काठमाडौं : सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा गरेका चार प्रहरीले आइतवार दर्ज्यानी चिन्ह लगाएका छन्।
सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङले एआईजीको दर्ज्यान्ही चिन्ह लगाएका हुन्। उनीहरुलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले दर्ज्यान्ही चिन्ह लगाएका हुन्। चैत १३ गते गृह मन्त्रालयको बढुवा समितिको बैठकले उनीहरुलाई सिफारिस गरेको थियो।
डीआईजी मीरा चौधरीले दर्ज्यान्ही चिन्ह लगाएसँगै नेपाल प्रहरीमा प्राविधिक बाहेक दुई महिला एआईजी भएका छन्। नेपाल प्रहरीको इतिहासमा पहिलो पटक उच्च पदमा दुई महिला प्रहरी पुगेका हुन्। केही साता अघि सरकारले किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको थियो। उनी हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा कार्यरत छिन्। नेपाल प्रहरीको इतिहासमा यसअघि प्राविधिक बाहेक एआइजीमा पूजा सिंह मात्रै पुगेकी थिइन्। तर, दुई जना महिला प्रहरी भएको पहिलो पटक हो।प्राविधिकबाहेक हाल नेपाल प्रहरीमा ८ जना एआईजी छन्। जसमा दुई महिला एआईजी भएका हुन्। त्यस्तै प्राविधिकतर्फ एक जना महिला एआईजी छिन्। नेपाल प्रहरीको प्रहरी अस्पतालमा प्रमुखको रुपमा डाक्टर आशा सिंह एआईजीका रुपमा कार्यरत छिन्। यसरी हेर्दा नेपाल प्रहरीमा अहिले तीन जना महिला प्रहरी एआईजी छन्।