काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ट्रेड युनियनका नेताहरुलाई अवसरवादीबाट टाढा हुन आग्रह गरेका छन्। नेता कोइरालाले नेतादेखि कर्मचारी अहिले अवसरवादीको घेरामा रहेको उल्लेख गर्दै यस्ता प्रवृत्तिबाट टाढा रहन सुझाव दिएका हुन्।
'तपाईंहरु पनि अवसरवादीको घेरामा हुनुहुन्छ। हामी राजनीतिज्ञ पनि अवसरवादीको घेरामा छौं। यसबाट टाढा हुन नसके देश झन् झन् बर्बाद भएर जान्छ,' शुक्रवार नेपाल ट्रेड युनियन काँग्रेससँग आवद्ध नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटनमा कोइरालाले भने। काठमाडौंको बानेश्वरस्थित बानेश्वर बाङ्क्वेटमा आयोजित महाधिवेशनमा कोइरालाले आफू अवसरवादीबाट सजग भइसकेको दाबी गरे। 'तर अवसरवादीहरुबाट सावधान हैं। म त भइसकें,' कोइरालाले भने।
विश्वमा अहिले ट्रेड युनियन समाप्त पार्ने खेलहरु भइरहेको उल्लेख गर्दै नेता कोइरालाले जातीय राजनीतिले यस्तो भएको हो कि भनेर प्रश्नसमेत गरे। 'ट्रेड युनियनलाई समाप्त पार्ने खेल विश्वमा भइरहेको छ। नेपाल अछुतो रहने कुरै भएन। जातीय राजनीतिको कारणले वर्गीय राजनीति ओझेलमा पर्दैछ। कतै यही कारण त ट्रेड युनियन आन्दोलन कमजोर भएको त हैन,' उनले भने, 'यस्तो अवस्थामा पनि हामीले वर्गीय लडाइँ छाड्नुभएन।'
कार्यक्रममा ट्रेड युनियनका नेताहरुले सत्तामा पुगेपछि कांग्रेसका नेताहरुले कर्मचारीको योगदान बिर्सने रोग लागेको गुनासो गरेका थिए। उक्त विषयलाई सम्बोधन गर्दै नेता कोइरालाले नेता र कर्मचारीको लभ हेट सम्बन्ध भएको बताए। 'लभ हेट रिलेसन छ काँग्रेस र ट्रेड युनियनको। सरकारमा गइसकेपछि नेचर ट्रेड युनियनलाई दबाएरै राखौ भन्ने हुने रहेछ,' कोइरालाले भने।
कर्मचारीको भावनालाई आफूले कद गर्ने उल्लेख गर्दै उनले आफूले विशेषगरी दुई वटा मुद्दा उठान गर्ने वचन दिए। 'तपाईहरुका चासोलाई हामी कदर गर्छौ ढुक्क हुनुस्,' कोइरालाले भने, 'मेरो प्रयास यी दुई विषयमा विशेष रहनेछ। पहिलो श्रम आयोग संविधानमै राख्ने र दोस्रो श्रमिकलाई केन्द्रीय समितिमा ल्याउने। यो गर्न सके म सफल हुन्छु। तपाईहरुलाई न्याय गरेको ठहरिनेछ।'
यसका लागि सम्पूर्ण ट्रेय युनियनमा आवद्धहरुले श्रम आयोग चाहियो भनेर सामाजिक सञ्जालमा लेख्नसमेत कोइरालाले आग्रह गरे। 'श्रम आयोग चाहियो भनेर फेसबुकमा लेख्नुस् सबैले,' उनले भने, 'कुनै न कनै दिन प्रधानमन्त्रीको कानमा छिर्ला नि। सभापतिको कानमा नि छिर्ला नि। अनि संसदमा उठ्छ।'
कोइरालाले अहिले टेलिकम एनका कारण अप्ठ्यारोमा पर्न लागेकोसमेत बताए। यस्तो अवस्थामा भए पनि देशलाई श्रीलंका हुन नदिने दाबी गरे। 'हामी पाकिस्तान र श्रीलंका हुन दिँदैनौं,' कोइरालाले भने।
उनले नेपालको विदेशी सञ्चिती रकम १० महिनाको लागि रहेको र यो योगदान रेमिट्यान्सबाट रहेको बताए।
विभिन्न २४ वटा आबद्ध प्रतिष्ठानको सहाभागितामा संघको सातौं राष्ट्रिय महाधिवेशन सम्पन्नबाट शनिवार नयाँ नेतृत्व चयन हुने छ।