इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रवार सम्पन्न खेलमा लखनउ सुपर जायन्टले सनराइजर्स हैदराबादलाई हराएको छ। लखनउस्थित अटल बिहारी बाजपेयी स्टेडियममा सम्पन्न खेलमा क्रुणाल पाण्ड्याको अलराउण्डर प्रदर्शनमा लखनउले हैदराबादलाई ५ विकेटले हराएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले फितलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउले १७ औँ ओभरको समाप्तिमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
सुरुवाती ब्याटिङ गरेको हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ३४ रन बनाउँदा ओपनर अनमोलप्रीत सिंहले ३१ रन बनाए। त्यस्तै अब्दुल समद २१ रनमा अविजित रहँदा वासिंटन सुन्दरले १६ रन बनाए। त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
हैदराबादको ब्याटिङ धराशायी बनाउन लखनउका क्रुणाल पाण्ड्याले ३ विकेट लिँदा अमित मिश्राले २ तथा यश ठाकुर र रवि विश्नोइले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको लखनउलाई लक्ष्यसम्म पुर्याउन कप्तान केएल राहुलले सर्वाधिक ३४ रनको योगदान दिँदा क्रुणाल पाण्ड्याले ३४, केल मेयर्सलले १३ रन बनाए। त्यस्तै निकोलस पुरन ११ रनमा अविजित रहँदा मार्कस स्टोइनिस १० रनमा अविजित रहे।
जितसँगै लखनउले ३ खेलमा दोस्रो जित निकालेको छ भने हैदराबादले लगातार दोस्रो हार ब्यहोरेको छ। ४ अंक जोडेर लखनउ शीर्ष स्थानमा रहँदा हैदराबाद तालिकाको पुछारमा छ।