
काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएकाहरुको परिवारले पाउने बीमा रकममा ठगी गर्ने गिरोह सक्रिय भएको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगी गर्ने गिरोहका ६ जनलाई पक्राउ गरेको छ।
ठगी प्रकरणमा वैदेशिक विभागका कर्मचारीको पनि संलग्नता रहेको खुलेको छ। प्रहरीले विभागका नाशु पशुपति अधिकारीलाई पक्राउ गरेको छ। उनले एउटा मृत्यु बीमा वापत ठगी गर्ने गरोहबाट २० देखि ३० हजार रुपैयाँ लिने गरेको खुलेको हो।
कार्यालयले शुक्रवार पत्रकार सम्मेलन गरेर ठगी धन्दा बारे खुलासा गरेको छ। पक्राउ परेका उनीहरुले विदेशमा मृत्यु भएकाहरुको परिवारले पाउने बीमा रकमबाट पाउने १३-१४ लाख रुपैयाँबाट ७-८ लाख रुपैयाँ आफूले राख्ने गरेको एसएसपी मनोज केसीले बताए। विदेशमै मृत्यु भएको खण्डमा परिवारले १४ लाख पाउने प्रावधान छ भने छुट्टीमा नेपाल आउँदा मृत्यु भएकाको परिवारले १३ लाख पाउने गरेका छन्।
विदेशमा मात्र नभई नेपालमा मृत्यु भएका व्यक्तिहरुको बीमा रकमबाट समेत ठगी गरेको पाइएको छ। ठगीमा संलग्नहरुले बीमा रकम लिनका लागि मधेश प्रदेशका मानिसलाई ‘टार्गेट’ बनाउन खोजिएको देखिएको छ। बीमा रकम दिलाउने भन्दै मधेशबाट मृतकका आफन्तलाई काठमाडौं ल्याएर राख्ने र ठगी गर्ने गरेको खुलेको छ।