PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ज्युँदालाई त ठगेठगे, मरेकालाई पनि छाडेनन्...



सविन ढकाल

ज्युँदालाई त ठगेठगे, मरेकालाई पनि छाडेनन्...

काठमाडौं : स्वदेशमा काम नपाएपछि वैदेशिक रोजगारीमा जानु नेपालीका लागि पीडादायी वाध्यता बन्दै आएको छ। देश छोडेर मुलुकलाई रेमिट्यान्स पठाएर योगदान पुर्‍याइरहँदा पनि उनीहरु हरेक स्टेजमा लुटिँदै र ठगिँदै आएका छन्। ठगीको हद ज्यूँदो रहँदामात्र सीमित छैन। मृत्यु भइसकेका व्यक्ति र उनीहरुका परिवारलाई समेत ठग्नेहरु सक्रिय छन्।  

वैदेशिक रोजगारीमा भएपछि मृत्यु भएको खण्डमा परिवारले पाउने बिमा रकम हडप्पनेहरु सक्रिय रहेको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको केही दिनको अपरेसनले मृतकका परिवारले पाउने बिमाको रकममा ठगी हुने गरेको खुलेको हो। मृत्यु भएका परिवारमाथि ठगी गर्ने समूह नियोजित रुपमा नै परिचालन हुने गरेको खुलासाले नेपालमा मानवता मर्दै गएको देखाउँछ।

प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका-१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका-८ का ३४ वर्षीय विनोद कुमार लामा, सोही ठेगाना भएका ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रविन भन्ने रवीन्द्र मोक्तान लगायत पक्राउ गरेको छ। उनीहरुको पक्राउ प्रकरणले मृत्युपछि नेपालीहरु लुटिन्छन् भन्ने पुष्टि भएको छ। 

ठगी प्रकरणमा वैदेशिक रोजगार बोर्डका कर्मचारीको पनि संलग्नता रहेको खुलेको छ। प्रहरीले विभागका नायव सुब्बा पशुपति अधिकारी पनि पक्राउ परेका छन्। उनले एउटा मृत्यु भएका व्यक्तिको बिमा ठगी गर्नेलाई सघाउँदा २० देखि ३० हजार रुपैयाँ लिने गरेको खुलेको छ।

पक्राउ परेका उनीहरूले विदेशमा मृत्यु भएकाहरूको परिवारले पाउने बिमा रकमबाट पाउने १३-१४ लाख रुपैयाँमध्ये आधा भन्दा धेरै हडप्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी मनोज केसीले बताए। विदेशमै मृत्यु भएको खण्डमा परिवारले १४ लाख पाउने प्रावधान छ भने छुट्टीमा नेपाल आउँदा मृत्यु भएकाको परिवारले १३ लाख पाउने गरेका छन्।

मृत्यु भएकालाई ठग्‍न शव आएदेखि नै फलो!

बिमा रकममा ठगीका लागि उनीहरूले विदेशबाट शव त्रिभुवन विमानस्थलमा आएदेखि नै फलो गर्ने गरेको खुलेको छ। त्यसका लागि उनीहरूले विमानस्थलमा एक जना मानिसलाई परिचालन गरेको पाइएको छ। त्यसो त वैदेशिक रोजगार विभागबाट पनि उनीहरूले विदेशमा कसको मृत्यु भयो? कहिले शव आउँदै छ? जस्ता जानकारीहरू लिने गरेको अनुसन्धानमा खुलेको छ। त्यसपछि शव आउने समयमा विमानस्थलमा पुगेर उनीहरूले मृतक आफन्तसँग सम्पर्क गर्ने र ठगीधन्दा अगाडि बढाउने गरेको देखिएको छ।

विशेषगरी बाहिरी जिल्लाका मानिसको शव आउँदा उनीहरू स्थायी ठेगानामा नै पुग्‍ने गरेको खुलेको छ। धेरैजसो मधेस प्रदेशका मानिस यस्ता ठगहरुको टार्गेटमा हुने गरेका छन्। तराईका जिल्लामा उनीहरुले मानिस परिचालन गर्दै आएको एसएसपी केसीले जानकारी दिए।

काजक्रिया सकिएपछि आफन्तलाई बिमा बापतको रकम आउने र त्यसको लागि आवश्यक कागजात समेत बनाउने भन्दै सहयोगी भूमिकाबाट उनीहरु ठगीको धरातल तयार पार्न सक्रिय भएको देखिन्छ। सम्बन्धित स्थानीय निकायमा मृत्यु दर्ता, विवाह दर्ता, नाता प्रमाणितदेखि आवश्यक कागजपत्र बनाउन उनीहरुले सहजिकरण गर्दै मृतकको परिवारसँग नजिकिन्छन्।

यसरी सबै कागजपत्र तयार भएपछि उनीहरूलाई काठमाडौंमा ल्याएर बिमाको रकम झिक्ने प्रक्रियामा पनि उनीहरु सहयोगी बनेको देखिन्छ। गाउँबाट काठमाडौं आउने व्यक्तिलाई काठमाडौंमा होटेलको रुम बुक लगायताका गतिविधि पनि उनीहरुले नै गरिरहेका हुन्छन्। यसो गर्दा सम्बन्धित व्यक्ति अरुको सम्पर्कमा नपुगुन् भन्ने ठगहरुको ध्येय रहेको हुन्छ।

'यो अवधिमा उनीहरूले बन्धक झैँ राख्छन्। कसैसँग सम्पर्क तथा भेटघाट गर्न दिँदैनन्,' एसएसपी केसीले भने।प्रक्रिया पूरा भएपछि बिमाबापत पीडितको हातमा आउने १३/ १४ लाख रुपैयाँ मध्ये ४/ ५ लाख मात्र मृतकको परिवारलाई दिएर बाँकी रकम भने आफैँले राख्ने गरेको खुलेको हो। त्यसको लागि परिवारले पाउने रकमबाट पहिले नै उनीहरूले चेक बनाएर आफ्नो नाममा पार्ने गरेको देखिन्छ।

पक्राउ परेको गिरोहले अहिलेसम्म कति जनाको रकम निकाले भन्ने अनुसन्धान भइरहेको छ। यही समूहले ३५ जनाको रकम झिक्ने प्रक्रियामा रहेको कागजपत्र बराबद गरेको छ। तिनैमध्ये दुई जना पीडित परिवारको उजुरीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell