PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सहकारीले बचतकर्ताको ५० करोड ८८ लाख रुपैयाँ ठग्यो, बिना धितो करौडौं कर्जा प्रवाह



पहिलोपोस्ट

सहकारीले बचतकर्ताको ५० करोड ८८ लाख रुपैयाँ ठग्यो, बिना धितो करौडौं कर्जा प्रवाह
फोटो : जिल्ला अदालत मोरङ

काठमाडौं : तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडले बचतकर्ताको ५० करोड ८८ लाख रुपैयाँ ठगी गरेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले गरेको अनुसन्धानमा ५० करोड ८८ लाख ७८ हजार ७ सय २८ रुपैयाँ ठगी गरेको खुलेको हो। सहकारीले बालबचत/ज्येष्ठ नागरिक बचत/भविष्य सुनिश्चित बचत/सुपर पेन्सन बचत/अवधि बचत/कर्मचारी चल्ती बचत/विषेश बचत/साधारण बचतलगायतका विभिन्न स्किमहरु मार्फत १ हजार ३ सय ७ जना बचतकर्ताको रकम हिनामिना गरेको देखिएको छ।

संस्थाका अध्यक्ष केदारनाथ शर्माका ३३ वटा निजी कम्पनीहरुमा बिना धितो एवं बिना कुनै कागजात अध्यक्षको मौखिक आदेशको भरमा करोडौं रकम कर्जा प्रवाह भएको देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

अध्यक्ष केदारनाथ शर्मालगायतका ७ जना पदाधिकारीहरू उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने, सञ्चालक सदस्यहरु छविलाल विश्वककर्मा, निर्मला पोखरेल भट्टराई, बन्टी अधिकारी, आदित्यराज भट्टराई र संस्थाका क्षेत्रीय प्रबन्धक मन्दीप खवासविरूद्ध जिल्ला अदालत मोरङमा सहकारी संस्थाको रकम हिनामिना गरेको कसुरमा मुद्दा दर्ता भएको थियो।

शुक्रवार जिल्ला अदालतले उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई पुर्पक्षको लागि कारागार राख्न आदेश दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell