काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र संकटमुक्त नभएको बताएका छन्। सोमबार नेपाल चेम्बर अफ कमर्शको ७२ औं साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सुधार उन्मुख भए पनि संकटपूर्ण अवस्थामा रहेको बताएका हुन्।
उनले आफू अर्थतन्त्रलाई सुधार गर्न सरकार प्रतिबद्ध रहेकोसमेत बताएका छन्।
'अर्थतन्त्रलाई सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध छ,' प्रचण्डले भने।
अर्थतन्त्रबारे अरु के बोले प्रचण्ड?
वैदेशिक लगानीका क्षेत्रहरू पहिचान गरि त्यस्तो क्षेत्रमा लगानी आकर्षित गर्ने गरि सरकारले काम गरिरहेको उनको भनाइ थियो। अर्थतन्त्र संचालनमा निजी क्षेत्रको ठूलो योगदान रहेको प्रचण्डले बताएका छन्।
'कूल लगानीमा करिब दुईतिहाइ योगदान गर्ने निजी क्षेत्रले मुलुकमा उत्पादन र रोजगारी बढाउन साथै आवश्यकीय वस्तु तथा सेवाको आपूर्ति गर्न अग्रणी भूमिका खेल्दै आएको छ,' उनले भने।
सरकारले नीति तथा योजना निर्माणमा निजी क्षेत्रसँग समन्वय गर्दै आएको उनले बताए। प्रचण्डले नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेतर्फ केन्द्रित रहेकोसमेत बताए। त्यसका लागि सरकार र निजी क्षेत्र दुवैबाट हुने लगानीलाई वृद्धि गर्नुपर्ने उनको भनाइ थियो।
'बहुआयामिक गरिवी १७.४ प्रतिशतमा झर्यो'
कार्यक्रममा नेपालको बहुआयामिक गरिवी १७.४ प्रतिशतमा झरेको प्रचण्डले दाबी गरे। उनले शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको र आधारभूत तहमा खुद भर्नादर ९५ प्रतिशत पुगेको समेत बताए।
'समग्र स्वास्थ्य सुविधाहरुमासमेत जनताको पहुँचमा वृद्धि भएको छ,' उनले भने।
लैंगिक सशक्तिकरणमा उल्लेख्य सुधार भएको, आधारभूत खानेपानी सुविधामा ९५ प्रतिशत जनसंख्याको पहुँच पुगेको पनि प्रचण्डले बताए। पूर्वाधार निर्माण र औद्योगिक क्षेत्रको विकासमा अझै बढी ध्यान पुर्याउन जरूरी भएको प्रचण्डले बताए।
अर्थतन्त्रको सुधार कसरी?
अर्थतन्त्र सुधारका लागि आफू नेतृत्वको सरकारले मन्त्रिपरिषदको पहिलो बैठकमै निर्णय गरेको पनि प्रचण्डले बताएका छन्
'पहिलो बैठकबाट नै चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रसँग सहकार्य गर्ने, निजी क्षेत्रमैत्री आर्थिक एवं मौद्रिक नीतिमा पहल गर्ने महत्वपूर्ण निर्णय गरेको थियो,' प्रचण्डले भने।
उनले अर्थतन्त्र सुधार गर्न व्यवसायी, वित्तीय संस्थाका प्रतिनिधि र आर्थिक क्षेत्रसँग सरोकार राख्नेसँग अन्तरक्रिया गरिरहेको दाबी गरे।
भने, 'देशको अर्थतन्त्र संकटबाट सुधारतर्फ उन्मुख हुनुमा सरकारका यिनै प्रयासहरू जिम्मेवार छन्। अर्थतन्त्रका आधारभूत सूचकहरू प्रारम्भिक रूपमा सकारात्मक दिशातर्फ बढिरहेका छन्।'
'गुणात्मक नीति कार्यक्रम'
प्रचण्डले यसपटक सरकारले गुणात्मक नीति कार्यक्रम ल्याउने बताएका छन्।
'परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ,' उनले भने।
विगतभन्दा गुणात्मक नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको भइरहेको भन्दै प्रचण्डले भने,'ताकि जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्, भविष्यमा आउने सरकारहरूले समेत त्यसबाट प्रेरणा लिन सकून्।'