PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पाकिस्तानले १४ औं साग आयोजना गर्न नसक्ने देखिँदा विकल्पमा फरक मोडलको चर्चा : कसरी होला प्रतियोगिता?



मुकुन्द घिमिरे

पाकिस्तानले १४ औं साग आयोजना गर्न नसक्ने देखिँदा विकल्पमा फरक मोडलको चर्चा : कसरी होला प्रतियोगिता?
फाइल फोटो

काठमाडौं : सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा सम्पन्न भयो। काठमाडौंले अर्को संस्करणको आयोजना गर्ने जिम्मेवारी दियो पाकिस्तानलाई। त्यस अन्तर्गत सन् २०२३ को मार्चमा १४ औं संस्करणको साग आयोजना गर्ने पाकिस्तानको योजना थियो। तर, मार्च सकिएर अप्रिल लागिसक्दा पि पाकिस्तानमा साग हुने सुरसार छैन। अझ, त्यहाँको आर्थिक र राजनीतिक अवस्थाले गर्दा साग हुने भन्दा नहुने सम्भावना धेरै छ।

यद्यपि, यसबिचमा साग आयोजना गर्न पाकिस्तानले तदारुकता नै नदेखाएको भने होइन। दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले यसमा काम पनि गरेको थियो। सन् २०२२ को जुलाईमा बसेको बैठकमै पाकिस्तानले मार्चमा साग आयोजना गर्न नसकिने भन्दै पाकिस्तानमा निर्वाचन पछि प्रतियोगिता आयोजना गर्न सकिने जनाएको थियो। त्यस्तै केही खेलहरु थप्नेलगायतका प्रस्ताव पनि लगेको थियो। पाकिस्तान ओलम्पिक कमिटीले चुनाव सकेर ३ महिना भित्र प्रतियोगिता आयोजना गर्ने योजना बनाएको थियो। सिआलकोट, इस्लामावाद, लाहोर, फैसलाबाद र गुजरनवालामा गरि पाँच शहरहरुमा साग गराउने तयारी पाकिस्तानको थियो। चुनाव यही अक्टोबरसम्ममा गराउने तयारी चलिरहेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।

तर, १४ औँ सागको मिति पछाडि सरिरहँदा एसियली खेलकुदसँग पनि मिति जुध्ने देखिएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले  २०२३ को सेप्टेम्बरदेखि अक्टोबरसम्म चीनमा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो।  

त्यसैले, २०२२ को अक्टोबरमा बसेको बैठकले साग २०२४ को मार्चसम्म गराउन नसकिने निष्कर्ष निकालेको थियो। त्यसताका पाकिस्तानले सरकारसँग समन्वय गरेर नयाँ मिति दिनसक्ने बताएको थियो।  

आर्थिकदेखि राजनीतिक संकटले साग अन्योलमा

पाकिस्तान अहिले आर्थिक संकटसँग गुज्रिरहेको छ। खाद्यान्नदेखि इन्धनसम्मको मूल्यमा चर्को बृद्धि हुँदा जनजीवनमा असर परेको छ। सरकारको आलोचना पनि त्यतिकै भइरहेको छ। आर्थिक संकटसँगै गुज्रिरहँदा राजनीतिक संकट पनि गहिरिँदो छ। पूर्वप्रधानमन्त्री इमरान खानलाई आसन्न निर्वाचनमा प्रतिस्पर्धाबाट हटाउनका लागि शहबाज शरीफ सरकार लागि परेको छ।

खानलाई पक्राउ गर्न केही साताअघि लाहोरस्थित उनको घरमा प्रहरी पुगेको थियो। तर, खान समर्थकले उनीहरुलाई प्रवेश गर्नै दिएनन्। प्रहरी र समर्थकबीच २४ घण्टाभन्दा बढी संघर्ष चल्यो। र, प्रहरी पछि हट्यो। खानलाई पक्राउ नगर्नका लागि अदालतले आदेश दिए पनि राजनीति संकट समाधान हुन सकेको छैन। खानलाई अझै पनि चुनाव लड्नबाट बञ्चित गराउने प्रयास भइरहेको छ।

खानको पार्टीले आर्थिक अवस्थाको मुद्धालाई पनि उठाइरहेको छ। यहीँ विषयलाई लिएर विभिन्न समय प्रहरी र खान समर्थन भिडिसकेका छन्। अहिले चुनाव नै हुने कि नहुने वा भए पनि त्यसबाट उत्पन्न हुने राजनीतिक परिस्थिति कस्तो हुन्छ भन्ने विषय अहिले नै भन्न सकिन्न। त्यसैले पनि पाकिस्तान अहिले सागको बारेमा चासो राखिरहेको छैन। चुनावपछि परिस्थिति अनुकूल भएको खण्डमामात्रै पाकिस्तानले साग आयोजना गर्न पहलकदमी लिने देखिन्छ।

राजनीतिक अस्थिरतासँगै बढ्दो आर्थिक संकटले पनि सागमा असर पर्ने देखिन्छ। शहबाज सरकारले खेलकुदको बजेट संचालनका लागि कडाइ गरेको छ। जसका कारण प्रतियोगिता आयोजनामा थप दबाब बढ्ने देखिन्छ। धेरै कारणहरुका कारण पाकिस्तानमा साग हुने विषय अन्यौलमै रहेको सरोकारवालाहरु बताउँछन्।

'यस्तो अवस्थामा छ कि पाकिस्तानले सक्छौँ हामी तयारीमा छौँ भन्छ। उनीहरुको चुनाव आउँदैछ,' नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ भन्छन्, 'त्यो चुनाव डिक्लेयर भएपछि अर्को मिति दिन्छौँ भन्छ। अहिले देखिएको चाहिँ साग गेम्स अन्योलमै छ।'

 नयाँ मोडल बहसमा

पाकिस्तानमा १४ औं साग हुने सम्भावना कम देखिँदै जाँदा फरक मोडलबारे बहस चलिरहेको बताउँछन् महासचिव श्रेष्ठ।

'पाकिस्तानले गर्छ/गर्दैन या गर्न सक्छ/सक्दैन भन्ने कुरा भएकाले साउथ एसियन ओलम्पिक काउन्सिलले अर्को एउटा मोडल सोच्नुपर्ने बाध्यता भएको भन्ने कुरा आएको छ,' श्रेष्ठले भने।

पाकिस्तानले गर्न नसक्ने भए कसले आयोजना गर्ने त?

'भुटानले साग गर्न सक्दैन। माल्दिभ्सले पनि सक्दैन। भनेपछि भारत पाकिस्तानको अवस्था उही हो। बंगलादेश सबै किसिमले तयार थियो, त्यहाँ पनि राष्ट्रिय चुनावको कुरा छ। त्यो नभइकन हुन नसक्ने भयो,' महासचिव श्रेष्ठ भन्छन्, 'भारतलाई चासो नै छैन। श्रीलंका तयार हुन्थ्यो। उनीहरु तर यसपाला उनीहरु तयार छैन।'

यसो हुँदा नयाँ मोडलमा दक्षिण एसियाली खेलकुदलाई लैजाने तयारी चलिरहेको हो।

'हामीलाई चाहिने भनेको ठूलो तामझाम गरेर ओपनिङ र क्लोजिङ होइन। हामीले चाहेको सबै खेलको च्याम्पियनसीप हो,' बहसमा आएको नयाँ मोडलबारे उनी भन्छन्, 'विभिन्न च्याम्पियनसीपहरु बाँड्ने कुन देशले कुन च्याम्पियनसीप गर्न सक्छ भनेर। अनि यही साग गेम्सको छातामुनी प्रतियोगिताहरु आयोजना गर्ने भन्ने नयाँ मोडलबारे कुरा आइरहेको छ।'

यसबारे काउन्सिलको बैठक बसेर 'फाइनल' गर्ने श्रेष्ठले बताए।

'त्यो बैठकपछि एउटा मिति निर्धारण हुन्छ। तामझाम गरेर ठूलो प्रतियोगिता आयोजना गर्दा देशको राजनीति आर्थिक अवस्थाले असर गर्छ,' उनले भने, 'साउथ एसियन च्याम्पियनसीपलाई गेम्सकै नाममा विभिन्न देशले विभिन्न प्रतियोगिता गर्ने योजना छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell