काठमाडौं : 'दुई/तीन जना छुट्टै छन्। पार्टीलाई धेरै सहयोग गर्ने, रवि सरलाई। त्यो टिमबाट मलाई कुरा आएको हो। आज नै फिक्स गर्नुपर्छ पैसा। उधारो हुँदैन भन्छन् फेरि। दुई साढे २ भन्छन्। मैले १ दिए पनि मान्छन् होला। चेक दिए पछि पनि मान्छन् होला'
परम्परावादी राजनीतिक दलबाट मुलुकलाई मुक्ति दिने उद्घोषसहित संसदमा बलियो उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक सांसद ढाकाकुमार श्रेष्ठ र विवादित व्यवसायी दुर्गा प्रसाईबिचको टेलिफोन संवाद हो यो। मन्त्री बन्ने र विवादित मेडिकल कलेजलाई अनुमति दिने सन्दर्भमा २ करोड रुपैयाँ मागेको प्रष्ट छ यस संवादमा।
कपुरबोट मिडियाले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँगको अडियो संवाद सार्वजनिक गरेको हो। उक्त अडियोमा श्रेष्ठले आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको र स्वास्थ्य मन्त्री बन्न २ करोड चाहिने बताएका छन्।
रवि लामिछानेलाई दिने भन्दै रास्वपाका सांसदले गरे दुर्गा प्रसाईसँग २ करोडको डिल
प्रसाईले आफूले २ करोड दिने वाचा गरेको उक्त अडियोमा सुन्न सकिन्छ। प्रसाइले उक्त संवादका क्रममा सभापति रवि लामिछानेलाई नै पुग्छ पैसा भनेर श्रेष्ठलाई बारम्बार प्रश्न गरेका छन्। जवाफमा रवि लामिछानेलाई भन्दा पनि उनी निकटबाट कुरा आएको श्रेष्ठले बताएका छन्।
रास्वापाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त अडियो अहिलेको नभएको बताए। पार्टीले समानुपातिकबाट सांसद बनेका श्रेष्ठलाई निलम्बन गर्ने निर्णय गरेको छ।
घुसमा नयाँ होइन अडियो प्रकरण
सांसद श्रेष्ठ जस्तै अन्य मन्त्री तथा सांसदको अडियो संवाद यसअघि बारम्बार सार्वजनिक हुँदै आएको छ। तात्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रेसको कमिसन प्रकरणमा ७० करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएको थियो। अडियो टेप सार्वजनिक भएसँगै उनले 'नैतिकताका आधारमा' राजीनामा दिए। उनले स्वतन्त्र रुपमा अनुसन्धान गर्न सघाउने भन्दै राजीनामा दिएका थिए।
'टेप काण्ड' का कारण केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलका शक्तिशाली मन्त्रीको बहिर्गमन भयो। रास्वपाको आज सार्वजनिक भएको टेप प्रकरणले सामाजिक संजालमा यसअघिका रेकर्ड भएका संवादलाई पुन: चर्चामा ल्याएको छ।
तत्कालीन नेकपा माओवादीका नेता कृष्णबहादुर महराले २०६७ साल भदौ १८ गते एक चिनियाँ नागरिकसँग निर्वाचनका लागि ५० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो। अडियो भारतबाट चल्ने नेपाली भाषाको टिभी च्यानल ‘नेपाल वान’ले सबैभन्दा पहिला प्रसारण गरेको थियो।
अडियोमा महराले प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरीद गर्नुपर्ने र त्यसका लागि ५० करोड नेपाली रुपैयाँ आवश्यक परेको चिनियाँसँग समक्ष भनेको सुनिएको थियो।
अडियो संवादमा महराले चिनियाँ नागरिकलाई ५० करोडका लागि आफू सिंगापुर, हङकङ र चीनको छेन्दु शहरमा बैठकका लागि आउन तयार रहेको समेत जनाएका थिए।
त्यतिबेला महरा कुनै पनि पदमा थिएनन्। टेप सार्वजनिक भएपछि उनीमाथि न अनुसन्धान भयो न कुनै कारवाही नै। उल्टै उनको राजनीतिक प्रमोसन भयो। महरा सभामुख बने। तर, गत असोजमा एक महिलामाथि बलात्कारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिए। करिब तीन महिना जेलको जेल बसाई पछि उनले केही दिन अघि मात्रै सफाइ पाएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक नै भष्टाचार मुद्दामा मुछिए जसमा टेप प्रकरण नै कारण बन्यो। नेपाल इन्जिनियरिङ कलेजको मुद्दा मिलाउन भन्दै नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख घुस लिएको टेप बाहिरियो। पटक–पटक गरी विभिन्न व्यक्तिमार्फत् ७८ लाख रुपैयाँ घुस दिएर पनि पाठकले काम नगरिदिएपछि घुस दिने समूहले उनको भिडियोसमेत खिचेको थियो।
घुस लिएको आरोपपछि पाठकले २०७५ फागुन ३ गते राजीनामा बुझाएका थिए। पाठकविरुद्ध अख्तियारले नै गत चैत १२ गते मुद्दा दायर गरेको थियो।
अख्तियारले घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएर विशेष अदालतमा अभियोग पत्र बुझाइएको थियो। पाठक गत १ गते ७८ लाख धरौटीमा छुटेका थिए। तर विशेष अदालतले दुई साताअघि घुस खान खोजेको अभियोगमा सजाय सुनाएको छ।
राजनीतिक दल र अख्तियारका अधिकारीमात्र होइन न्यायाधीशहरुको सन्दर्भमा पनि टेप बाहिरिएको छ। व्यावसायी तथा पूर्वमन्त्री इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँगको १० करोड रुपैयाँको बार्गेनिङ गरेको अडियो बाहिरिएपछि न्याय परिषद्ले अनुसन्धान थालेको थियो।
त्रिभुवन विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरको पनि रकम बार्गेनिङको अडियो बाहिरिएको थियो। त्यसपछि मन्त्रालयले उनलाई निलम्बन गर्यो।
तर यसरी टेप बाहिरिए पनि राजनीति दलले उनीहरुको संरक्षण गर्दै मुद्दा कमजोर बनाउँदै आएका छन्।