PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बारा २ मा रमेश खरेलको खातामा १५० मत, घन्टी रोजेका उनको कस्तो छ जनाधार?



राधेश्याम पटेल

बारा २ मा रमेश खरेलको खातामा १५० मत, घन्टी रोजेका उनको कस्तो छ जनाधार?

वीरगंज : बारा क्षेत्र नं २ मा गत संसदीय चुनावमा पराजित भएकाहरूबीच दोस्रो भिडन्त हुँदैछ। वैशाख १० गते हुने उपनिर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग १९ हजार ७१ मतान्तरले पराजित जसपाका अध्यक्ष उपेन्द्र यादवको चर्चा सबैभन्दा बढी छ यतिबेला।

एनीहाउ, संसद छिर्ने दाउका साथ यादवले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा पठाएका थिए। त्यसैले पनि विवादमा तान्दा यादव चर्चामा छाएका हुन्।

यता मंसिर ४ को चुनावमा रामसहायसँग ३५४ मतान्तरले पराजित भएका शिवचन्द्र कुशवाहाको पनि उत्तिकै चर्चा छ। माओवादीबाट चुनाव लडेर दोस्रो बनेका कुशवाहा अहिले टिकटकै लागि जनमत पार्टी पसेका हुन्। माओवादी सत्तारूढ गठबन्धनमा रहेको र गठबन्धनबाट जसपालाई सघाउने टुङ्गो लाग्ने सङ्केत देखेपछि कुशवाहा जनमतमा पसेका हुन्।

यही क्षेत्रबाट गत चुनावमा स्वतन्त्र उम्मेदवार भएर सात हजार ६९८ मत ल्याएका कानून व्यवसायी अरुण ज्ञवाली भर्खरै दर्ता भएको प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार बनेका छन् भने काठमाडौं - १ बाट गत चुनावमा तीन हजार १२४ मत ल्याएर पाँचौं भएका नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन्।

पर्सा जिल्लामा प्रहरी उपरीक्षक हुँदा नाम कमाएको र सोही बलमा छिमेकी बारा जिल्ला पनि उनको नामबाट प्रभावित भएकोले खरेलले उम्मेदवारी दिएका हुन्। यसअघि उनी नेतृत्वको नेपाल सुशासन पार्टीबाट यो क्षेत्रमा चुनाव लडेका उमेशप्रसाद जयसवालले १५० मतमात्र ल्याएका थिए। नेकपा एमालेबाट २०५१ सालमा बारा क्षेत्र नं ४ र २०७० सालमा बारा क्षेत्र नं ६ बाट सांसदमा जितेका पुरुषोत्तम पौडेल २०७४ र २०७९ को संसदीय चुनावमा टिकट पाएनन्। उनलाई एमालेले बारा क्षेत्र नं २ बाट उपचुनावमा उतारेको छ। बाराकै भएका र यसअघि पटकपटक चुनाव जितेका पौडेलको चर्चा कम छैन। गत चुनावमा यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार राजकिशोर यादवले ११ हजार ४३ मत र अर्का स्वतन्त्र उम्मेदवार रवीन्द्रप्रसाद यादवले १० हजार सात सय मत ल्याएका थिए। यो उपचुनावमा उनीहरूको उम्मेदवारी परेको छैन।

गत चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट तेजबहादुर भक्तले एक हजार ११० मत पाएका थिए भने अहिले यो पार्टीबाट कमरुल्लाह अन्सारी चुनावी मैदानमा छन्। राप्रपा नेपालका रवीन्द्र जयसवालले गत चुनावमा ४५ मत पाएका थिए भने यसपटक मनिफ मियाँ अन्सारी चुनावी मैदानमा छन्। यसैगरी, राप्रपा नेपालका सोनालाल साहले गत चुनावमा ४५९ मत मात्र पाएका थिए। हाम्रो नेपाल पार्टी, नेमकिपा र स्वतन्त्र उम्मेदवारहरू दुई अंकमा सीमित भए। बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनमा पाँचजना महिलाहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उमाकुमारी कुशवाहा, गिरिजाकुमारी, राधिका न्यौपाने साह कलवार, रीता देवी र सिङ्गारी देवी स्वतन्त्र उम्मेदवार छन्। उनीहरूको नाम दर्ताबाहेक चुनावी चर्चामा छैन भने पनि हुन्छ। यो क्षेत्रमा एक लाख पाँच हजार २४८ जना मतदाता छन्, जसमा ३६ हजार ३१४ महिला र ५८ हजार ९१४ जना पुरुष मतदाता छन्। आठवटा मतदानस्थल र १३७ वटा मतदान केन्द्र छन्।

उपनिर्वाचनको चर्चा शुरू भएदेखि उम्मेदवारी दर्तासम्म यो क्षेत्रबाट त्रिपक्षीय भिडन्तको आँकलन गरिएको छ। मुख्यरूपमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा र एमालेका पुरुषोत्तम पौडेलबीच चुनावी प्रतिस्पर्धा हुने अहिलेसम्म आँकलन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell