
काठमाडौं : पोखरा-धौलागिरी उडान गरेको हेलि एभरेष्टको हेलिकप्टर अवतरणका क्रममा ठोक्किएको छ। कार्गो उडान रहेको हेलिकप्टरमा क्षति भएपनि चालक दल सुरक्षित रहेको नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले बताए।
हेलिकप्टर पाइलट प्रिया अधिकारीको कमाण्डमा थियो। अल्फा नोभेम्बर ब्राभो कलसाइनको हेलिकप्टर एक्कासी सम्पर्कविहीन भएको जानकारी कम्पनीमा आएको हो।
त्यसपछि हेलि एभरेष्टले एयर डाइनेष्टीको हेलिकप्टर घटनास्थलमा परिचालन गरेको थियो।
‘हेलि एभरेष्टको हेलिकप्टर भित्तामा ठोकिएको जानकारी आएको छ। हेलिकप्टरमा क्षति भए पनि चालक सकुशल रहेको कम्पनीबाट जानकारी आएको छ’, प्राधिकरणका एक पदाधिकारीले भने, ‘घटनास्थलमा आधा घण्टा अगाडि निरीक्षणका लागि एयर डाइनेष्टीको हेलिकप्टर पठाइएको छ।’
पोखरा विमानस्थल प्रमुख विक्रमराज गौतमले ११ बजे उडेको हेलि एभरेष्टको हेलिकप्टरको सञ्चार सम्पर्क विमानस्थल टावरसँग टुटेको थियो।
‘त्यो उडेको हेलिकप्टर सम्पर्कविहीन भएपछि एयर डाइनेष्टीको हेलिकप्टरलाई त्यसतर्फ पठाइएको हो, त्यसपछि जानकारी आइसकेको छैन,’ उनले भने।