वीरगंज : वीरगंज महानगरपालिकाको मुख्य आयोजनामा संचालन हुन लागेको रात्रि बजारको तयारी अन्तिम चरणमा पुगेको छ। नयाँ वर्षको अवसर पारेर यही चैत ३० गते देखि वैशाख २ गतेसम्म आयोजना गर्न लागिएको रात्रि बजारको आवश्यक सजावटदेखि स्टल बुकिङको काम अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ।
महानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मेयर राजेशमान सिंहले रात्रि बजारले वीरगंजको अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गर। रात्रि बजार अवधिभर नेपाल भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएको भन्दै उनले यसले सीमापारका पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे।
विरगंजका उद्योगी, व्यवसायीसँगको सहकार्य र व्यवस्थापनमा हुन लागेको रात्रि बजारमा महानगरपालिकाले ७५ प्रतिशत आर्थिक लगानी गर्ने भएको छ।
‘यहाँका निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार लगाउन लागेका हौं,’ उनले भने, ‘यसले यहाँका व्यवसायी तथा आम नगरवासिले रात्रि बजारबाट लाभ लिन सक्ने विश्वास लिएका छौं।’
रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थिक अवस्था चलायमान बनाउन आयोजना गर्न लागिएका आयोजकको दाबी छ। तीन दिनको स्टलको शुल्क १ हजार रुपैयाँ मात्रै लिइएको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताए। आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेनपार्कसम्म लाग्ने रात्रीबजारमा १०० भन्दा बढी थरिथरिका स्टलहरु रहने उनले जानकारी दिए। शिक्षा, स्वास्थ्य सम्बन्धि जानकारी मुलक स्टलका साथै विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु बजारमा रहनेछन्। रात्रि बजारमा झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहेन उनले बताए।
रात्रि बजारमा सुरक्षा प्रबन्ध मिलाउन स्थानीय प्रशासनसँग सहकार्य भएको मेयर सिंह्यले बताएका छन्।