PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

बरालको चौथो कृति 'प्रतीकवाद' विमोचन



पहिलोपोस्ट

बरालको चौथो कृति 'प्रतीकवाद' विमोचन

विराटनगर : साहित्यकार हरिप्रसाद बरालको समालोचना कृति 'प्रतीकवाद' विमोचन भएको छ। शनिवार विराट साहित्य सङ्गमले आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ समालोचक प्रा. डा. गोपाल भण्डारीलगायत विभिन्न अतिथिहरूले कृति विमोचन गरेका हुन्। साहित्यकार हरिप्रसाद बरालको यो चौथो कृति हो। यसअघि उनका उद्घोषभित्रका फूलहरू (लेख निबन्ध सङ्ग्रह, २०६८), पुस्तकहरूको माझैमाझ (पुस्तकसम्बद्ध संस्मरण, २०७८) र काव्यिक विम्बको फूलबारी (कवितासङ्ग्रह, २०७८) प्रकाशित भैसकेका छन्।

७२ पृष्ठको यस कृतिको पहिलो अध्यायमा प्रतीकवादको अर्थ, परिभाषा र विश्लेषण, दोस्रो अध्यायमा प्रतीकवादको विकास, तेस्रो अध्यायमा प्रतीकवादको पृष्ठभूमि र अभियन्ताहरू, चौथो अध्यायमा केही नेपाली कविताको प्रतीकवादी विश्लेषण र पाचौं अध्यायमा निष्कर्ष रहेका छन्। यसमा विश्लेषण गरिएका कविताहरूमा कवि मोहन कोइरालाको फर्सीको जरा, पारिजातको आत्मबोध, वैरागी काइँलाको मातेको मान्छेको भाषण मध्यरातको सडकसित र प्रमोद प्रधानको विषाक्तताभित्रको एउटा आस्था रहेका छन्।

विमोचन कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. भण्डारीले पुस्तक पृष्ठका दृष्टिले सानो भए पनि विषय, प्रस्तुति र विश्लेषणका दृष्टिले महत्त्वपूर्ण भएको बताए। स्नातकोत्तर क्याम्पस, विराटनगरका नेपाली विभाग प्रमुख टुनराज भट्टराईले पुस्तकले प्रतीकवादजस्तो गम्भीर विषयलाई अत्यन्त सरल  भाषामा सूचनाप्रद ढङ्गले प्रस्तुत गरेको बताउँदै सिद्धान्त र विश्लेषण दुबै भएकोले पुस्तक सन्तुलित रहेको धारणा राखे।

कवि एवम् समालोचक प्रमोद प्रधानले नेपाली कवितालाई प्रतीकवादको दृष्टिले व्याख्या र विश्लेषण गरेर लेखिएको यस कृतिले अब समग्र नेपाली कवितालाई प्रतीकवादका दृष्टिले विश्लेषण गर्नुपर्ने आवश्यकता बोध गराएको उल्लेख गरे। समालोचक दधिराज सुवेदीले पनि पुस्तकको महत्त्वबारे आफ्नो धारणा राखे।

पुस्तकका लेखक हरिप्रसाद बरालले प्रतीकवाद लहरे तरकारीका लागि बनाइएको थाक्रो जस्तो भएको बताउँदै थाक्रो जति राम्रो भयो त्यत्ति राम्रो तरकारी फल्ने विचार प्रकट गरे।

लेखक हरिप्रसाद बरालका पिता पण्डित माधवप्रसाद बरालको अप्रकाशित महाकाव्य मगध विजयका विषयमा विद्यावारिधि गर्नुहुने प्रा.डा. रमेश घिमिरेले बरालको पूर्वजहरूको विद्वता र लेखनसङ्गै पुस्तकको महत्ताबारे चर्चा गरेका थिए।

विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सङ्गमका सदस्य एवम् सङ्गम अभियान पत्रिकाका प्रधान सम्पादक रामबाबु दाहालले स्वागत भाषण गरेका थिए भने कविता केशरीले लेखकको परिचय प्रस्तुत गरेका थिए। कार्यक्रममा डा. मेदिनीप्रसाद शर्मा, गङ्गा सुवेदी, पूर्वान्चल विश्वविद्यालय अनुसन्धान विभागका प्रमुख प्रा.डा. मीनराज ढकाल र कृष्णप्रसाद भण्डारी मार्सेलीले शुभकामना मन्तव्य राखे।

उक्त अवसरमा कविहरू हरि कट्टेल, भूषण ढुङ्गेल, भरत गुरागाई, रोहिणी रसिक, पृन्स प्रमोद ढकाल लगायतका कविहरूले आआफ्ना कविता वाचन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell