PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

के चीन हेर्ने अमेरिकी दृष्टिबाट मुक्त हुन खोज्दैछ युरोपियन युनियन?



विधुर ढकाल

के चीन हेर्ने अमेरिकी दृष्टिबाट मुक्त हुन खोज्दैछ युरोपियन युनियन?
फ्रान्सेली राष्ट्रपतिसँग चिनियाँ राष्ट्रपति। Photo: english.news.cn

सांघाई : पछिल्ला दुई साता चीनले युरोपियन युनियन (इयू)का नेताहरूलाई स्वागत गर्‍यो। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयेनलाई गत साता बेइजिङमा स्वागत गरेको चीनले त्यसको अघिल्लो साता मात्र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई राजकीय पाहुनाका रूपमा स्वागत गरेको थियो।

स्पेनका प्रधानमन्त्री सान्चेजले चीनको बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा भाग लिएर चीनको राजकीय भ्रमण सुरु गरेका थिए। दुई देशले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ मनाउँदै छन्। स्पेनले आगामी जुलाईबाट काउन्सिल अफ युरोपियन युनियनको अध्यक्षता लिँदैछ। यस्तोमा इयू-चीन सम्बन्धलाई अगाडि बढाउन स्पेनको महत्त्वपूर्ण भूमिका हुन्छ।

प्रधानमन्त्री सान्चेजले बेइजिङस्थित ग्रेट हल अफ पिपल्समा राष्ट्रपति सि चिनफिङसँग भेटका क्रममा युक्रेन संकटको राजनीतिक समाधानमा चीनले सार्वजनिक गरेको दस्तावेजलाई सकारात्मक रूपमा लिएको र युक्रेन संकटको राजनीतिक समाधानमा चीनको रचनात्मक भूमिकाको सराहना गरेका थिए।

उनले स्पेन चीनसँग स्पष्ट सञ्चार र संवाद कायम राख्न इच्छुक रहेको बताएका थिए। यस्तै, स्पेनले इयूको आलोपालो अध्यक्षता सम्हाल्ने क्रममा र इयू र चीनबीच संवाद र सहयोगलाई बढवा दिने प्रतिबद्धता पनि उनले जनाएका थिए।

सान्चेजको चीन भ्रमणपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले पनि बेइजिङको भ्रमण गरे। त्यसअघि गत वर्षको अन्त्यतिर जर्मन चान्सलर ओलाफ स्कोल्जले बेइजिङको भ्रमण गरेका थिए। गत वर्ष अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको २०औं राष्ट्रिय महाधिवेशनपछि बेइजिङ भ्रमण गर्ने उनी पहिलो युरोपेली नेता हुन्।

त्यसपछि युरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स मिचेल चीन पुगे। बेल्जियमका पूर्वप्रधानमन्त्रीसमेत रहेका मिचेलले चीनसँगको सम्बन्धलाई इयूले प्राथमिकतामा राख्ने भन्दै सबै प्रकारका संवादका 'च्यानल'लाई खुला राखिने बताएका थिए।

शुक्रबार मात्र बेइजिङमा चीन-फ्रान्स र इयू त्रिपक्षीय वार्ता भयो। त्यस्तै चीन र फ्रान्सबीच द्विपक्षीय वार्ता पनि भयो। यो वर्ष चीन र युरोपेली संघबीच व्यापक रणनीतिक साझेदारी स्थापना भएको २०औं वर्षगाँठ मनाइँदै छ। यही सन्दर्भमा चीन–इयू सम्बन्धका विविध पक्षमा घनीभूत छलफललाई अगाडि बढाउनेतर्फ दुबै पक्ष अगाडि बढेका छन्।

संवादका क्रममा इयू कमिसन अध्यक्ष भोन डेरले चीनसँगको खुला र रचनात्मक संवाद र युरोपेली संघ-चीन सम्बन्धको निरन्तर विकास युरोपमा शान्ति र स्थिरताका लागि महत्त्वपूर्ण रहेको बताइन्। यस क्रममा उनले इयूले आफ्नो चीन नीतिलाई स्वतन्त्र रूपमा निर्धारण गर्ने कुरालाई स्पष्ट पारेकी थिइन्।

अध्यक्ष भोन डेरले इयू चीनसँग उच्चस्तरीय आर्थिक तथा व्यापार संवादलाई पुनः सुरु गर्न र पारस्परिक लाभका लागि आर्थिक तथा व्यापारिक सम्बन्धको स्थिर र सन्तुलित वृद्धिलाई अगाडि बढाउन चाहेको बताइन्।

यसबीच तीनै नेताबीच युक्रेन संकटबारे पनि छलफल भयो। युरोपेली नेताहरूले युक्रेन संकटमा चीनको कुनै पनि भूमिका नभएकोप्रति सहमति मात्र जाहेर गरेनन् उनीहरूले संकट समाधानका लागि चीनले गरेको प्रयासको प्रशंसा गरे।

दुवै पक्षले शुक्रबार एक संयुक्त घोषणापत्र जारी गर्दै राजनीतिक संवाद बढाउने र राजनीतिक पारस्परिक विश्वास बढाउने, संयुक्त रूपमा विश्वव्यापी सुरक्षा र स्थिरतालाई बढवा दिने, आर्थिक आदानप्रदानलाई अगाडि बढाउने, जनता–जनताबीचको सहयोग आदानप्रदानलाई पुनः सुरु गर्ने र संयुक्त रूपमा विश्वव्यापी चुनौतीहरूको सामना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चीन र फ्रान्सका नेताहरूले औपचारिक अनौपचारिक छलफलमा जुटेर एकअर्काबीचको मतभेदलाई घटाउने प्रयास दुई दिनको संवादमार्फत गरे। बेइजिङमा औपचारिक संवाद गरेका उनीहरूले शुक्रबार दक्षिण चीनको ग्वाङडोङ प्रान्तको राजधानी ग्वाङ्जाओ पुगेर अनौपचारिक वार्ता गरे।

कुनै पनि विदेशी पाहुनालाई चिनियाँ राष्ट्रपतिले बेइजिङबाहिर भेट्ने घटना बिरलै हुन्छ। यसअघि भारतीय प्रधानमन्त्री मोदीसँग पनि यस्तै अनौपचारिक संवाद बेइजिङबाहिर भएको थियो। यसपटक राष्ट्रपति सि फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई लिएर ग्वाङ्जाओ पुगे।

फ्रान्स युरोपेली युनियन भित्रको शक्तिशाली देश हो। अझ ब्रेक्जिटपछि फ्रान्सको शक्ति बढेको छ, इयूमा। अर्कोतर्फ फ्रान्स नाटोको सदस्य भए पनि अमेरिकासँग केही विषयमा असहमति राख्न सक्छ र राखेको इतिहास पनि छ। इराकमाथिको अमेरिकी आक्रमणका क्रममा अमेरिकी आग्रहमा फ्रान्सले आफ्ना सेना पठाउन अस्वीकार गरेको थियो।

अमेरिकाले चीनलाई युक्रेन मामिलामा रसियालाई सहयोग गरेको आरोप लगाउँदै आएको छ। युक्रेन संकटपछि युरोपेली युनियनले पनि रसियामाथि प्रतिबन्धनको शृङ्खला नै चलाएको छ। युक्रेन संकटपछि अमेरिकासहितका युरोपेली राष्ट्रहरूले युक्रेनलाई हतियार तथा सैन्य सामाग्री सहयोग गरिरहेका छन्।

अहिले युरोपेली नेताहरूको बेइजिङसँगको निरन्तरको संवाद र सम्पर्कले इयू युक्रेन संकटको समाधान चाँडो चाहन्छन् भन्ने देखाउँछ। किनकि रसियामाथिको प्रतिबन्ध लगाउँदा यसको असर युरोपेली राष्ट्रहरूमा पनि उत्तिकै परेको छ।

युरोपेली नेताको यो भ्रमणलगत्तै इयूका विदेश नीति प्रमुख जोसेप बोरेल र जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोक पनि अप्रिलभित्रै बेइजिङको भ्रमण गर्ने तयारीमा छन्। यसरी लगातार युरोपेली नेताहरूलाई बेइजिङले स्वागत गर्नुले दुवै पक्षबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्नेछ।

चीन र इयूबीच प्रतिस्पर्धा रहे पनि उनीहरूले प्रतिस्पर्धात्मक सहकार्यलाई जोड दिएका छन्। बितेका केही वर्षहरूयता, चीन-इयू सम्बन्धले केही कठिन समयको सामना गरिरहेको छ। चीनले चुनौतीको रूपमा लिने अमेरिकाको प्रभाव इयूमा पर्दा सम्बन्धमा असर परेको थियो। अर्कोतिर युक्रेन संकटमा रसियाको सामना गर्न अमेरिकाले युरोपेली राष्ट्रहरूलाई पनि आफ्नै पक्षमा पारेपछि पछिल्लो समय सम्बन्ध झनै बिग्रिएको थियो।

जि-२० सम्मेलनका क्रममा बालीमा राष्ट्रपति सि र युरोपेली नेताहरुबीचको भेटपछि सम्बन्धमा सुधार हुँदै गएको छ। साथै चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीको फेब्रुअरीमा भएको युरोप भ्रमणले चीन र इयूलाई थप नजिक ल्याएको हो। म्युनिख सुरक्षा सम्मेलनमा भाग लिन युरोप पुगेका उनले फ्रान्ससँग इटली, जर्मनी, हंगेरी र रसियाकोसमेत भ्रमण गरेका थिए। त्यतिबेला नै उनले फ्रान्सेली राष्ट्रपतिसहित युरोपेली नेताहरूसँग भेट गरेका थिए।

पटक-पटक चीनले जोड दिँदै आएको छ कि चीन-इयू सम्बन्धमा कुनै पनि बाह्य प्रभाव पर्नु हुँदैन। तर, पनि पछिल्ला केही वर्ष इयूको चीनसम्बन्धी नीतिमा अमेरिकी प्रभाव देखिँदै आएको थियो। तर, पछिल्लो समय इयू चीनसम्बन्धी नीतिमा अमेरिकी प्रभावबाट टाढिन खोजेको छ। यसलाई पुष्टि युरोपेली नेताहरूको पछिल्ला चीन भ्रमणलाई लिन सकिन्छ।

यसबाहेक, इयू नेताहरू नयाँ शीतयुद्ध चाहँदैनन्। किनभने त्यसको ठूलो मार युरोपेली राष्ट्रहरूमै पर्नेछ। युक्रेन मामिलामा अमेरिकाले संवादलाई भन्दा पनि युद्धलाई प्राथमिकतामा राखेको छ। आफ्नै छिमेकमा युद्ध हुँदा यसको प्रभाव युरोपमा पर्ने नै भयो। युरोपको अर्थतन्त्रमा त्यसको प्रभाव देखिसकेको छ। अहिले नै पनि रसियामाथिको नाकाबन्दीको असर युरोपेली बजारमा परेको छ। त्यसैले इयू युक्रेन मामिलामा अमेरिकासँगै उभिरहन सक्ने स्थिति छैन।

अर्कोतर्फ जलवायु परिवर्तनलगायतका मुद्दाहरुमा चीन र इयू सँगै एउटै मञ्चमा उभिएका छन्। क्षेत्रीय र विश्व शान्ति कायम गर्ने, जलवायु परिवर्तन र आणविक प्रसारको सामना गर्ने, विश्वव्यापी शासन सुधार गर्ने र विश्वव्यापी विकासलाई बढवा दिने जस्ता साझा चुनौतीहरूको सामना गर्न चीन र इयूबीचको प्रतिस्पर्धात्मक साझेदारीले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। अत: पछिल्ला संवाद र बढेको कूटनीतिक सम्पर्कहरूले युरोपियन युनियन चीनसम्बन्धी नीतिमा अमेरिकी प्रभावबाट मुक्त हुन खोजेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell