काठमाडौं : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राख्नुभएको जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले उक्त रुलिङ गरेका हुन्।
'विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ', घिमिरेले भने, 'प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरुको जवाफ दिन निर्देशित गर्दछु।'
आजको बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बर्दिया जिल्लामा बाघको आक्रमणबाट स्थानीयमा बढिरहेको असुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराएका थिए। उनले बाघ संरक्षणबारे स्पष्ट नीति र स्थानीयको सुरक्षाको माग गरे।
उनले भने, 'बर्दिया जिल्लामा बाघले मान्छेलाई आक्रमण गर्नेक्रम रोकिएको छैन। वन्यजन्तु संरक्षण सुरु भएयता संरक्षणकर्मी, सुरक्षाकर्मी र सर्वसाधारण गरी ४५० बढीले ज्यान गुमाइसकेका छन्।'
यस्तै, नेपाली कांग्रेसका सांसद धनराज गुरुङले रास्वपाका सांसद ढाका श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे प्रतिनिधिसभाभित्रै समिति बनाएर छानबिन गर्न माग राखेका थिए।
उनले भने, 'आजकै दिनमा यही बैठकबाट संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दछु।' सांसद गुरुङले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने आश्वासनमा ठगी गर्नेलाई समेत तत्काल छानबिन र दोषीलाई कारबाही गर्न मागसमेत गरे।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि रास्वपाका सांसद श्रेष्ठको विवादास्पद टेलिफोन रेकर्डबारे गठबन्धनका नेताहरु जवाफदेही हुनुपर्ने बताएका थिए। उनले भने, 'गठबन्धन सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको हो र ? गठबन्धनका नेताहरुले यस संसद्मा यसबारे बोल्नुपर्छ।'
यस्तै कांग्रेस सांसद अर्जुननरसिंह केसीले बजेट विनियोजनसमेत भएको टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाउन माग गरेका थिए। उनले सो सुरुङमार्ग नुवाकोट, रसुवा र धादिङको मात्र नभई उत्तरी छिमेकीसँग जोड्ने मार्गका रुपमा रहेको भन्दै तत्काल यसको निर्माण अगाडि बढाउन सरकारसँग माग गरेका हुन्।
'आर्थिक वर्ष २०७७-७८ मा ६ अर्ब ४२ करोड बजेट विनियोजन भए पनि अहिलेसम्म त्यसमा खोस्रने पनि काम भएको छैन। सरकारले गरेका वचनबद्धता र छुट्याइएको बजेटलाई एकातर्फ राखेर निर्माणको काम भएको छैन। यतातर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु', उनले भने।
सांसद उदय शम्शेर जबराले कान्ति लोकपथको निर्माण तत्काल सम्पन्न गर्न माग गरे भने सांसद उर्मिला माझीले लमजुङको बेंसीसहर–१ मा पर्ने बेंसीसहर–चामे सडकखण्डमा गइरहेको सुक्खा पहिरोबाट यात्रुले सास्ती खेप्नुपरेको भन्दै तत्काल पहिलो नियन्त्रणमा कदम चाल्न र मस्र्याङ्दी पारिबाट वैकल्पिक बाटो खोल्न आग्रह गरेकी थिइन्।
यस्तै, सांसद चित्रबहादुर केसीले वर्तमान सत्तागठबन्धनले ल्याएको न्यूनतम् साझा कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाले स्वीकार नगरेको बताए।
'राष्ट्रिय जनमोर्चाले न्यूनतम कार्यक्रममा रहेको सङ्घीयता, नागरिकता र सङ्क्रमणकालीन विषयमा विमती राख्दै आएको भए पनि बाहिर त्यो कार्यक्रमलाई समर्थन गरेको भन्ने विषय सार्वजनिक हुँदा जनतामा अलमल भयो। हामीले सङ्घीयतालाई स्वीकार गरेका छैनौँ', उनले भने।
सांसद अञ्जनी श्रेष्ठले चितवनमा स्ववियु निवार्चनका क्रममा भएको घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन्। सांसद अनिशा नेपालीले सल्यान र रुकुम जोडिएको सिमानामा सडक नभएको स्थानमा पुल कस्ले बनाएको भनी प्रश्न गरिन्। सांसद अनितादेवी अग्रहरीले नागरिकता समस्या समाधान गर्न माग गरेकी थिइन्।
यस्तै, सांसद ईश्वरीदेवी न्यौपानेले वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकको परिवारले पाउने क्षतिपूर्ति दिलाइदिने भन्दै रकम असुल्नेलाई तत्काल कडा कारबाही गर्न माग गरिन्। सांसद गीता बस्नेतले यातायातसम्बन्धी सेवा लिन बाँके जानुपरेको भन्दै तत्काल बर्दियामा यातायात कार्यालय स्थापना गर्न सरकारसँग आग्रह गरिन्। सांसद जुलीकुमारी महतोले सुशासनको व्यवस्था, सदाचार कायम गर्न र सार्वजनिक सेवा प्रवाहलाई सुव्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएकी थिइन्।
आजको बैठकमा आर्थिक वर्ष २०७८\७९ को महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रतिवेदन पेस गरेकी थिइन्।