काठमाडौं: काठमाडौंको नर: (हाँडीगाउँ) मा तिसा मालिगु जात्रा (गहना खोज्ने जात्रा) सम्पन्न भएको छ।
शुक्रबार बिहानदेखि त्वरं: अजिमा (वैष्णवी/ टुंडाल देवी)को मूर्तिलाई खटमा नगर परिक्रमा गराइ बेलुकी टंगालस्थित तिसा मालिगू पुखु (गहना पोखरी) भित्र डुबाएर तीनपटक परिक्रमा गराइएको हो।
गहना खोज्ने जात्रा भनिए पनि पोखरीमा गहना भने हुँदैन। विभिन्न कथनहरुमा आधारित भएर पोखरीमा टुँडाल देवीलाई तीनपटक घुमाएर प्रतीकात्मक रुपमा गहना खोज्ने गरिन्छ।
ल्हुती पुन्हीका दिन टुँडालदेवीको जात्रा सुरु हुन्छ। त्यसदिन मपता अजिमा (भाटभटेनी) को मूर्तिलाई पनि टुँडालदेवी मन्दिरमा ल्याउने गरिन्छ।
टुँडालदेवीलाई भेट्न जाँदा छोरी भाटभटेनीले आफ्नी आमाको एक पोडेसँग अनैतिक सम्बन्ध रहेको थाहा पाउँछिन्। त्यसपछि रिसाएर फर्केकी भाटभटेनीका गहना उक्त पोखरीमा हराएको र सोही गहना खोज्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।
यद्यपि स्थानीयहरु माथि उल्लेखित कथा नयाँ भएको बताउँछन्।
द्वापर युगको अन्त्य र कलियुगको सुरुवाती समय हाँडीगाउँमा रहेको कैशालकूट भवनमा तोला महारानी भन्ने रानी थिइन्। निकै दयालु र धर्मात्मा रानीको महल गरगहनाले भरीभराउ थिए। तोला महारानी आफ्नो करुणका कारण उक्त पोखरीमा पातमा बसेर स्नान गर्न सक्षम थिइन्।
तर, केही समयपछि उनमा सम्पतिको लोभ जाग्यो। सामान्य मानिसले गहना लगाएर हिँडदा उनको मनमा गहना लगाउने सोच पलायो। गहना लगाउनका लागि उनले जनतामाथि कर लगाउने निर्णय गरिन्। शालीन तोला महारानीको शान लोभले खुम्चियो। पातमा बसेर स्नान गर्ने उनी पातबाट लड्बडाउँदै खसिन्।
त्यसपछि उनमा चेत खुल्यो। जनतामाथि आफूले कर लगाएर अन्याय गरिरहेको उनले बुझिन् र पश्चातापस्वरुप दरबार क्षेत्रमा रहेको पोखरीमा जनताका लागि गहना खोज्ने जात्रा सञ्चालन भएको पनि बताइन्छ।