PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

‘हनी ट्रयापिङ’ भन्दा डरलाग्दो बन्दै 'सेक्सटोर्सन', टार्गेटमा पूर्व मन्त्रीदेखि व्यापारीसम्म



सविन ढकाल

‘हनी ट्रयापिङ’ भन्दा डरलाग्दो बन्दै 'सेक्सटोर्सन', टार्गेटमा पूर्व मन्त्रीदेखि व्यापारीसम्म
Illustration credit : South China Morning Post

काठमाडौं : पूर्व मन्त्री एवम् जनमत पार्टीका नेता अब्दुल खान यतिखेर चर्चामा छन्। चर्चामा हुनुको कारण हो - भाइरल भइरहेको अश्लील भिडियो। एक युवतीसँग अश्लील हर्कत गरेको भिडियो बाहिरिएपछि उनीमाथि विभिन्न टीकाटिप्पणी हुने नै भयो।

नेता खानले भने भिडियो गलत तरिकाले बाहिर आएको बताएका छन्। भिडियो 'म्यानुपुलेटेड' भएको उनको दाबी छ। खानले आफू ‘हनी ट्रयापिङ’मा परेको बताएका छन्। बिहीवार नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर उनले उजुरी दर्ता पनि गराएका छन्।

प्रहरीले यस प्रकरणलाई लिएर अनुसन्धान थालिसकेको छ। के उनी साँच्चै ‘हनी ट्रयापिङ’मा परेका हुन्? वा निजी भिडियो बाहिरियो? अनुसन्धानले खुलाउने नै छ। यतिखेर खानले 'फेस सेभिङ'को सक्दो प्रयास गरिरहेका छन्। यद्यपि, भिडियोको प्रारम्भिक अनुसन्धानमा उनी हनी ट्रयापिङमा परेको देखिँदैन। संकेतहरुले इसारा गरेका छन् - कुनै गिरोहले 'सेक्सटोर्सन' गरेको हुनसक्छ उनलाई।

भाइरल भिडियोमा खान र एक युवतीसँग लामै कुराकानी भएको देखिन्छ। केही समयपछि युवतीसँग खानका अश्लिल हर्कत देखिन्छ। प्रारम्भिक अनुसन्धानले देखाएको छ - भिडियो युवतीले रेकर्ड गरिरहेकी छिन्। खानको पृष्ठभूमिबारे ती युवती जानकार देखिनछिन्।

खानको दाबी अनुसार ठूलो रकम माग्दा नदिएपछि भिडियो सोसल मिडियाका विभिन्न ग्रुपबाट फैलिन थालेको हो। भिडियो सामाजिक सञ्जालसम्मै आएपछि खान प्रहरी कहाँ पुगेका हुन्। गृह मन्त्रालयका एक अधिकृतसहित उनी प्रहरीकहाँ पुगेका थिए।

के हो सेक्सटोर्सन?

सुन्दर युवतीको जालमा पारेर रकमदेखि अन्य कुराको बार्गेनिङ गर्नुलाई नै ‘हनी ट्रयापिङ’का रुपमा प्रहरीले व्याख्या गर्दै आएको छ। ‘हनी ट्रयापिङ’का क्रममा भौतिक रुपमा नै भेटघाट र सम्पर्क हुने गर्छ। ‘सेक्सटोर्सन’ चाहिँ भर्चुअल रुपमा नै हुनसक्छ। यसमा ट्रयापमा पार्नेहरुले सामाजिक सञ्जालको प्रयोगबाट बार्गेनिङ गर्छन्। प्रहरीका अनुसार सामाजिक सञ्जालको प्रयोगबाट ‘सेक्स’लाई माध्यम बनाएर गरिने अपराधलाई नै ‘सेक्सटोर्सन’ हो।

'अनलाइनको माध्यमबाट फोटो तथा भिडियो प्रयोग गरेर रकम माग गर्नुलाई नै सेक्टोर्सन भन्ने गरिन्छ। यसमा नेतादेखि व्यापारी, कलाकार, सुरक्षाकर्मी सबै जना पर्ने गरेका छन्' साइवर ब्युरोका एसपी पशुपति रायले भने।

‘सेक्सटोर्सन’मा सामाजिक सञ्जालबाट जाल थापिन्छ। सुरुमा फेसबुक, ट्विटर, टिकटकजस्ता माध्यमको प्रयोग हुन्छ। जब यस्तो माध्यमा दुईजना जोडिएर कुराकानी तथा सम्पर्क हुन थाल्छ सेक्सटोर्सन गर्ने अपराधी सुरक्षित माध्यमको खोजीमा लाग्छन्।

यस्ता गतिविधि धेरैजसो ह्वाट्स एपमार्फत् भएको देखिन्छ। पूर्वमन्त्री खान पनि ह्वाट्सएपमा नै जोडिएका थिए। त्यसैबाट उनी भिडियो कल गर्थे। भिडियो कलमा युवतीको प्रयोग गरिएको थियो। यही केसमा हेर्दा - कुराकानी बढ्दै गएपछि युवतीले उनलाई आकर्षित गर्न खोजेको देखिन्छ। शरीरबाट कपडा फुकाल्दै ‘टार्गेट’लाई फसाउने रणनीति यसमा प्रयोग हुन्छ। जब त्यसमा मानिस फस्न थाल्छ उसले पनि त्यस्तै हर्कत गर्न थाल्छ।अनि त्यही भिडियो उनीहरुका लागि पासो बन्छ। सो भिडियो बार्गेनिङको ‘टुल’ बन्न पुग्छ।

'जब ह्वाट्सएपमा जोडिएर भिडियो कल भएपछि उनीहरूले झट्ट नग्न भएर प्रभाव पार्दा अस्वीकार गरे पनि भिडियो एडिट गरेर पनि बार्गेनिङ गरेको पाइएको छ,' एसपी रायले भने।

यो अपराधिक क्रियाकलापमा जसले अश्लील भिडियो बनाउन प्रेरित गर्छ त्यो व्यक्ति भने बार्गेनिङमा देखिन्न। बार्गेनिङ गर्दै ‘डिल’ गर्न अरु व्यक्ति नै सक्रिय हुन्छन्। अर्थात् संगठित रुपमा नै सेक्टोर्सनको ‘प्लट’ तयार भएको हुन्छ। जालमा परेको व्यक्तिले आफ्ना नितान्त व्यक्तिगत विषय सेयर गरेको छ भने ‘एक्टोर्सन’ गर्नेका लागि थप सहज हुन्छ। त्यसैलाई लिएर उसले धम्क्याउने गर्छ।

'भिडियो गर्ने एउटा, रकम माग्ने अर्को। रकम हाल्ने फेरि अर्कैको खातामा। विभिन्न व्यक्तिले विभिन्न भूमिका खेलेको देखिन्छ यस्तोमा,' एसपी रायले भने।

सेक्सटोर्सन जोडिएका कतिपय घटनामा प्रहरीले अन्तिमसम्म अनुसन्धान गर्न नसक्ने अवस्था पनि हुन्छ। भर्चुअल रुपमा सामाजिक सञ्जालबाट अपराध हुने हुनाले प्रहरीलाई पनि यो टाउको दुखाईको विषय बनिरहेको छ।

अहिले असङ्ख्य सामाजिक सञ्जाल छन्। तिनको कार्यालयसँगको सम्पर्कमा प्रहरीलाई पुग्न कठिन छ। नयाँ नयाँ प्रविधि र आर्टिफिसिअल इन्टेलिजेन्सको प्रयोग गरेर अपराध गर्नेको कठालो समात्न प्रहरी प्राविधिक रुपमा उनीहरुभन्दा बलियो हुनुपर्छ। तर, नेपाल प्रहरीले त्यसखाले जनशक्ति तयार गर्न सकेको छैन। भर्चुअल अपराध नियन्त्रणका लागि प्राविधिक दक्षता पहिलो शर्त हो। त्यसकै अभावमा अपराधीसम्म पुग्न प्रहरीलाई कठिनाई छ। त्यसैले सामाजिक सञ्जालको प्रयोग गर्दा सावधानी अपनाउन प्रहरीले अनुरोध गर्दै आएको छ।

'हामीकहाँ पीडित आइपुग्दा धेरै रकम डुबाइसक्नु भएको हुन्छ। सामाजिक प्रतिष्ठाको विषय छुटै छ,' एसपी रायले भने।

पछिल्लो समय देशभर साइबर अपराध बढ्दै गएको छ। चालु आर्थिक वर्षको ९ महिनामा ४ हजार ९३७ वटा उजुरी ब्युरोमा आएको छ। जसमा यस्तै प्रकृतिका ‘ब्ल्याकमेलिङ’का घटना ७८९ वटा रहेका छन्। ‘रिभेन्ज पोर्न’ का घटनाको उजुरी पनि ९ सय भन्दाबढी आइसकेको ब्युरोले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell