PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

२१ करोडको लागतमा वाग्मतीका मुख्यमन्त्रीको लागि नयाँ निवास बनाइँदै



निशा गुरुङ

२१ करोडको लागतमा वाग्मतीका मुख्यमन्त्रीको लागि नयाँ निवास बनाइँदै

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्रीका लागि नयाँ क्वाटर निर्माण भइरहेको छ।  वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल बस्दै आएको निवास भत्काएर नयाँ निवास बनाउन चटारो अहिले तिब्र गतिमा चलेको छ।

अर्थतन्त्र धरासायी हुने सम्भावना भन्दै प्रदेश सरकारले खर्च कटौती गर्दै १४ मन्त्रालय घटाएर ११ वटा मन्त्रालय बनाएको थियो। यस्तो अवस्थामा मुख्यमन्त्री आफैँले प्रयोग गरिरहेका सुविधासम्पन्न क्वाटर भत्काएर २१ करोडको लागतमा नयाँ भवन बनाउने तयारी गरिएको हो।

ललितपुरको ए.नट.आर्किटेक एण्ड आर्किटेक प्राईभेट लिमिटेड तयार पारेको प्रारम्भिक डिजाईनमा बन्ने नयाँ भवनको वैशाख पहिलो साताभित्र टेन्डर आह्वान गर्ने भौतिक पुर्वाधार विकास मन्त्रालयले जनाएको छ।

दुई वर्षभित्र सम्पन्न गर्ने गरि पहिलो चरणको काम गर्न भौतिक पुर्वाधार विकास मन्त्रालयले बजेट विनियोज गरिसकेको शहरी विकास तथा भवन निर्माण कार्यालयका निमित्त प्रमुख ईन्जिनियर घनश्याम श्रेष्ठले जानकारी दिए। उनका अनुसार भवन निर्माणमा २१ करोड लागत लाग्ने हुँदा पहिलो चरणमा १० करोडबाट काम सुरु हुनेछ।

भौतिक पुर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजन ईन्जिनियर चन्द्रकाजी गुरुङ्ले नयाँ बन्न लागेको मुख्यमन्त्री निवासमा सचिवालय, सुरक्षामा खटिने प्रहरी, सेना रहने गरि चारवटा ‘ब्लक’मा साँढे दुई तले भवनको प्रारम्भिक डिजाई तयार भइसेको बताए। यो डिजाइन स्वीकृत हुन भने बाँकी छ। भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव शंखर पण्डितले यहि हप्ताभित्र डिजाई पेश भइसकेपछि काम अगाडि बढ्ने बताए। 

वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार हालको भवन पुरानो भएको भन्दै जम्कट्टेलले गुनासो गरेपछि भवन भत्काएर नयाँ बनाउने तयारी गरिएको हो।

मुख्यमन्त्री जम्मकट्टेलले भने नयाँ भवनको आवश्यक रहेको बताएका छन्। उनले भवन पुरानो , बैठक बस्न हल र कार्यरत सुरक्षाकर्मीलाई समेत समस्या हुँदा नयाँ भवन बनाउन लागेको जानकारी दिए।

‘नयाँ भवनको धेरै समस्या छ। बैठक बस्नदेखि लिएर सुरक्षा निकायमा खटिएका कर्मचारीहरु बस्नसमेत समस्या भएको,’ उनले भने ,‘सामान्य भेटघाट गर्न समेत कक्षा छैन। त्यसकारण पनि भवन बनाउन लागेको हो।’

जम्कट्टेल हाल वन कार्यालयको हेटौंडा–२ स्थित भवनमा बसिरहेका छन्। उक्त भवनमा यसअघि पूर्व मुख्यमन्त्रीहरू डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे पनि बसेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell