काठमाडौं : नेकपा (एमाले)का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकको उनले यस्तो दाबी गर्दै त्यसबाट नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताए।
नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको दाबी उनले गरेका हुन्।
सांसद पन्तले भन्नुभयो, 'कुनै पनि बाह्य देशका सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपालभित्र पसेर यसरी खोजबिन गर्ने अधिकार दिएको छैन। नेपाल स्वतन्त्र सार्वभौम देश हो, यसले आफ्नो आत्मनिर्णयको अधिकार आफैँ प्रयोग गर्छ।'
उनले नेपाल–भारत खुला सिमाना अपराधको अखडा भएको भन्दै सीमा नियन्त्रण गर्ने र बाह्य हस्तक्षेप रोक्न सरकारको ध्यानाकर्षण गराए।
भारतीय पक्षले खालिस्तान अभियन्ता अमृतपाल नेपाल आएको भन्दै नेपाल सरकारलाई पत्र पठाएको थियो। हाल भारतमा अमृतपालको व्यापक खोजी चलिरहेको छ।