PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

मलेसिया जाने तयारीमा थिए गाउँका युवा, घर र पैसा दुवै आगलागीमा नष्ट



पहिलोपोस्ट

मलेसिया जाने तयारीमा थिए गाउँका युवा, घर र पैसा दुवै आगलागीमा नष्ट

वीरगंज : सुक्खायाम सुरु भएसंगै तराई मधेशका जिल्लमा आगालागीको घटनामा वृद्धि हुदै गएको छ। रौतहटका विभिन्न गाउँमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। रौतहटका माधवनारायण, वृन्दावन र ईशनाथ नगरपालिकाका गाउँहरूमा आगलागी हुँदा करोडौंको क्षति भएको हो।

रौतहटको माधवनारायण नगरपालिका-४ मानपुर गाउँमा आइतवार दिउँसो भीषण आगलागी भएको थियो। दिउँसो २ बजेदेखि लागेको आगो करिब ४ बजे नियन्त्रणमा आएको थियो। आगोले करिब एक दर्जन घर नष्ट भएको र थप  एक दर्जन घरमा क्षति पुर्‍याएको प्रशासनले जनाएको छ। आगलागीका कारण करोडौं मूल्यबराबरको मालसामानमा पनि क्षति पुगरेको र कैयौं परिवारको विस्थापित भएका छन्।

खेतमा गहुँको भुस जलाउने क्रममा हावाले उडाएर आगो फुसको घरमा सल्किन पुगेको अनुमान गरिएको छ। गहुँ काटेपछि खेतमा बाँकी रहेको अवशेष जलाउन आगो लगाएको र दिउँसो तातो पश्चिमा हावासँगै आगो उडेर फुसको घरमा सल्केको हुन सक्ने बताइन्छ।

आगोले वीरेन्द्र मुखिया बिन, हरेशी मुखिया बिन, महेशी मुखिया बिन, जिउत मुखिया बिन, सुरेन्द्र मुखिया बिन, राजेन्द्र मुखिया बिन, नेमी मुखिया बिन, बिलट भगत माली, जयकरण मुखिया, मोतीलाल मुखिया, किशोर मुखिया, किशोर भगत माली, इनरदेव भगत माली, बिकाउ मुखिया बिनको दुई दर्जन घरलाई क्षतिग्रस्त बनाएको छ। अन्य केही परिवारका घरमा पनि ठूलो क्षति पुर्‍याएको छ।

आगोले मलेसिया जाने तयारीमा रहेका नेमीलाल मुखियाको घर पनि नष्ट गरेको छ। यसैगरि, हरेशी मुखिया बिनको घरमा पनि आगो लागेको छ। उनी पनि मलेसिया जाने तयारीमा थिए। दुवैको घरमा मलेसिया जान ठिक्क पारेर राखेको दुई-दुई लाख रुपैयाँ पनि आगोले नष्ट भएको छ। एकल महिला बालकेसी देवीले साहुसँग तमसुक गरी हिजो मात्र ल्याएको तीन लाख रुपियाँ पनि जलेर खरानी भएको छ। उनले पनि छोरालाई मलेसिया पठाउन रकम जोहो गरेकी थिइन्।

यसैगरी, रौतहटको तेजापाकड गाउँँ र ईशनाथमा पनि आगलागीका घटनाहरू भएका छन्। सबै आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell