- अर्चना शर्मा -
केही दिनयता उनी मेरो घरमा आइरहेकी छैनन्। अरुको घरमा काम गरेर जीविकोपार्जन गर्छिन् उनी। एउटा छोरा पनि छन् उनको। श्रीमानकी उनी दोश्री पत्नी। घर सम्हाल्ने जिम्मेवारी आफ्नै भएको मलाई सुनाएकी छिन्। श्रीमानले कमाउँछन् तर घरमा खर्च गर्दैनन्। सबै खर्च उनैले धान्दै आएकी छिन्। त्यसमाथि श्रीमान् उनलाई दिनहुँ जसो पिट्छन्। हप्कीदप्कीका कुरा नगरौं। यतिसम्म कि कसैको फोन आउनु हुन्न। फोन आयो कि शंका र आक्षेप पनि सँगैसँगै आउने। श्रीमानले उनकी बहिनीलाई कुन दृष्टिकोणबाट हेर्छन् भन्ने पनि थाहा छ उनलाई। यति सबै हुँदाहुँदै पनि उनी आफ्ना पतिलाई परमेश्वर ठान्छिन्।
'छोडेर म कहाँ जाउँ?' उल्टै उनी प्रश्न गर्छिन्।
आत्मनिर्भर नभएकी होइनन् उनी। एक्लै बाँच्न पनि कठिन छैन उनका लागि। काम गर्ने आँट र जाँगर दुवै छ। यति हुँदाहुँदै पनि त्रास, लज्जा र घृणा सहेरै सम्बन्धमा जोडिरहने चाहना। उनकै शब्दमा - हक र अधिकार अर्थहीन विषय।
उनकै मुखबाट प्रत्यक्ष रुपमा कुरा सुनिरहँदा म अलमल्ल परेको छु। उनलाई 'रिलेट' नै गर्न सकिरहेको छैन। दिनहुँ नारीवाद र लैंगिक समानताका नारा एकतर्फ। अनि यिनको आशक्तिको कथा अर्कातर्फ! कुनै पनि कोणबाट कसरी होस् 'रिलेट'?
आफैँलाई प्रश्न गर्छु, कुन वर्गका लागि गरिरहेका छौं संघर्ष? हाम्रो धरातलीय समस्या के हो?
दैनिक फरक किसिमका समानताका नयाँनयाँ शब्दले शब्दकोशमा ठाउँ बनाइरहेको छ। तर, यिनलाई ती शब्दावलीमा कतै पनि पाउँदिन। आफ्नो न्यायका लागि यिनी किन अघि सर्दिनन्? म बुझ्न सक्दिन। मेरो पुस्ताले अहिले गरिरहेको अभियानले उनलाई कसरी सम्बोधन गर्छ? के उनका छोराले भोलि बिहे गर्ने नारीले मेरो पुस्ताको अभियानबाट राहत पाउलिन्? उनले नपाएको राहत उनीभन्दा पछिको पुस्तामा सर्ला?
अनौठो लाग्छ। निम्नवर्गका समस्या उठाएर मध्यमवर्ग संघर्षमा जुटिरहेको छ। त्यही संघर्षबाट बनाइएको कानूनको उपयोग चाहिँ उच्च वर्गले केही हदसम्म गरिरहेका होलान्। तर, अरुका हकमा? 'साइकलजिकल डिफ्रेन्सेस' का कारण 'डिभोर्स' गरेर सक्षम हुँदाहुँदै पनि सम्पत्तिको दावी गर्ने सीमित प्रतिशतको जनसंख्या बाहेक कसलाई यसखाले 'वाद'ले फरक पारेको होला?
कथा उनको मात्र होइन। अरुहरु पनि उत्तिकै छन्। हिजो एउटी पीडित नारीको न्यायका लागि माइतीघर पुगेकी मेरी साथी आज उनका दाजुलाई कसैले आरोप लगाउँदा अर्की नारीको चरित्रहत्या गर्दै बसेकी छिन्। हिजो कसैको न्यायका लागि आन्दोलन गरेर न्याय दिलाउन सफल हामी भोलि तिनै पीडितका चरित्रगान गाउन पछि नहट्ने रहेछौं। अहिले सतहमा देखिएको द्वैत चरित्रको सामान्य नमुना हुन् यस्ता विषय। माइतीघर मण्डलमा महिला हक र अधिकारका नारा लगाउन पुग्छिन्, मेरी साथीकी सासु। प्रगतिशील विचारकी उनी घर पुगेपछि 'पर सरेकी' भन्दै कोठाको ढोकामा बुहारीका लागि भातको थाल छाडेर जान्छिन्। बेलुका तिनै साथीका ससुरा आफ्ना छोरा जोइटिङ्रे भएको भन्दै गुनासो गरिरहेको सुन्छिन् मेरी साथी।
यस्ता दृष्य मैले जति देखेको छु नेपाली समाजमा अझ धेरैले देखेभोगेकै विषय हो। त्यसैले मलाई लाग्छ 'ग्रासरूट' समस्या के हो, हामीलाई थाहा नै छैन।
एउटा यथार्थ हो - महिला र पुरुष समान होइनन्। हुन पनि सक्दैनन्। मैले भेटेको श्रम गरेर सहनशील बन्ने विचारधारकी महिलाको परिवेश मेरो पुस्ताको समानताको हक भन्दा धेरै पर अनि व्यवहारिक बन्धनले गाँजिएकी छिन्। उनीसँग जोडिएको छ सामाजिक र भावनात्मक विषयहरु। उनका लागि स्वाभिमानी हुनु भनेको एकलकाटे हुनु हो। तीजका बेलामा सिउँदो खाली हुनु हो। उनको परिभाषामा निडर हुनु त सामाजिक अपहेलना सहनु पो हो त!
उनले भनेकी थिइन्, 'आज उहाँले पिट्नु भयो भनेर छोडेँ भने भोलि अर्काले एक्लै देखेर इज्जत नै लुट्छ।'
ओहो! उनका भनाई कति गम्भीर? हामी चाहिँ उनी र उनीजस्ता अरु धेरैको हक अधिकारको कुरा गर्न खप्पिस छौं।
झलस्स हुन्छु म - धेरै दिन भयो मेरो घरमा काम गर्न उनी आएकी छैनन्। म बारम्बार उनलाई कल गर्छु। घन्टी गइरहन्छ तर उनको फोन उठ्दैन।
सायद, उनलाई काम गर्न मन छैन भन्दै म आफुलाई सम्झाउँछु। तर, फेरि म दिनदिनै फोन डाइल पनि गरिरहेकै छु। किन होला? फोनमा कुरा नहुँदा कताकता डर पनि लाग्ने। त्यो डर मुखारित किन भइरहेको छैन? म आफैँ अलमलिएको छु।