PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

प्रेममा असफल भएकाहरु पुग्छन् मकवानपुरको लटारम्मेश्वर!



निशा गुरुङ

प्रेममा असफल भएकाहरु पुग्छन् मकवानपुरको लटारम्मेश्वर!

हेटौंडा : मकवानपुरको धार्मिक पर्यटकीय स्थल लटारम्मेश्वर महादेवको मन्दिर अहिले निकै भाइरल छ। सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युबलगायतमा यहाँ खिचेको तस्विर, भिडियो भाइरल भइरहेको हो।

समुन्द्री सहतदेखि १ हजार ८ सय ५८ मिटर उचाई स्थित जंगलमा अङ्ग्रेजी अक्षको ‘डब्लु’ आकारको डाँडामा रहेको यस स्थान मकवानपुरको बकैया गाउँपालिकाको १२ नम्बर वडा र भीमफेदी गाउँपालिकाको ८ नम्बर वडाको सिमानामा पर्छ।

हेटौंडाबाट कान्तिलोकपथ हुँदै जाँदा करिब ४० किलोमिटर उत्तर क्षेत्रको यात्रापछि बकैया-१२ को खोरभन्ज्याङबाट र काठमाडौं उपत्यकाबाट कान्तिलोकपथ हुँदै आउँदा करिब ४३ किलोमिटर दूरीमा रहेको भीमफेदी-८ इपाको महादेवटारबाट करिब दुई घण्टाको जंगल पैदल यात्रा पश्चात लटारम्मेश्वर परिसर पुग्न सकिन्छ।

लटारम्मेश्वर मन्दिर परिसरमा पुग्न सहजताको लागि दुई स्थानमा करिब एक/एक सय मिटरको सिमेन्टको सिँडी तथा रेलिङसमेत बनाइएको छ। लटारम्मेश्वर डाँडामा गुफा भित्र मन्दिर रहेको छ।

गुफा बाहिर भने ठूलो घण्टी र मन्दिरको केही मिटरमाथि ठूलो त्रिशूल र पूजाआजा गर्ने स्थल समेत रहेको छ। विवाह बन्धनमा बाँधिएर पनि सन्तान नभएको र प्रेममा सफल नभएकाहरुले लटारम्मेश्वरको दर्शन गरे सफलता हाँसिल हुने स्थानीहरुको विश्वास रहेको छ।

महाभारत पर्वत श्रृङ्खलामा रहेको लटारम्मेश्वरबाट गणेश, मकालुलगायतका हिम श्रृङ्खला सजिलै देख्न सकिन्छ। छिन भरमै परिवर्तन हुने यहाँको चिसो हुस्सु र कुहिरो मौसम तथा यहाँबाट देखिने हिम श्रृङ्खलाले जोकोही पर्यटकको मन लोभ्याउँछ।

पौराणिक कथा अनुसार भगवान महादेवले आफ्नी पत्नी सतिदेवीले देहत्याग गरेपछि महादेवले उनको शरीर बोकर हिड्ने क्रममा सतिदेवीको जटा (टाउकोको कपाल) उक्त स्थानमा झरेर पतन भएको किम्बदन्ती रहेको छ।

हिमवत्खण्डको १०४ अध्यायमा लटारम्मेश्वर भगवान शिवको वर्णन छ। यही स्थानमा भगवान शिवले तण्डु ऋषिलाई ताण्डव नृत्य सिकाएर ताण्डव नृत्य लोकमा प्रचार गरेकोले यहाँको नामाकरण लटारम्मेश्वर महादेव भएको पौराणिक कथा छ।

सामाजिक सञ्जालमा भाइरल भएकै कारण यहाँ काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लाहरुबाट आन्तरिक पर्यटकको आइरो लागेपछि यसलाई धार्मिक पर्यटकीय स्थलको रुपमा पर्यटन विकास गर्न र प्रवर्द्धन गर्न दुवै गाउँपालिकाले चासो दिएका छन्। बकैया र भीमफेदी दुवैले लटारम्मेश्वरलाई प्रवर्द्धन गर्न पालिकाको नीति तथा कार्यक्रममै समावेश गरेर काम गर्ने तयारी गरेका छन्।

भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले यहाँको पर्यटनको विकासको लागि बृहत योजनासहित काम अघि बढाइएको बताए। अध्यक्ष लामाले धार्मिक पर्यटनलाई आर्थिक आय स्तरमा जोड्नु पर्ने बताए।

उनले यहाँ आउने पर्यटक सहजताको लागि सडक, खानेपानी र शौचालय निर्माणदेखि होम स्टे सञ्चालन गर्न यहाँका स्थानीयलाई तालिम र प्रोत्साहन गरेको बताए। गाउँपालिकाले यो वर्ष मन्दिर क्षेत्रको पूर्वाधार विकासको लागि ४० लाख रुपैयाँ विनियोजन गरेर खानेपानीको काम समेत सुरु गरेको अध्यक्ष लामाको भनाइ छ।

मन्दिर क्षेत्रमा बिजुलीको समस्या भएको र बिजलीको काम पनि चाँडै सम्पन्न गर्ने अध्यक्ष लामाले बताए।

‘मन्दिरसम्म आउनको निम्ति रेलिङ राख्ने काम गरेका छौँ। पहिला काठको भर्‍याङबाट अप्ठ्यारो ठाउँबाट आउनुपर्थ्यो’, उनले भने, ‘त्यसपछि हामी यहाँ ठूलो महादेव र सतिदेवीको मूर्तिहरु स्थापना गर्ने सँगसँगै यहाँसम्म आउने भक्तजनहरुलाई बस्ने सिटको व्यवस्था गर्ने र यहाँका युवाहरुलाई हामेस्टे सञ्चालन गर्न प्रोत्सहन गरि पर्यटन प्रवर्द्धन र साथसाथै रोजगारी सिर्जना गराउने उद्देश्यले गाउँपालिकाले योजनाहरु अगाडि बढाइरहेको छ।’

लटारम्मेश्वर मन्दिरमा नयाँ वर्ष र माघे संक्रान्तिको दिन मेला लाग्ने गर्छ। यहाँ मेला भर्नको लागि स्थानीयदेखि बाहिरी जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरका स्थानीयसम्म आउने गरेका छन्।

पछिल्लो समय काठमाडौं उपत्यकासहित हेटौंडा, तराईका जिल्ला बसोबासीहरु लागि छोटो ट्रेकिङ रुटसहितको उत्कृष्ट पर्यटकीय गन्तब्य बन्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell