PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

किसानलाई समयमै मल उपलब्ध गराउन सांसदहरुको माग, ‘अनुदान बढाएर कृषिको व्यवसायीकरण गर्नुपर्छ’



पहिलोपोस्ट

किसानलाई समयमै मल उपलब्ध गराउन सांसदहरुको माग, ‘अनुदान बढाएर कृषिको व्यवसायीकरण गर्नुपर्छ’

काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले गठबन्धन सरकारको भूमिका र स्वयं सदनको भूमिकाबारे प्रश्न उठाएका छन्। सोमवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा विभिन्न दलका सांसदहरुले गठबन्धनका नेताहरु भ्रष्टचार विवादमा मुछिएको भन्दै जवाफदेहिता र पादर्शिताको माग गरेका हुन्।

सांसदहरुले सरकारले जनपेक्षाअनुसार काम नगर्दा उत्पन्न नैराश्यताप्रति गम्भीर हुन ध्यानाकर्षण गराए। सांसद पदम गिरीले सङ्घीय संसद्बाट प्रभावकारी भूमिका निर्वाह हुन नसकेको गुनासो गरे।

उनले भने, ‘आज पहिलो बैठक प्रारम्भ भएको ९१ दिन भइसकेको छ। यसबिचमा जम्मा २१ वटा बैठक बस्यो तर उपलब्धि के भयो त? एउटा ऐन निर्माण गर्न सकेका छैनौँ।’

सांसद गिरीले उनले देशको आर्थिक अवस्था, अलपत्र ठूला आयोजना, बैंकको महङ्गो ब्याजदर र मलको मूल्यवृद्धिका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

‘रासायनिक मल ल्याउनका लागि सरकारले पैसा नभएको बाहनामा मूल्यवृद्धि गर्दैछ। यो दुःखद् कुरा हो’, उनले भने, ‘वर्तमान सरकार उत्तरदायी र जवाफदेही नहुँदा आमजनतामा निराशा बढेको छ।’

सांसद दीलेन्द्र प्रसाद बडूले बन्द अवस्थामा रहेको उत्तरी नाका कूटनीतिक पहलबाट तत्काल खुला गर्न आग्रह गरे। उनले भने, ‘उत्तरी नाका चार वर्षदेखि बन्द अवस्थामा छन्। यी नाकाबाट हुने व्यापार देशव्यापीरुपमा अवरुद्ध भएको छ।’

‘दार्चुलाको एउटा प्रतिनिधिमण्डल काठमाडौंमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र वाणिज्य मन्त्रालयलाई हारगुहार गरिरहेको अवस्था छ। छिटोभन्दा छिटो कूटनीतिक पहलबाट यी नाका सञ्चालनमा आओस्, म आग्रह गर्दछु’, उनले भने, ‘मौसमी नाकाका रुपमा चिनिने उत्तरी नाकाको सम्झौताअनुसार खुला गर्न चीन सरकारले महत्व दिएको छैन।’

सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिमको विद्युत् आयोजना नीति तथा कार्यक्रममा उच्च प्राथमिकताका साथ आए पनि बजेट सोअनुसार नआएको भन्दै आगामी बजेटमा त्यसतर्फ ध्यानाकर्षण गराए।

उनले भने, ‘चर्चा हुने तर काम किन नहुने? कि त निर्माण गरौँ कि त चर्चा गर्न छोडौँ।’

उनले सवारी दुर्घटनाका कारण अछाम जिल्लाको अवस्था तनावग्रस्त भएको भन्दै मृतक हेमराज कुँवरको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरे।

सांसद धवलशमशेर जबराले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गरे।

उनले भने, ‘वर्षायाम आइसक्यो धान रोप्ने बेला पनि भइसक्यो। तर जिल्लामा मल पुगिरहेको छैन, राज्यले यसको व्यवस्था तुरुन्त गर्न पर्‍यो।’ उनले राप्ती नदी र डुडुवा खोलामा तटबन्धका लागि ध्यानाकर्षण गराए।

सांसद विमला सुवेदीले किसानलाई समयमै मल उपलब्ध गराउन माग गरिन्। उनले आगामी बजेटमा देशभित्रै रासायनिक मल उत्पादनको विषयलाई महत्व दिनुपर्ने उल्लेख गरिन्।

‘अनुदान बढाएर कृषिको व्यवसायीकरण गर्नुपर्छ’, उनले भनिन्, ‘किसानले पाउनुपर्ने अनुदान विचौलियाले पाइरहेका छन्। त्यसतर्फ सरकार सचेत हुन आवश्यक छ।’ उनले जङ्गली जनावरबाट किसानको खेतीबालीमा पुगेको नोक्सानीप्रति समेत सरकारको ध्यानाकर्षण गराइन्।

सांसद दीपक गिरीले दाङमा विमानस्थल र लुम्बनी प्रदेशको राजधानीमा रहेको कैलावास नाकाबारे सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘कोही १० र १५ वर्षदेखि अलपत्र बनेका आयोजना छन्। विसं २०११ मा स्थापना भएको दाङको विमानस्थल २०४२ सालदेखि बन्द छ। त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदछु।’

सांसद डा चन्दा कार्कीले ‘डाउन सिण्ड्रोम’का लागि अपाङ्गताको छुट्टै वर्गीकरणमा राख्न माग र बीमाको व्यवस्था गर्न माग गरिन्। उनले यसबाट प्रभावित व्यक्तिका लागि स्वास्थ्य र शिक्षामा पहुँच वृद्धि गर्न निःशुल्क सेवा उपलब्ध हुनुपर्ने माग राखिन्।

सांसद दीपक कार्कीले धनुषाधामलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा घोषणा गर्न माग गरे। धनुषाधाममाको जङ्गलमा पर्खाल लगाउनुपर्ने उनको भनाइ छ।

सांसद डा सुनिलकुमार शर्माले जलस्रोतको विकास र व्यापारका लागि भारतीय र बङ्गलादेशी व्यापारीसँग त्रिपक्षीय सम्झौता गर्नसकिने बताए।

उनले भने, ‘जलाशयका क्षमताअनुसार २३ वटा आयोजना मात्र सञ्चालन गर्दा ३० हजार मेगावट विद्युत् सन् २०३० सम्म उत्पादन गर्न सक्छौँ। भारत र बङ्गलादेशसँग वीन–वीन अवस्थामा बिक्री गर्नसकेमा आर्थिक अवस्थामा सुधार हुनसक्छ। भारतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ।’

सांसद शोभा ज्ञवालीले सरकारले अझै पूर्णता नपाएको र यसअघिको सरकारको कामलाई निरन्तरतासमेत दिन नसकेको बताइन्। उनले दक्ष जनशक्ति विदेशिनेक्रम रोक्नुपर्ने बताइन्।

सांसद सरस्वती सुब्बाले भूमिहीन नागरिकलाई लालपुर्जासहितको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन्। उनले राष्ट्रिय भूमि आयोगलाई क्रियाशील बनाउन आवश्यक बजेट र कर्मचारीको व्यवस्थान गर्न माग गरिन्। सांसद ऋषिकेश पोखरेलले गठबन्धनको संस्कृतिले राष्ट्रिय शक्ति र राष्ट्रियतालाई कमजोर बनाएको आरोप लगाए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell