PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

बैतडीका स्थानीय तहले फिर्ता गरे सुदूरपश्चिम प्रदेश सरकारले दिएका एम्बुलेन्स



रासस

बैतडीका स्थानीय तहले फिर्ता गरे सुदूरपश्चिम प्रदेश सरकारले दिएका एम्बुलेन्स
फाइल फोटो।

बैतडी : बैतडीका स्थानीय तहले सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता गरेका छन्। प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाले तीन वर्षमै फिर्ता गरेका हुन्।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ती दुवै स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराएको थियो। ग्रामीण सडकमा सञ्चालन गर्न समस्या भएको भन्दै ती एम्बुलेन्स फिर्ता गरिएको स्थानीय तहले जनाएको छन्।

पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बीना भट्टले एम्बुलेन्स बेलाबेलामा बिग्रने गरेका र मर्मतमा धेरै खर्च हुन थालेपछि फिर्ता गरिएको जानकारी दिइन्।

‘कार्यपालिकाको बैठकबाट निर्णय गरी एम्बुलेन्स मन्त्रालयलाई फिर्ता पठाएका हौँ’, उनले भनिन्, ‘ग्रामीण सडकमा सहजरुपमा सञ्चालन गर्न मिल्ने एम्बुलेन्स गाउँपालिका आफैँले खरिद गर्न लागेको छ।’

सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिकमा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो। पञ्चेश्वरको कुलाउ स्वास्थ्यचौकीले प्रयोग गर्दै आएको सो एम्बुलेन्स एक वर्षदेखि बिग्रिएर धनगढीमा थन्किएको थियो।

यस्तै, डिलासैनी गाउँपालिकाकाले पनि प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स मन्त्रालयलाई नै फिर्ता पठाउने निर्णय गरेको प्रवक्ता यज्ञ भट्टले जानकारी दिए।

‘मर्मत गर्न नसक्दा एम्बुलेन्स एक वर्षदेखि थन्किएको थियो’, उनले भने, ‘पालिकासँग जोड्ने सबै सडक कच्ची छन्, ती सडकमा एम्बुलेन्स सञ्चालन गर्न कठिनाइ भयो, अनि फिर्ता गर्ने निर्णयमा पुग्यौँ।’ डिलासैनीले रेडक्रस केन्द्रीय कार्यालयसँग नयाँ एम्बुलेन्सको माग गरेको छ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तीन वर्षअघि प्रदेशका १६ स्वास्थ्य संस्था तथा अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell