमा पर्यो नेपाली महिला फुटबल। यस्तो अवस्थामा एन्फाको कार्यसमितिको बैठकले तालिकाको शीर्षस्थानमा रहेको एपीएफलाई च्याम्पियन घोषित गर्ने निर्णय गरेको थियो।
'फिलिपिन्ससँग खेलमा नेपालले १-० को गोलको लिड हुँदाहुँदै इन्ज्युरी समयमा गोल खाँदा हार ब्यहोर्यौँ तर फिलिपिन्स विश्वकप खेल्यो हामी यो अवस्थामा छौँ,' साम्बाको यो भनाईले पनि पुष्टि गर्छ नेपाली टोलीको सच्चाई।
नेपालले विश्वकप खेल्ने टोलीसँग खेलेको यो पहिलोपटक होइन। उज्वेकिस्तान, म्यानमार, भियतनामलगायतका एसियाका शीर्ष टीमविरुद्ध खेल्दा साम्बाले देखेको मुख्य कमजोरी हो : सोच।
'साउथ रिजन भन्दामाथि पनि सोच्नुपर्छ। धेरै फेसिलिटी पनि चाहिएको होइन ठूला टिमसँग खेल्न पाउने हो भने हामीले साउथ रिजनमा डोमिनेट गर्न सक्छौँ,' उनी भन्छिन्, 'तर, यही पाराले त भोलिको दिनमा केही हुँदैन।'
ती देशले कसरी भिजन बनाइरहेका छन्? हामीलाई कसरी हेर्छन्?
'दक्षिण एसियाका देश भन्नसाथ उनीहरुले डोमिनेट गरेर खेल्छ। किनभने उनीहरुको भिजन नै अलग छ। उनीहरुको भिजन विश्वकप छ,' उनी भन्छिन्, 'ओभरअल तीनवटै टिमसँग खेल्दा उनीहरुको विश्वकप मुख्य लक्ष्य छ। साउथ रिजनमा नम्बर वान भए विश्वकप खेलिन्छ। दोस्रो हाफमा भियतनामलाई डोमिनेट गर्यौँ। उनीहरु खेल्छन् भने हामी किन खेल्दैनौँ?'
साम्बाको प्रश्न महिला फुटबललाई मात्र नभएर नेपाली फुटबलमै लागू हुन्छ। यही महिना नेपाली फुटबल टोलीले 'थ्री नेसन्स् कप'को उपाधि जित्न सफल भयो। तर, प्रतिस्पर्धी को थिए? अघिल्लो वर्ष ४५ खेलाडीमाथि प्रतिबन्ध ब्यहोरेको लाओस र तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको भुटान। भलै दुबै टोलीले सशक्त प्रदर्शन गरे। खेलाडी पलायनले थलिएको नेपाल च्याम्पियन त बन्यो तर यसले कति खुसी ल्यायो। यसअघिको थ्री नेसन्स् कपमा बंगलादेश र कीर्गिस्तानको ओलम्पिक टोलीसँग खेलेर च्याम्पियन बन्दा र अहिलेको थ्री नेसन्स्मा भुटान र लाओससँग खेलेर च्याम्पियन बन्दा खेलको स्तर के फरक छ? यो दर्शकले देखिरहेका छन्, भनिरहेका छन् र तथ्यांक बोलिरहेको छ।
त्यसैले नेपाली फुटबलले बुझ्न आवश्यक सत्य हो : यद् भावो- तत् भवति।