सांघाई: बेइजिङ र युरोपेली राष्ट्रबीचको सम्बन्धमा सुधारको संकेत देखा परेको छ। बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुयल माक्रोन र चिनियाँ राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता भएको छ। त्यस्तै बिहीबारनै चीन-फ्रान्स र युरोपियन युनियनबीच त्रिपक्षीय भेटवार्ता पनि बेइजिङमा सम्पन्न भएको छ।
यतिवेला बेइजिङले युरोपेली नेताहरुलाई आथित्यता दिइरहेको छ। युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयेन पनि बेइजिङमा छन्। यही क्रममा बेइजिङमा चीनका राष्ट्रपति सी चिनफिङले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपेली आयोगका अध्यक्षसँग बिहीबार बेइजिङमा त्रिपक्षीय भेटवार्ता गरेका हुन्।
राष्ट्रपति सीले म्याक्रों र भोन डेर लेयेनको चीन भ्रमणले चीनसँग सम्बन्ध विस्तार गर्न र चीन र युरोपेली सङ्घको साझा हितलाई अगाडि बढाउन युरोपेली सङ्घ (इयू) को सकारात्मक संकेत देखाएको हो।
लामो युक्रेन संकट, अस्थिर वैश्विक पुनरुत्थान, अस्थिर वित्तीय बजार र विकासशील देशहरूले सामना गरिरहेका बढ्दो कठिनाइहरूले घेरिएको जटिल र अस्थिर विश्वमा चीन इयू सम्बन्धले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। 'विश्व शान्ति र स्थिरता कायम गर्न, साझा विकास र समृद्धिलाई बढावा दिन, मानव प्रगतिलाई बढावा दिन र विश्वव्यापी चुनौतीहरूलाई एकसाथ सम्बोधन गर्न आवश्यक छ,' सीले त्रिपक्षीय भेटवार्ताका क्रममा भनेको सिन्ह्वाले जनाएको छ।
यस वर्ष चीन इयू व्यापक रणनीतिक साझेदारीको २०औँ वर्षगाँठ मनाइने उल्लेख गर्दै सीले चीन इयू सम्बन्धका लागि सही दिशा र मार्ग कोर्न, सबै तहमा आदानप्रदानलाई पूर्ण रूपमा पुनः सुरु गर्न चीन तयार रहेको बताएका छन्।
फ्रान्सका राष्ट्रपति माक्रोन तीन दिने भ्रमणका लागि बुधबार बेइजिङ आइपुगेका हुन्। यी भ्रमणले युक्रेन संकटका लागि साझा आधार खोज्ने अपेक्षा राखिएको छ। पछिल्लो समय युक्रेन संकट गहिरिँदै गर्दा अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धन युक्रेनलाई हतियार सहयोग र रुसमाथि प्रतिवन्ध लगाइरहेको छ। अर्कोतर्फ चीनले संकटको समाधान शान्तिपूर्ण समाधानबाट हुनुपर्ने बताइरहेको छ।
फ्रान्सले युक्रेन संकट समाधानका लागि चीनको महत्त्वपूर्ण भूमिका हुन सक्ने बताइरहेको छ। साथै युरोपियन युनियनले समेत चीनलाई सकरात्मक भूमिका खेल्न आग्रह गरिरहेको छ। बेइजिङमा भएका यरोपेली नेताको यी भ्रमणले युक्रेन संकट समाधानमात्र नभई चीन-इयू सम्बन्धमा समेत सकरात्मक अर्थ राख्नेछ।
फ्रान्सेली राष्ट्रपति माक्रोनले बेइजिङको भ्रमण अगाडि अमेरिकी राष्ट्रपति जो बाइडेनसँगसमेत भेट वार्ता गरेका थिए। अहिले विश्वका शक्ति राष्ट्र मध्ये चीन अहिलेसम्म कुनै पनि पक्षमा खुलेर लागेको छैन। त्यसैले पनि चीनले सबै पक्षसँग खुलेर संवाद गर्न सक्ने अपेक्षा फ्रान्सले गरेको छ।
दुई युरोपेली अधिकारीको एकैपटकको बेइजिङको दुर्लभ भ्रमणले यसैलाई ब्याख्या गर्न खोजेको छ। युरोपेली कमिसनको अध्यक्ष भान डेओर जर्मन नागरिक हुन्। यद्यपी उनलाई युरोपियन कमिसनको अध्यक्षका लागि फ्रान्सका राष्ट्रपति माक्रोनले प्रस्ताव गरेका थिए। जर्मन संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएकी थिइन्।
युक्रेन संकटलाई लिएर भोन डेर लेयेनले चीनमाथि कडा प्रहार गरेको र युरोपेली नेताहरूले व्यापार र भूराजनीतिबीच सन्तुलन कायम गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठेको भन्दै कतिपयले म्याक्रोन र भोन डेर लेयेनले चीन भ्रमण चीनको यस्तै भूमिकाको अपेक्षा गरेको बताइएको छ।
यसअघि बेइजिङले सीपीसीको २० औं महाधिवेशन लगत्तै जर्मन चान्सलरलाईसमेत स्वागत गरिसकेको छ।
त्यस्तै चीनको सर्वोच्च प्रतिनिधि संस्था जनकंग्रेसको वार्षिक सत्र पछि बेइजिङले यी दुई युरोपेली अधिकारीलाई स्वागत गरेको हो। चीनको 'दुई सत्र (एनपीसी र सीपीपीसीसीको वार्षिक सत्र)' पछि म्याक्रों बेइजिङ भ्रमण गर्ने पहिलो युरोपेली राष्ट्रप्रमुख हुन्
राष्ट्रपति सि र माक्रोनबीचको भेटवार्ताका क्रममा दुई राष्ट्रपतिहरुबीच साझा सहमति भएको सिन्ह्वाले जनाएको छ। समाचारमा राष्ट्रपति सिलाई उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई स्थिर राख्न दुबै पक्षले राष्ट्रप्रमुख स्तरमा सम्बन्धलाई घनिस्ट पार्न सहमत भएको बताइएको छ।
त्यस्तै दोस्रो, पारस्परिक लाभ र साझा विकासको खोजी गर्ने गर्न दुई राष्ट्रपतिले संयुक्त रूपमा महत्वपूर्ण सहयोग सम्झौताहरूको शृङ्खलामा हस्ताक्षर गरेका छन्।
भेटवार्तका क्रममा दुबै देशले उड्डयन, एयरोस्पेस र नागरिक आणविक ऊर्जा जस्ता परम्परागत क्षेत्रमा सहयोगलाई प्रगाढ बनाउने लगायतका विषयमा सहमति पत्रमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति सीले म्याक्रोनलाई फ्रान्सको कृषि उत्पादन आयातका लागि चीन तयार रहेको बताएका छन्। उनले फ्रान्ससँग "फ्रेन्च फार्म टु चाइनिज डाइनिङ टेबल"का लागि साझेदार गर्न तयार हरको बताएका थिए।
चीनको निमन्त्रणामा फ्रान्सले सन् २०२४ मा आयोजना हुने चाइना इन्टरनेसनल फेयर फर ट्रेड इन सर्भिसेज (सीआईएफटीआइएस) र सातौं चाइना इन्टरनेसनल इम्पोर्ट एक्स्पो (सीआईआईई) मा विशिष्ट अतिथिको भूमिका निर्वाह गर्नेछ।
त्यस्तै अर्को वर्ष चीन–फ्रान्स कूटनीतिक सम्बन्धको ६०औँ वर्षगाँठ र चीन–फ्रान्स संस्कृति तथा पर्यटन वर्षको रुपमा मनाउन दुबै देश सहमत भएका छन्। दुई नेताबीच चीन र फ्रान्सले बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रलाई समर्थन गर्न जारी राख्ने र शीतयुद्धको मानसिकता तथा ध्रुबिय टकरावको विरोध गर्ने विषयमासमेत सहमति जनाएका छन्।
चीनले सन् २०२५ मा संयुक्त राष्ट्रसंघीय महासागर सम्मेलन को सफल आयोजना गर्न फ्रान्सलाई समर्थन गर्ने र अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरममा फ्रान्सको सहभागितालाई बेइजिङले स्वागत गर्ने भएको छ। यता त्रिपक्षीय भेटवार्ताका क्रममा इयोपियन कमिसनका अध्यक्ष भोन डेर लेयेनले इयूले चीनको इतिहास र संस्कृतिलाई सम्मान गर्ने प्रतिवद्धता जनाउँदै चीनसँगको खुला र रचनात्मक संवाद र युरोपेली संघ–चीन सम्बन्धको निरन्तर विकास युरोपमा शान्ति र स्थिरताका लागि महत्वपूर्ण रहेको बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
इयू र चीन एक अर्काका महत्वपूर्ण व्यापारिक साझेदार भएको भन्दै चीनबाट अलग्गिनु न त ईयूको हितमा नभएको र ईयूको रणनीतिक छनौटमा पनि नरहेको बताएकी थिइन्। ईयूले आफ्नो चीन नीति स्वतन्त्र रूपमा निर्धारण गर्ने बताइन्।
फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अनिश्चितताले भरिएको विश्वमा ईयू र चीनले पारस्परिक सम्मान, खुलापन र विनम्रताका साथ संवाद र आदानप्रदान बढाउन आवश्यक रहेको बताएका थिए। दुवै पक्षले आर्थिक विखण्डन र आपूर्ति शृङ्खलालाई विच्छेद गर्ने पासोबाट टाढा रहन, समान स्तरमा पारस्परिक लाभकारी सहयोग गर्न, जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको सामना गर्न र ईयू-चीन व्यापक रणनीतिक साझेदारीलाई अझ प्रगाढ बनाउन एकअर्कासँग मिलेर काम गर्नुपर्छ।
भेटमा तीनै नेताबीच युक्रेन संकटबारे विचार आदानप्रदान भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। युरोपेली नेताहरुले युक्रेन मामिलामा युरोपेली धारणा राखेको भन्दै विदेश मन्त्रालयले वक्तव्य मार्फत भनेको छ, 'राजनीतिक समाधानलाई बढावा दिन चीनको प्रयासको सराहना गर्नुभयो र चीनले अझ महत्त्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो। उहाहरुले चीनसँग शान्तिका लागि वार्ताको मार्ग खोज्न आफूहरु तयार रहेको पनि बताउनु भएको छ।'
सो क्रममा राष्ट्रपति सिले युक्रेनबारे चीनको अडान शान्तिका लागि वार्तालाई समर्थन गर्नेमा केन्द्रित रहेको बताएका थिए। 'चीनले दुवै पक्षलाई शान्त र तर्कसंगत हुन र संयुक्त रूपमा शान्ति वार्ताका लागि वातावरण सिर्जना गर्न आह्वान गरेको छ। यसको प्रमुख प्राथमिकता युद्धविराम गर्नु र स्थितिलाई थप भड्काउने वा जटिल बनाउने कार्यहरूको विरोध गर्नु हो,' सिको भनाई उदृत गर्दै विदेश मन्त्रालयले भनेको छ, 'युक्रेनको संकट चीन र ईयू बीचको मुद्दा होइन। शान्ति वार्ताका लागि चीनले सकारात्मक भूमिका निर्वाह गर्दै जानेछ। चीनले युक्रेन संकटको राजनीतिक समाधानका लागि दृष्टिकोण र योजनाहरू प्रस्ताव गर्न र सन्तुलित, प्रभावकारी र दिगो युरोपेली सुरक्षा ढाँचा निर्माण गर्न ईयूको प्रयासलाई समर्थन गर्दछ, जसले ईयूको आधारभूत र दीर्घकालीन हितलाई पूरा गर्दछ।'
त्यस्तै सिले युक्रेन संकट समाधानका लागि फ्रान्ससँग मिलेर काम गर्न चीन तयार रहेकोसमेत बताएका छन्। 'राष्ट्रपति सीले युक्रेन संकटसमाधानका लागि शान्ति वार्ता र राजनीतिक समाधानका लागि सहजीकरण गर्न चीन प्रतिबद्ध रहेको दोहोर्याउनु भयो। चीन अन्तर्राष्ट्रिय समुदायका लागि फ्रान्ससँग संयुक्त आह्वान जारी गर्न तयार छ,' चिनियाँ विदेश मन्त्रालयले भनेको छ।
पछिल्लो समय युक्रेन संकट बढ्दै जाँदा पश्चिमा राष्ट्रहरु चीनको भूमिकालाई लिएर रुसी सहयोगी भएको आरोप लगाउँदै आएका छन्। अमेरिकाले युक्रेन मामिलामा चीनले अमेरिकालाई सहयोग पुर्याउँदै आएको आरोप लगाउँदै आएको छ। अर्कोतर्फ चीन अमेरिका व्यापार युद्ध चर्किँदै छ। अमेरिकी नेतृत्वको पश्चिमा राष्ट्रको गठबन्धनले चिनियाँ चिप्स माथि प्रतिबन्ध लगाएका छन्।
यस्तो अवस्थामा युरोपेली युनियन भित्रको शक्ति राष्ट्र फ्रान्सका प्रमुख र युरोपियन कमिसनका अध्यक्षले बेइजिङ भ्रमण गर्नुलाई चीन-इयु सम्बन्धमा सकरात्मक संकेतकरु रुपमा लिन सकिन्छ।