PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

आज हाँडीगाउँको पोखरीमा गहना खोज्ने जात्रा, यस्तो छ यो पर्वबारे कथन



पहिलोपोस्ट

आज हाँडीगाउँको पोखरीमा गहना खोज्ने जात्रा, यस्तो छ यो पर्वबारे कथन
फाइल फोटो

काठमाडौं : वसन्त ऋतुको आगमनसँगै उपत्यका जात्रामय भएको छ। तीनै शहरको केन्द्रदेखि गाउँगाउँसम्म विभिन्न जात्राहरु भइरहेका छन्। भिन्न स्थान, भिन्न परिवेश तर सबैलाई जोडिरहेको छ यी पर्वहरुले।

यसैबिच आज काठामाडौंको नर: (हाँडीगाउँ)मा तिसा: मालिगु जात्रा ( गहना खोज्ने जात्रा) हुँदैछ।

लिच्छवीकालदेखि सुरु भएको भनिएको सो जात्रा अरु स्थानमा भन्दा भिन्न छ। यहाँ त्वरं: अजिमा (वैष्णवी टुंडाल देवी)को मूर्तिलाई खटमा राखेर तिसा: मालिगु पुखु (गहना पोखरी) भित्र डुबाएर परिक्रमा गराइन्छ।

ल्हुति पुन्ही (बाइसधारा मेला)का दिन टुंडालदेवीको जात्रा सुरु हुन्छ। त्यसदिन मपता अजिमा (भाटभटेनी)को मूर्तिलाई पनि टुंडालदेवी ल्याउने गरिन्छ। त्यसको भोलिपल्ट प्रतिपदाका दिन गहना पोखरीमा गहना खोज्ने जात्रा हुन्छ। 

प्रख्यात कथा अनुसार आमा टुंडालदेवीलाई भेट्न जाँदा छोरी भाटभटेनीले आफ्नी आमाको एक पोडेसँग अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन्। त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहनाहरु उक्त पोखरीमा हराएको र सोही गहना खोज्ने परम्परा अनतर्गत यो जात्रा हालसम्म जीवन्त रहँदै आएको छ।

यद्यपि, हाँडीगाउँको गहना खोज्ने यसजात्रा सम्बन्धी माथि उल्लेखित कथन नयाँ रहेको बताउँछन् स्थानीय बताउँछन्।

हाँडीगाउँ तत्कालिन काठमाडौंको राजधानी थियो। मानदेवको समयमा विशालनगरका रुपमा स्थापित हालको हाँडीगाउँ काठमाडौंकै गहना थियो। तर, समय र बदलिँदो परिस्थितिले हाँडीगाउँको नाम जस्तै संस्कार र जात्राहरु पनि परिवर्तन भए।

द्वापर युगको अन्त्य र कलियुगको सुरुवाती समय हाँडीगाउँमा रहेको कैशालकूट भवनमा तोला महारानी भन्ने रानी थिइन्। निकै दयालु र धर्मात्मा रानीको महल गरगहनाले भरीभराउ थिए। तोला महारानी आफ्नो करुणका कारण उक्त पोखरीमा पातमा बसेर स्नान गर्न समक्ष रहेको सुनाउँछन्।तर, केहीसमयपछि उनमा सम्पतिको लोभ जाग्यो। सामान्य मानिसले गहना लगाएर हिँडदा उनको मनमा गहना लगाउने सोच पलायो। गहना लगाउनका लागि उनले जनतामाथि कर लगाउने निर्णय गरिन्। शालिन तोला महारानीको शान लोभले खुम्चियो। पातमा बसेर स्नान गर्ने उनी पातबाट लड्बडाउँदै खसिन्।

त्यसपछि उनमा चेत खुल्यो। जनतामाथि आफूले कर लगाएर अन्याय गरिरहेको उनले बुझिन् र पश्चाताप स्वरुप दरबार क्षेत्रमा रहेको पोखरीमा जनताका लागि गहना खोज्ने जात्रा संचालन गरेको स्थानीयको कथन छ।

गहना खोज्ने जात्रामा टुंडालदेवी र भाटभटेनीको कथा नयाँ जस्तै हाँडीगाउँको नाम र कथा पनि समयसँगै परिवर्तित हुँदै गएको बताइन्छ। यस ठाउँको ऐतिहासिक नाम नर: हो। विशालनगर, हरिपुर, हण्डीग्राम, अन्दीग्राम, नर: हुँदै हाल हाँडीगाउँ भएको स्थानीय बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell