काठमाडौं : उडिरहेको बुद्ध एयरको जहाजमा झगडा गर्ने दुई यात्रुलाई पक्राउ गरि अनुसन्धान सुरु भएको छ। महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरीलाई यात्रु दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठलाई त्रिभुवन विमानस्थल कार्यालयले प्रहरीको जिम्मा लगाएपछि अनुसन्धान सुरु भएको हो।
जहाज उडानको समयमा भनाभनसँगै हातपात भएको जानकारी विमान चालकबाट आएपछि कारबाही अगाडि बढाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
‘यात्रुलाई पक्राउ गरेर गौशाला वृत्तमा जिम्मा लगाइसकिएको छ। आपसी मनमुटावमा दुई यात्रुबिच हात हालाहाल भएको जानकारी आएको छ,’ भुलले भने, ’उडान नभएको अवस्थामा यस्तो घटना भएको भए उही बेलामा जहाजबाट निकालेर कारबाही गरिन्थ्यो। प्रहरीको छानबिनका आधारमा कारबाही गरिनेछ।’
प्राधिकरणले विराटनगर-काठमाडौं उडानका क्रममा झगडा गरेर उडान सुरक्षामै प्रभाव पारेको भन्दै ती यात्रुलाई गैरसैनिक हवाई ऐन २०१५ र नागरिक उड्डयन सुरक्षा नियमावली अन्तर्गतको कारबाही गर्ने तयारी गरेको उनले बताए। यदि दोषी देखिए कैद, जरिबानासँगै केही समयका लागि जहाज उडानमै प्रतिबन्ध लगाइने व्यवस्था रहेको उनले जानकारी दिए।
यस्ता गतिविधिले पाइलटको मनस्थिति नै बिग्रनुका साथै हवाई दुर्घटनाको जोखिम बढ्ने भएकाले कानुनी कारबाही आवश्यक रहेको उनले बताए।
बुधवार ४:३० बजे विराटनगर-काठमाडौं उडान गरेको बुद्ध एयरको फ्लाइट नम्बर ७१० मा एक्कासीसँगै बसेका दुई यात्रुबिच झगडा भएको थियो।