PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

भक्तपुरमा आजदेखि सुरु भयो बिस्काः जात्रा



पहिलोपोस्ट

भक्तपुरमा आजदेखि सुरु भयो बिस्काः जात्रा
फाइल फोटो।

काठमाडौं : आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ। तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ।

बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले जानकारी दिइन्।

उहाँले भन्नुभयो, ‘पूजापछि भैरवको रथ तान्न सुरु गरिने छ, यस वर्ष छिट्टै रथ तानेर गहिटी पुर्‍याउने लक्ष्य छ।’

पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो। विगत वर्षमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्‍याउने चलन थियो। यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पुर्‍याइ पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी छ।

रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न नदिने वलीले बताइन्। आजको जात्रा सम्पन्न भएपछि चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ।

आगामी बैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र बैशाख ५ गते अपराह्न ५ बजेसम्म रथ तानीसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको उनले बताइन्।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बिस्केट जात्रामा हुल दङ्गा हुन नदिन र शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गराउन आवश्यक तयारी गरिएको बताए। प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीका अनुसार जात्राका लागि झण्डै सात सय सुरक्षाकर्मी खटाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell