PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

२०७९ मा रिलिज भए ‘ए मेरो हजुर ४’देखि ‘बहाव’सम्म : यी हुन् सर्वाधिक कमाई गर्ने नेपाली फिल्महरु



लक्ष्मी बलायर

२०७९ मा रिलिज भए ‘ए मेरो हजुर ४’देखि ‘बहाव’सम्म : यी हुन् सर्वाधिक कमाई गर्ने नेपाली फिल्महरु

काठमाडौं : २०७९ साल नेपाली फिल्म क्षेत्रको लागि सुखद वर्ष नै मान्न सकिन्छ। किनकी कोरोना महामारीबाट दुई वर्ष थला परेको फिल्म क्षेत्र यस वर्षबाट पुरानै लयमा फर्केको छ।

२०७९ बैशाख १ गते ‘ए मेरो हजुर ४’ रिलिज भएसँगै योवर्षको सुरुवात भएको थियो। चैत २४ गतेबाट प्रदर्शन भएको ‘बहाव’ सँगै यस वर्षको रिलिज सेड्युल सकिएको छ।

यो वर्ष जम्मा ४७ वटा नेपाली फिल्महरु प्रदर्शनमा आएका छन्। जसमध्ये ‘कबड्डी ४’ देखि ‘छक्का पञ्जा ४’ यसवर्ष व्यावसायिक हिसाबले सफल हुने फिल्मको सूचीभित्र अटाउन सके। यस्तै, ‘ऐना झ्यालको पुतली’, ‘प्रकाश’, ‘चिसो मान्छे’, ‘दोख’, ‘पानीफोटो’ र ‘द सेक्रेट अफ राधा’ जस्ता फिल्महरु भने समीक्षात्मक हिसाबले उत्कृष्ट ठहरिए।

रोचक के छ भने यसवर्ष हिट हुने फिल्मभित्र सिक्वेल र कमेडी जनराका फिल्महरु नै बढी छन। यी हुन् २०७९ सालमा बक्सअफिसमा सफल हुने फिल्महरु :

कबड्डी ४ : द फाइनल म्याच

गत जेठ १३ गते प्रदर्शन भएको रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ यसवर्ष सबैभन्दा बढी कमाउने फिल्म हो। यस फिल्मले नेपालभरिबाट २४ करोड कमाइ गरेको थियो।

अघिल्ला सिरिजको सफलता र अन्तिम पार्ट भएकाले पनि यो फिल्म दर्शकको रोजाइमा पर्न सक्यो। साथै, यस फिल्मले ‘छक्का पञ्जा ३’को रेकर्ड तोड्दै नेपालकै सर्वाधिक ग्रस गर्ने फिल्म बन्न सफल भयो।

यसअघि ‘छक्का पञ्चा ३’ ले २० करोड कमाउँदै पहिलो स्थान ओगटेको थियो। मणिराम पोखरेल निर्माता रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ।

छक्का पञ्जा-४

हेमराज बिसी निर्देशित ‘छक्का पञ्जा ४’  पनि यसवर्ष सर्वाधिक कमाई गर्ने फिल्मको दोस्रो सूचीमा पर्छ। फागुन १९ गतेबाट प्रदर्शन भएको यो फिल्म हाल छैटौँ सप्ताहमा चलिरहेको छ। वितरक मनोज राठीका अनुसार यस फिल्मले २१ करोड कलेक्सन गरिसकेको छ।

आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता दीपक-दीपा हुन्। यस फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, दीपाश्री निरौला, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ। फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन्।

प्रेमगीत-३

प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको ‘प्रेमगीत ३’ पनि यसवर्षको हिट फिल्ममा पर्छ। गत असोज ७ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले नेपालको बक्सअफिसमा १४ करोड ७८ लाख कलेक्सन गर्न सफल भयो।

नेपालका साथै हिन्दी भाषामा रिलिज भएको यो फिल्म ४ करोड बजेटमा निर्माण भएको थियो। विदेशबाट भने यस फिल्मले ८ करोड बढीको व्यापार गरेको निर्माता सन्तोष सेनले बताए।

स्वर्गीय छेतन गुरुङ र सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप र क्रिस्टिनाका साथै सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ।

महापुरुष

प्रदीप भट्टराई निर्देशित फिल्म ‘महापुरुष’ पनि यसवर्षको सफल फिल्मभित्र पर्छ। कात्तिक ११ गतेबाट प्रदर्शन भएको फिल्मले नेपालभरि १० करोड बढीको व्यापार गरेको थियो। २ करोड लगानीमा निर्माण भएको फिल्मले विदेशमा पनि राम्रो कमाइ गरेको थियो।

भट्टराईकै लेखन रहेको ‘महापुरूष’को कथाले समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यंग गर्छ। म्याक्स् दिपेश खत्री निर्माता रहेको फिल्मको रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता हुन्।

फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट लगायतको अभिनय छ।

ए मेरो हजुर ४

झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ यसवर्षको सफल फिल्म हो। गत बैशाख १ गते यशराजको ‘केजीएफ २’ सँगै  रिलिज भएको यस फिल्मले बक्सअफिसमा ६ करोड हाराहारीमा व्यापार गरेको थियो।

डेढ करोड लगानीमा निर्माण भएको फिल्ममा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका थियो। सुनिल कुमार थापा निर्माता रहेको फिल्मको कथा झरना थापाले नै लेखेकी हुन्।

फूलबारी

रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ राम्रै कमाइ गर्ने फिल्ममा पर्छ। गत फागुन ५ गतेबाट प्रदर्शन भएको यस फिल्मले बक्सअफिसमा ६ करोडको व्यापार गरेको थियो।

कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्। पारिवारिक कथावस्तुमाथि बनेको फिल्मको निर्माता मनिष ढकाल हुन्।

फिल्ममा विपीन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनीष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ।

दुई नम्बरी

दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म ‘२ नम्बरी’ यसवर्षको सफल फिल्मभित्र पर्छ। गत असोज २१ गतेबाट रिलिज भएको फिल्मले नेपालभरि ५ करोड ग्रस गरेको थियो।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्म डेढ करोड बजेटमा निर्माण भएको थियो। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन र उपासना सिंह ठकुरी, वुद्धि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारहरूको अभिनय छ।

सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा दीपक मनाङ्गे, अमला देवी राई र जयश श्रेष्ठ निर्माता हुन।

के घर के डेरा

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘के घर के डेरा’ ले ५ करोड बढीको व्यापार गरेको थियो। कात्तिक ४ गतेबाट प्रदर्शन भएको फिल्म बक्सअफिसमा सफल फिल्मभित्र पर्छ।

२ करोड लगानीमा बनेको फिल्मको कथा सिंगे लामाले लेखेका हुन्। त्यसैगरी, फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ।

फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउतका साथै रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।

झिँगे दाउ

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगे दाउ’ पनि यसवर्षको राम्रो व्यापार गर्ने फिल्म हो। डेढ करोड लगानी नेपालभरि ५ करोडको ग्रस कलेक्सन गरेको थियो।

गत भदौ ३१ गतेबाट रिलिज भएको फिल्मले विदेशबाट पनि ४० लाख कलेक्सन गरेको निर्देशक देउजाले जानकारी दिए। भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित यस फिल्मले पारिवारिक दाउपेचको कथा समेटेको छ।

फिल्ममा प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद रहेको छ। फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell