PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

रविसमेत मुछ्दै सार्वजनिक भएको टेपमा अरुको पनि नाम, ओलीदेखि तोसिमासम्म के के भयो कुराकानी? (संवादको पूर्ण पाठ)



पहिलोपोस्ट

रविसमेत मुछ्दै सार्वजनिक भएको टेपमा अरुको पनि नाम, ओलीदेखि तोसिमासम्म के के भयो कुराकानी? (संवादको पूर्ण पाठ)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न २ करोड डिल गरेको खुलेको छ। विवादित मेडिकल ब्यावसायी दुर्गा प्रसाईसँग श्रेष्ठले २ करोड मागेको अडियो कपुरबोट मिडियाले सार्वजनिक गरेको हो। पार्टीका सभापति रवि लामिछानेलाई मुछ्दै भएको संवादमा आफू मन्त्री बन्ने भन्दै श्रेष्ठले २ करोड मागेको सुनिन्छ। उक्त संवादमा प्रसाईले आफ्ना लागि काम गरिदिनुपर्ने शर्त राखेका छन्। प्रसाईको लागि काम गर्ने श्रेष्ठको वाचा छ। उक्त वाचा गरेपछि प्रसाईँले पनि २ करोड दिने ग्यारेन्टी गरेका छन्।

सभापति लामिछानेलाई उनी निकटहरुबाट बुझाउने पनि श्रेष्ठको भनाइ छ। पुस ११ गते भएको मन्त्रिपरिषद बिस्तारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै रास्वपाका सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री भएका थिए। तर, नागरिकता विवादमा उनको सांसदसँगै मन्त्री पद गएको थियो। स्वास्थ्य मन्त्रालयका लागि रास्वपाले दाबी गरे पनि स्वास्थ्य राज्यमन्त्रीमा चित्त बुझाएको थियो भने राज्यमन्त्रीमा तोसिमा कार्की पुगेकी थिइन। रास्वपाले स्वस्थ्य नपाएपछि ढाकाकुमार स्वस्थ्यमन्त्री पनि भएनन्।

प्रसाई र श्रेष्ठबिचको पूरा संवाद पढ्नुस् -

दुर्गा प्रसाई : नमस्ते के छ हालखबर?

ढाकाकुमार : ठीक छ सर। मैले फोन गरेको उठेन। म पनि भर्खरभर्खर उठेको।

दुर्गा प्रसाई : राति मैले पनि फोन अफ गरेँ। फोन अफ भनेको म पनि सुत्न टाइम हुँदा चार्जमा राखेर सुतेँ। अनि नि खासै कुरा के हो मलाई अलिकति भन्नुस त डक्टर साप्।

ढाकाकुमार : स्वास्थ्य हामीले पाउने भयौं। पार्टीलाई अलि अलि सहयोग गर भनेर कोर टिम छ दुई तीन जनाको। दुई जति चाहियो। साढे २ जति चाहियो भन्दै थिए मलाई हिजो। मेरो चाहिँ पक्का भयो। त्यो फिक्स गर्नुछ के सर। आर्थिक हिसाबले म त्यस्तो छैन। मन्त्री पनि बन्नुपर्‍यो। अब धोइ पखाली स्वास्थ्य क्षत्रको सुधार पनि गर्नु छ। मैलै धेरै गर्छु भनेर सोच गरेको छु। त्यसमा हजुरहरुको पनि सहयोग/सपोर्ट चाहियो भन्ने कुरा हो।

दुर्गा प्रसाई : डक्टरसाप रास्वपामा त डाक्टर भनेको तोसिमा कार्की मात्रै छन् भन्ने बुझ्या थेँ।

ढाकाकुमार : हैन हामी ३ जना थियौं। म भए, तोसिमा भइन्। अनि चन्दा कार्की।

दुर्गा प्रसाई : ए... साच्चै चन्दा म्याम पनि हुनुहुन्छ त है।

ढाकाकुमार : अँ, हजुरले पनि चिन्नुहुन्छ होला।

दुर्गा प्रसाई : डक्टरसापको घर कता रे?

ढाकाकुमार : मेरो पोखरा हो सर।

दुर्गा प्रसाई : अनि एमबीबीएस कहाँ गरेको त?

ढाकाकुमार : मैले चाइनामा।

दुर्गा प्रसाई : अनि एमडी?

ढाकाकुमार : एमडी अहिले मैले गरेको छैन। एमबीबीएस मात्रै हो। पछि पढ्ने भन्दा भन्दै पोलिटिक्स तिर आएँ।

दुर्गा प्रसाई : धेरै ठूलो समस्या स्वास्थ्यमा हैन डक्टरसाप। देशमा भएका नर्सिङ कलेज सबै बन्धक बनाए। आज नर्स पढ्न पाउँदैनन्। जहिले भनेका छु दुबईका डान्स बारमा हाम्रा चेलिबेटीले डान्स गर्नुभन्दा नर्स पठाउँ। हो कि हैन्?

ढाकाकुमार : हो नि त।

दुर्गा प्रसाई : मैले त डाक्टर उत्पादन गरौं। बरु सय वटा मेडिकल कलेज खोलौं। विदेशबाट विद्यार्थी ल्याउँ पढाउँ। हस्पिटल फ्रि गरौं। कति राम्रो कुरा गरेको मैले। डक्टर सापको नाम ढकबहादुर के?

ढाकाकुमार : ढाकाकुमार श्रेष्ठ।

दुर्गा प्रसाई : अच्छा। मैले त्यो कुरा बुझे। सल्लाह गरेर अघि बढौला। फेरि तपाईँसँग म एउटा कुरा भन्न खोजेको। हामी त ह्वाटसपमा छौं, मतलव भएन। अनि मुकुलहरुले त नलिने भन्थे त स्वास्थ्य, शिक्षा।

ढाकाकुमार : मुकुलजीलाई त्यति थाहा छैन। आन्तरिक कुरा हो सर। मुकुल कोर टिममा हुनुहुन्न। महामन्त्री नि हो। पार्टीको कुरा गर्दाखेरी २/३ जना छुट्टै हुनुहुन्छ। पार्टीलाई धेरै सहयोग गर्ने। सुरुवाती क्षणबाटै रवि सरलाई सहयोग गर्ने। त्यो टिमबाट मलाई कुरा आएको हो। आज मैले फिक्स गर्नुपर्छ पैसा। उधारो हुन्न भन्छन् फेरि।

दुर्गा प्रसाई : २ करोड?

ढाकाकुमार : दुई, साढे दुई भनेका छन्। एक दिए पनि मान्छन् होला। चेक दिए पनि मान्छन् के, एक दुई दिनको।

दुर्गा प्रसाई : आज त बन्द छ नि त। सुन्नुस् है कुरा। ९ लाख ९९ हजार भन्दा माथिको चेक साटिँदैन। सुन्नुस कुरा। क्लिएर कुरा। एउटा टाइम राखेर गर्दिनु भनेपछि गर्छु। तपाईँले भनिहाल्नु भो। भोलि मेरो पनि काम गर्नुपर्छ तपाईँले।

ढाकाकुमार : त्यो त मैले गर्छु। मलाई त दिक्क लाग्छ गोविन्द केसी देखेर। कहिले मर्छ जस्तो लाग्छ मलाई त। एमबीबीएस पढ्न नपाएको पनि तिनले गर्दा हो जस्तो लाग्छ।

दुर्गा प्रसाई : मैले मेरो छोरीलाई जापान पठाउनुपर्‍यो। टोकियो युनिभर्सिटीमा तीन तीन करोड तिरेर।

ढाकाकुमार : त्यही त सर। यो बेथिति छ।

दुर्गा प्रसाई : मेरो त हेर्नुस् न। म त कति मरेको छु तपाईँको चाइने। मेरो मेडिकल कलेज सबै भौतिक पूर्वधार पुगेको काठमाडौं उपत्यका बाहिर मेची अञ्चलमा। ल भन्नुस त। ३२ लाख पपुलेसन छ। म त डुबेको छु कि छैन? भन्नु त म त मर्न मात्रै बाँकी छ।

ढाकाकुमार : यो हटाउनुपर्छ सर। यो पनि समस्या समाधान गर्नुपर्छ सर।

दुर्गा प्रसाई : शिक्षा चाहिँ कसले लिने भयो सर?

ढाकाकुमार : शिक्षा चाहिँ हामीलाई परेन सर।

दुर्गा प्रसाई : शिक्षा चाहिँ हजुरबुवा (केपी ओली)ले राखे होलान्।

ढाकाकुमार : अँ। सायद राख्नु भयो होला।

दुर्गा प्रसाई : किन भने यसपाला मलाई एफिलेसन पनि दिनुपर्ने छ हजुरबुवाले। सबै कुरा सकिएको छ के। काठमाडौं युनिभर्सिटीले नि तपाईँको एफिलेसन दिएको छ। सिट मात्रै तोकेको छैन। त्यो नारायणकाजीको मान्छे हो नि। त्यो गिरी।

ढाकाकुमार : ए...। हजुर हजुर। हजुर निश्चिन्त हुनुस्। अब काम मिलेर गर्ने हो तपाईँ र म।

दुर्गा प्रसाई : भोली केपी ओली झापा आउँदैहुनुहुन्छ २ गते (माघ २)। आज त छुट्टी भैगो। म भोलि बेलुका हजुरबुवासँगै काठमाडौं आउँछु। अनि तपाईँ र म भेटुला। तपाईँको यो ग्यारेन्टी गर्नुस्। अब तपाईँलाई गर्ने सहयोग म गर्छु। तर, अलिकति टाइम लाग्छ है पैसा मिलाएर निकाल्न पर्छ। त्यतिकै निस्किँदैन हचुवामा। बैंकले अहिले त पैसा सबै सिस्टममा खोज्छ के। त्यति सजिलो हुँदैन। बाकसमा पैसा लिएर त गाह्रो छ। त्यो चाहिँ कसैले पनि दिन सक्दैन। आजको आजै पैसा। नेपालमा कसैले सक्दैन।

ढाकाकुमार : त्यही त।

दुर्गा प्रसाई : हिजो पुस मसान्त। हिजो बैंकको व्याज बुझाइयो।

ढाकाकुमार : अँ हजुरलाई पनि सार्है गाह्रो होला है? विचरा।

दुर्गा प्रसाई : गाह्रो छ नि। पुस मसान्त व्याज बुझाए। मेरो स्वास्थ्य बिमाको १४/१५ करोड पैसा अझै दिएको छैन। स्वास्थ्य बिमाले अढाइ वर्षदेखि।

ढाकाकुमार : बिमा पनि अहिले नेपालमा १२ अर्बको लगानी हुँदो रहेछ।

दुर्गा प्रसाई : होइन बिमा कसरी लागू गर्ने म तपाईँलाई भन्दिन्छु। तपाईँले अब के ग्यारेन्टी गर्नुस् भने २ करोड रुपैयाँ पैसा मैले दिने भएँ तपाईँलाई। यो पैसा पनि तपाईँले रविलाई त बुझाउनु पर्ला नि हैन?

ढाकाकुमार : अँ। मैले रवि सरलाई भन्दा पनि रवि सर देखा पर्नु भएको छैन। बाहिरको दुई जना, तीन जना साथीहरु हुनुहुन्छ। उहाँहरुलाई दिने हो। पार्टीलाई जान्छ भनेका छैनन् क्यारे।

दुर्गा प्रसाई : अब सबै कमाउने त हुन् भाइ। अब के गर्नु?

ढाकाकुमार : अब कसरी गर्छन् थाहा छैन। पार्टीमा जान्छ कि जान्न। त्यो पनि मलाई थाहा छैन। मैले सोचेकै छैन। पार्टी कमजोर छ। सुरुवाती चरणमा छ मात्रै भनेका छन्।

दुर्गा प्रसाई : ए... ल सर। ठीकै छ म भोलि बेलुका नभए पर्सि आउँछु। अनि दाजुभाइ भेटौला नि त। तपाईँले ग्यारेन्टी गर्नुस् म दिन्छु भनेर। तर, मलाई अलिकति टाइम चाहियो भन्नुस्।

ढाकाकुमार : अँ...। हुन्छ म त्यही कुरा गर्छु सर। हजुर भोलि आउनुहुन्छ बेलुका?

दुर्गा प्रसाई : हजुर बुवा आउने भएर बस्नु पर्‍यो के। अनि म भोलि आउँछु है, डक्टरसाप।

ढाकाकुमार : हस। हस सर।

दुर्गा प्रसाई : तपाईँलाई मैले एउटा कुरा के ग्यारेन्टी गरेँ भने २ करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ। तपाईँलाई म सजिलो बाटो देखाइदिन्छु। त्यो आएर म मिलाउँछु। त्यसमा पीर नगर्नुस्। उनीहरुसँग टाइम माग्नुस्। म दिन्छु भनेर भन्नुस्। सक्कियो कुरा। तपाईँ र म एक ठाउँमा भेट्नुपर्छ। भेटिरहनु पनि पर्दैन। फोन पनि गर्नु पर्दैन। म जति भिडेको छु नि स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ र? कुरा बुझ्नु भएन? तपाईँलाई मैलै आइडिया दिन्छु। यो दुई करोडको ग्यारेन्टी भयो। तपाईँ अघि बढ्नुस्। अब तोसिमा कार्कीले फेरि लडाई त गर्दिनन् नि तपाईँसँग?

ढाकाकुमार : हैन. गर्दिनन्, गर्दिनन्। केही समस्या छैन। त्यो टिमले गरेपछि सकियो। हामीले रवि सरलाई म्यान्डेट दिएका छौं। उहाँले जसलाई राख्नु भयो, राख्नु भयो।

दुर्गा प्रसाई : तोसिमाले पैसा निकाल्न पनि सक्दिनन्। तोसिमाले पैसाको कुरो गर्न सक्दिन् किन भन्नु न। गोविन्द केसीको मान्छे भनाएको छ। उसले कहीँ कुरा गर्न मिल्दैन। उसँग डराउँछ।

ढाका कुमार : तिनी मन्त्री भइन् भने पनि काम पनि छैन।

दुर्गा प्रसाई : हस हस डक्टर साप।

ढाकाकुमार : हस नमस्ते।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell