PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

‘क्राइम थ्रिलर’कै शैली : बिमा रकम हत्याउन श्रीमती, साथी र छोरीकै हत्या! थपिए- विदेशबाट बाक्सामा फर्किनेहरु



सविन ढकाल

‘क्राइम थ्रिलर’कै शैली : बिमा रकम हत्याउन श्रीमती, साथी र छोरीकै हत्या! थपिए- विदेशबाट बाक्सामा फर्किनेहरु

काठमाडौं : बिमा रकम हत्याउन मानिसको हत्यादेखि ठगीका अनेक उपाय बाहिरिरहन्छन्। यस्ता गतिविधिमा संलग्न व्यक्ति त्यतिन्जेल खुला हुन्छन् जहिलेसम्म उनीहरुको आपराधिक गतिविधिबारे सुरक्षा निकाय अन्जान हुन्छ। जब त्यस्ता गतिविधि थाहा हुन्छ, प्रहरीको फन्दा उनीहरुको स्वागतका लागि तयार हुन्छ।

बिमाको रकम हत्याउने विषयमा धेरै क्राइम थ्रिलर बनेका छन्। पति, पत्नी वा पार्टनरबिच बिमाको रकम पाउन हुने अपराधका घटनाका ‘प्लट’हरु फिल्म र सिरिजहरुमा टन्नै पाइन्छन्। तर, ती फिल्मका कथाभन्दा फरक शैलीमा भर्खरै नेपालमा यस्तैखाले अपराधको खुलासा भएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएपछि आफन्तले राहत स्वरुप पाउने बिमा रकम हत्याउन ठूलो गिरोह नै सक्रिय देखिएको छ। यो गिरोहको गतिविधि कुनै पनि क्राइम थ्रिलरभन्दा कम छैन। हालै प्रहरीले वैदेशिक रोजगार विभागका कर्मचारीसहित सात जनालाई समातेपछि अपराधको अलग चेहरा सार्वजनिक भएको हो।

सरकारी कर्मचारी पशुपति अधिकारीले दिने सूचनाका आधारमा काभ्रेको रोशी गाउँपालिका-१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका-८ का ३४ वर्षीय विनोद कुमार लामा, सोही ठेगाना भएका ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रविन भन्ने रविन्द्र मोक्तान लगायतले विदेशमा आफन्त गुमाउनेमाथि नै अपराध गर्दै आएको खुलेको हो।

विदेशमा मृत्यु भएकाहरुको बिमा रकम हत्याउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरु


कर्मचारीको सुचनापछि विदेशबाट बक्सामा आउने शवसँगै उनीहरुको परिवारसँग पूरै घुलमिल भएर रकम हत्याउने पृष्ठभूमि तयार पार्ने गरेको खुलेको छ। मृतकका परिवारलाई साहनुभूति दिने नाममा उनीहरु गाउँगाउँ पुग्ने गरेको प्रहरीको भनाइ छ।

काजक्रिया सकिएपछि आफन्तले पाउने बिमा वापतको रकम हडप्न उनीहरु छद्म भेषमा पुग्थे- सहयोगीका रुपमा। आवश्यक कागजात बनाउन सघाउनेदेखि वडामा मृत्यु दर्ता, विवाह दर्ता, नाता प्रमाणित लगायतका सबैजसो कागजात तयार पार्न उनीहरु खटिने र त्यसैबाट पीडितलाई विश्वासमा लिने गरेको देखिन्छ। यसरी सबै कागजपत्र तयार भएपछि उनीहरूलाई काठमाडौंमा ल्याएर बिमाको रकम झिक्ने र हडप्ने उनीहरुको रणनीति।

बिमा रकम हडप्ने पछिल्लो शैली हिजो प्रहरीले सार्वजनिक गरेको भए पनि यसखाले अपराधको श्रृङ्खला लामै छ।

पहिले बिमा, पछि हत्या!

गत साउनमा प्रहरीले बिमाको २ करोड ५० लाख रुपैयाँ हत्याउन हत्या गरेको केस बाहिर ल्यायो। त्यस घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले ६ जनालाई पक्राउ गरेको थियो। कोहलपुर नगरपालिकाकी २१ वर्षीया सपना, स्याङ्जाको वालिङका ३१ वर्षीय सञ्जीव अर्याल, बाँके कोहलपुरका ३२ वर्षीय सरदार खाँ, बाँके बैजनाथ गाउँपालिका ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, बाँके कोहलपुरका ३८ वर्षीय दीपक केसी र बाँके कोहलपुरकी २१ वर्षीया ललिता सापकोटा समातिए।

नक्कली बिहे दर्ता गरी बिमाको साढे २ करोड रुपैयाँ हत्याउन उनीहरुले सवारी दुर्घटना गराएका थिए। २०७८ बैशाख २ गते बाँकेको कोहलपुर नगरपालिकामा २१ वर्षीय सर्जन विकको योजनाबद्ध दुर्घटना गराई साढे २ करोड बराबरको बिमा रकम लिएको खुल्यो। उनीहरुले सपना मल्लसँग सर्जनको विवाह दर्ता गराएका थिए। जुन सवारी दुर्घटना र बिमा रकम दावी गर्ने उद्देश्यले गराएको खुल्यो।

बिमा ठगीबारे जानकारी दिँदै काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी।


सपना र सर्जनको विवाह भएपछि एक पटक मात्रै भेट भएको थियो। उनीहरुले सर्जनको सावधिक जीवन बिमा र म्यादी जीवन बिमा गराएका थिए। उनीहरुले २०७७ चैत २८ गते १ करोड २० लाख र ७० लाख रुपैयाँको दुर्घटना बिमा गराएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

दुर्घटना भइसकेपछि २०७८ साउन १४ गते रिलायन्स लाइफ इन्स्युरेन्सबाट सपनाले बिमा रकम बुझेर कामना सेवा विकास बैंक कोहलपुरको खातामा जम्मा गरेको देखिएको थियो। त्यस्तै, पुस ३० गते पुनर्बिमा कम्पनीले सर्जन विकको सवारी दुर्घटना शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई खबर गरेको थियो।

दुर्घटना हुनुभन्दा दुई महिनाअघि मात्रै मृतकको नाममा बैंक खाता खोलिनु, विवाहअघि नै सपनालाई इच्छाएको व्यक्ति भनेर राखिनु, दुर्घटनाभन्दा एक महिना अघिमात्रै उनीहरुको विवाह भएको खुल्नु तथा मृतकको त्यति ठूलो बिमा गर्ने आर्थिक हैसियत नहुनु जस्ता क्लुहरुलाई अनुसन्धानको आधार बनाइएको थियो।

बिमा रकमका लागि छोरीकै हत्या!

रौतहटका रामकिशोर राय यादव आफ्नै चार वर्षीया छोरी लक्ष्मीकुमारीको हत्यामा पक्राउ परे। छोरीको हत्या हुनु एक महिना अगाडि उनले प्रभु लाइफ इन्स्योरेन्समा २५ लाख रुपैयाँको बिमा गराएका थिए।

लक्ष्मीको शव पोखरीमा भेटिएपछि प्रहरीले हत्या भएको शंका गर्दै छानविन गर्‍यो। छानबिनको क्रममा बिमाको लागि हत्या गरिएको खुलासा भयो। उनले जेठ १९ गते नियोजित रुपमै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा २५ लाख रुपैयाँ पाउन बिमा गराएका थिए।

बिमा ठगीमा संलग्न व्यक्तिहरुबाट बरामद भएका कागजात।


उनले पहिलो किस्ता बापत कम्पनीमा पौने दुई लाख रुपैयाँ बुझाएका थिए। हत्यारा बाबुले कान्छी छोरीको हत्या गरेर २५ लाख रुपैयाँ पाउने लोभमा यस्तो आपराधिक कार्य गरेको स्वीकार गरिसकेका छन्।

उस्तैगरी श्रीमती मारिइन्

पोखराको चिप्लेढुङ्गामा व्यवसाय गर्दै आएका रमेश नेपालीले बिमाबाट रकम पाइने लोभमा श्रीमतीको हत्या गरे। उनले आफ्नी श्रीमती लक्ष्मी नेपालीको युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा एक करोड रुपैयाँको बिमा गरे। श्रीमतीको मृत्युपछि बिमा बापतको पैसा आउने लोभमा एक करोड रुपैयाँको बिमा गरेका थिए।

कम्पनी पनि धेरै बिमा शुल्क पाउने लोभमा एकै पटक एक करोड रुपैयाँको बिमा गर्न राजी भयो। यस घटनाले बिमा क्षेत्रमा अण्डर राइटिङको विषयलाई बहसमा ल्याएको थियो।

हत्या मात्र होइन बिमा रकमको लागि पसल र सवारीमा आगो लगाउनेदेखि नक्कली कागजपत्र बनाउनेसम्मको धेरै घटना बाहिरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell