काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ। प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज शुक्रवारदेखि पुनः सञ्चालनमा आएको हो।
भेरिफाइड उक्त पेज विगत दुई वर्षदेखि निष्क्रिय रहँदै आएको थियो। सरकारका कामको एकीकृत प्रचार र सूचना संयन्त्रलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको सचिवालय टीमले सबै सामाजिक सञ्जाललाई सञ्चालनमा ल्याउने योजनाअनुरूप आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा ल्याएको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्यालयले नेपाल सरकारको मातहतमा रहेका सबै कार्यालयहरूले फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालहरू प्रयोग गर्नेगरि निर्देशिकाको मस्यौदासमेत तयार गरिसकेको छ। उक्त निर्देशिका मन्त्रिपरिषद् बैठकबाट पारित भएसँगै कार्यान्वयनमा आउने छ।
‘सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका २०८०’ नाम दिइएको उक्त प्रस्तावमा संघ, प्रदेश र स्थानीय तहसम्म सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने र सोका लागि सबै तहका सामाजिक सञ्जालको एकीकृत भेरिफाइड गर्ने पनि प्रस्ताव गरिरहेको छ।
निर्देशिका सञ्चालनमा आएपछि नेपाल सरकारका तीनै तहका सबै कार्यालय र निकायहरूले तोकिएका सामाजिक सञ्जालहरूको अनिवार्य प्रयोग गर्नेछन्। यसबाट सरकारी कामकाज र सेवाको सेवाग्राहीमा व्यवस्थित प्रचार र सूचना सम्प्रेषण हुने अपेक्षा गरिएको छ।