PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

विदेशबाट आउने शवमा पनि लाखौंको ठगी, अपराधीको ‘टार्गेट’मा मधेश प्रदेशका श्रमिक



सविन ढकाल

विदेशबाट आउने शवमा पनि लाखौंको ठगी, अपराधीको ‘टार्गेट’मा मधेश प्रदेशका श्रमिक
फाइल फोटो।

काठमाडौं : काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले ठगी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएकाहरुको परिवारले पाउने बीमा रकममा ठगी गर्ने गिरोहका व्यक्तिहरु पक्राउ परेका हुन्।

कार्यालयले शुक्रवार पत्रकार सम्मेलन गरेर ठगी धन्दा बारे खुलासा गरेको हो। पक्राउ परेका उनीहरुले विदेशमा मृत्यु भएकाहरुको परिवारले पाउने बीमा रकमबाट पाउने १३-१४ लाख रुपैयाँबाट ७-८ लाख रुपैयाँ आफूले राख्ने गरेको एसएसपी मनोज केसीले बताए। विदेशमै मृत्यु भएको खण्डमा परिवारले १४ लाख पाउने प्रावधान छ भने छुट्टीमा नेपाल आउँदा मृत्यु भएकाको परिवारले १३ लाख पाउने गरेका छन्।

विदेशमा मात्र नभइ नेपालमा मृत्यु भएका व्यक्तिहरुको बीमा रकमबाट समेत ठगी गरेको पाइएको छ। ठगीमा संलग्नहरुले बीमा रकम लिनका लागि मधेश प्रदेशका मानिसलाई ‘टार्गेट’ बनाउन खोजिएको देखिएको छ। बीमा रकम दिलाउने भन्दै मधेशबाट मृतकका आफन्तलाई काठमाडौं ल्याएर राख्ने र ठगी गर्ने गरेको खुलेको छ।पक्राउ परेकाहरुबाट ३५ जना मृतकको बीमा रकम ठगी गर्न तयार पारिएको कागजपत्र फेला परेको छ।

पक्राउ पर्नेहरुमा काभ्रेको रोशी गाउँपालिका-१२ का ४१  वर्षीय रामबहादुर तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका-८ का ३४ वर्षीय विनोद कुमार लामा, सोही ठेगाना भएका ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रविन भन्ने रविन्द्र मोक्तानलगायत रहेका छन्।

उनीहरुले वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै विविध कारणले मृत्यु भएका तथा विदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमा वापत पाउने रकम मृतकका आफन्तहरुलाई दिलाई दिन्छु भन्दै ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। बीमाको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम आफूहरुले लिने गरेको उजुरी परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीले चैत २३ गते काठमाडौंको गोंगबुबाट रामबहादुर तामाङसहित ६ जनालाई विभिन्न मृतक व्यक्तिहरुको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटरप्याडलगायतका कागजातसहित पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell