PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

ताइवानी नेताको अमेरिकी सभामुखसँगको भेट पछि चीनले लगायो अमेरिकी र ताइवानी संस्थामाथि प्रतिबन्ध



विधुर ढकाल

ताइवानी नेताको अमेरिकी सभामुखसँगको भेट पछि चीनले लगायो अमेरिकी र ताइवानी संस्थामाथि प्रतिबन्ध
फोटो: ब्लुम्बर्ग

सांघाई : चीनले दुई अमेरिकी संस्था माथि प्रतिबन्ध लगाएको छ। चीनको विदेश मन्त्रालयले हड्सन इन्स्टिच्युट, रोनाल्ड रेगन प्रेसिडेन्सियल लाइब्रेरी र तिनका निर्देशकहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

यससँगै चीनमा विश्वविद्यालय, शैक्षिक तथा अनुसन्धान संस्था र अन्य संस्था तथा व्यक्तिहरूलाई दुई अमेरिकी संस्थासँग आदानप्रदान र सहयोग गर्न निषेध गरिएको छ। त्यस्तै, यी दुई संगठनका चार वरिष्ठ प्रतिनिधिहरूलाई चीन प्रवेशमा प्रतिबन्धसमेत लगाइएको छ।

चीनको पटकपटकको आग्रह र कडा विरोधलाई बेवास्ता गर्दै अमेरिकाले ताइवानकी नेतृ साई इङ वेनलाई मार्च २९ देखि ३१ सम्म र अप्रिल ४ देखि ६ सम्म राजनीतिक गतिविधिमा संलग्न हुने गरि अमेरिकामा 'ट्रान्जिट' दिइएको आरोप चीनले लगाएको छ। 

हड्सन इन्स्टिच्युट र रेगन लाइब्रेरीले साईलाई अमेरिकामा 'ताइवान स्वतन्त्रता' पृथकतावादी गतिविधिमा संलग्न हुन मञ्च प्रदान गरेको आरोप चिनियाँ विदेश मन्त्रालयले लगाएको छ। विदेश मन्त्रालयले अमेरिकी संस्थाको यी कदमले एक चीन सिद्धान्त र चीन-अमेरिका संयुक्त विज्ञप्तिका प्रावधानहरूको गम्भीर उल्लङ्घन गरेको जनाउनुका साथै यसबाट चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई गम्भीर क्षति पुर्‍याएको आरोप लगाएको छ।

विदेश मन्त्रालयले हड्सन इन्स्टिच्युटकी प्रमुख सारा मे स्टर्न, इन्स्टिच्युटका अध्यक्ष जोन वाल्टर्स, रोनाल्ड रेगन प्रेसिडेन्सियल फाउन्डेसन एण्ड इन्स्टिच्युटका कार्यकारी निर्देशक जोन ह्युबुश र इन्स्टिच्युटका प्रमुख प्रशासकीय अधिकृत जोआन ड्रेकलाई पनि प्रतिबन्धको सूचीमा राखेको छ। 

यो प्रतिबन्ध पछि चीनमा रहेका उनीहरूको चल अचल सम्पत्ति र अन्य प्रकारका सम्पत्तिहरू जफत गरिनेछ बताइएको छ। चीनभित्रका संस्था र व्यक्तिहरूलाई उनीहरूसँग सान्दर्भिक लेनदेन, सहयोग र अन्य गतिविधिहरू सञ्चालन गर्न प्रतिबन्ध लगाइनेछ। ती व्यक्तिलाई चीन प्रवेशमा रोक लगाइएको र भिसा जारी गर्न समेत रोक लगाइएको मन्त्रालयले जनाएको छ।

वासिङ्टनस्थित थिंक ट्यांक हड्सन इन्स्टिच्युटले मे २०२२ मा पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओलाई 'विशिष्ट साथी' र 'एन्टी चाइना' अभियानमा सक्रिय माइल्स युलाई निर्देशक बनाएर चाइना सेन्टर स्थापना गरेको थियो । सो इन्स्टिच्युटले ताइवानका अधिकारीहरूबाट प्रायोजन पनि लिएको छ। त्यहाँबाट साईका साथै अमेरिकाका लागि ताइवानका प्रतिनिधिको बि-खिम सियाओलाई 'ताइवान स्वतन्त्रता' पृथकतावादको टिप्पणी प्रसार गर्न अनलाइन कार्यक्रमहरूमा भाग लिन आमन्त्रितसमेत गरिएको छ।

चीनले बि-खिमलाई पनि प्रतिबन्ध लगाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको ताइवान कार्यालयले उनी माथि प्रतिबन्ध लगाएको हो। कार्यालयका प्रवक्ताले सियाओले विदेशी सहयोग मागेको र ताइवान जलडमरु क्षेत्रमा मुठभेड भड्काउन र सिमापार शान्ति र स्थिरतालाई कमजोर पार्न ताइवान स्वतन्त्रताको लागि अमेरिकासँग समर्थन मागेको आरोप लगाएका छन्। 

मुख्य भूमि चीनले सियाओ र तिनका परिवारका सदस्यहरूलाई मुख्य भूमि, हङकङ र मकाउको विशेष प्रशासनिक क्षेत्रहरूमा प्रवेश गर्न कडाइका साथ प्रतिबन्ध लगाउने निर्णयसमेत गरेको छ। साथै उनको वित्तीय प्रायोजकहरू र सम्बन्धित व्यवसायहरूलाई मुख्य भूमिका संगठनहरू र व्यक्तिहरूसँग सहयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। 

ताइवान कार्यालयका प्रवक्ताले कानून अनुसार आजीवन जवाफदेहिता सुनिश्चित गर्न अन्य सबै आवश्यक दण्डात्मक उपायहरू अपनाइनेसमेत बताएका छन्। त्यस्तै ताइवानका दूई संस्थालाई पनि चीनले प्रतिबन्ध लगाएको छ। चीनको स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयले ताइवानको 'प्रोस्पेक्ट फाउन्डेसन' र 'काउन्सिल अफ एसियन लिबरल एण्ड डेमोक्र्याट्स'लाई 'ताइवान स्वतन्त्रता'को वकालत गरेको भन्दै शुक्रबार प्रतिबन्धको घोषणा गरेको हो। 

ताइवान मामिला कार्यालयका प्रवक्ता झु फङलियनले ताइवानको क्षेत्रीय पार्टी डेमोक्रेटिक्स प्रोग्रेसिभ पार्टीका अधिकारीहरूको निर्देशनमा यी दुई संगठनले 'लोकतन्त्र', 'स्वतन्त्रता' र 'सहयोग' को बहानामा र 'प्राज्ञिक आदानप्रदान' र 'सेमिनार'को आडमा अन्तर्राष्ट्रिय क्षेत्रमा 'ताइवान को स्वतन्त्रता' को विचारलाई अनावश्यक रूपमा प्रचार गरेको आरोप लगाएका छन्। 

'उनीहरूले आफूलाई चीन विरोधी शक्तिसँग जोड्न खोजेका छन् र ताइवानको तथाकथित 'अन्तर्राष्ट्रिय अन्तरिक्ष' विस्तार गर्ने प्रयासमा 'एक चीन, एक ताइवान,' 'दुई चीन' र एक चीन सिद्धान्तको उल्लङ्घन गर्ने घटनामा संलग्न छन्,' झुले भने।

त्यस्तै, यी संस्थाका प्रमुखहरुलाई मुख्य भूमि, हङकङ र मकाउको विशेष प्रशासनिक क्षेत्रहरूमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ। मुख्य भूमिका संगठनहरू र व्यक्तिहरूलाई दुई संगठनहरूसँग कुनै पनि सहयोग गर्नबाट पनि निषेध गरिएको छ। 

यी पछिल्ला प्रतिबन्धहरु मध्ये अमेरिकी राष्ट्रको भ्रमणमा जाँदा र फर्किँदा ताइवानकी नेतृको अमेरिकी बसाइका क्रममा भएका कार्यक्रमलाई लिएर आएका हुन्। अमेरिकी समय अनुसार बुधवार (चिनियाँ समय अनुसार बिहीवार) नेतृ ताटसीले अमेरिकी संसदका सभामुख केभिन म्याकार्थीसँग भेट गरेकी थिइन्।

यी सबै भेटको प्रबन्ध अमेरिकाका लागि ताइवानका प्रतिनिधि बि-खिमले गरेका थिए। उनलाई मुख्य भूमिले प्रतिबन्ध लगाएको यो दोस्रो पटक हो। यसअघि अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि उनीमाथि चीन प्रतिबन्ध लगाएको थियो। 

यद्यपि, उनीमाथि प्रतिबन्ध लगाइए पनि यो प्रभावकारी देखिन्न। ताइवानका सत्तारुढ दलका नेताहरु मुख्यभूमि चीन विरोधी हुन्। उनीहरु मुख्यभूमिमा प्रवेश चाँदैनन्। अर्कोतर्फ बेइजिङको अदालतको पहुँच ताइपेइसम्म छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell