PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

दुई ठूला अवसरको संघारमा नेपाली क्रिकेट : पहिलोमा सफल भए एसिया कप पुग्ने, दोस्रोबाट विश्वकप!



मुकुन्द घिमिरे

दुई ठूला अवसरको संघारमा नेपाली क्रिकेट : पहिलोमा सफल भए एसिया कप पुग्ने, दोस्रोबाट विश्वकप!

काठमाडौं : क्रिकेट विश्वकप लिग २ का पछिल्ला १२ खेलमध्ये ११ मा जित निकाल्दै नेपाली क्रिकेट टोलीले सनसनी नै मच्चायो। एकदिवसीय मान्यता नै धौधौ परेको अवस्थामा लिग २ को शीर्ष ३ मा पर्न सकेको नेपालले ठूलै 'कमब्याक' गर्‍यो।

लिग २ पछि नेपाली क्रिकेट टिम सामु दुई ठूला अवसरहरु आएका छन्। यदि यी दुई अवसरमा सफल भए नेपालले शक्तिशाली टेस्ट राष्ट्रहरुसँग प्रतिस्पर्धाको अवसर पाउनेछ।

नेपालले अब खेल्ने पहिलो प्रतियोगिता हो : एसीसी प्रिमियर कप। बैशाख ५ गतेबाट नेपालमै हुन लागेको यो प्रतियोगितामा च्याम्पियन बन्न सके नेपालका लागि एसिया कपको ढोका खुल्नेछ। र, शीर्ष ३ मा परे एसिया इमर्जिङ कपमा पग्नेछ नेपाल।

नेपालमा हुने एसीसी प्रिमियर कपमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसहित ओमन, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह ‘बी’मा यूएई हङकङ, कुवेत, सिंगापुर र बहराइन् छन्।

सेमिफाइनलको खेल बैशाख १६ गते र फाइनल बैशाख १८ गते हुनेछ। बैशाख १७ गते तेस्रो स्थानका लागि खेल हुनेछ। प्रतियोगिताका खेलहरु

बैशाख ५ गतेबाट ९ दिनसम्म लगातार दैनिक दुई-दुईवटा हुनेछन्। प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन्।

खेलतालिका

मिति टीयू मैदान मुलपानी मैदान
बैशाख ५ नेपाल Vs मलेसिया हङकङ Vs सिंगापुर
बैशाख ६ यूएई Vs कुवेत ओमन Vs कतार
बैशाख ७ सिंगापुर Vs बहराइन मलेसिया Vs साउदी
बैशाख ८ नेपाल Vs ओमन यूएई Vs हङकङ
बैशाख ९ कतार Vs साउदी कुवेत Vs बहराइन
बैशाख १० यूएई Vs सिंगापुर ओमन Vs मलेसिया
बैशाख ११ हङकङ Vs बहराइन नेपाल Vs साउदी
बैशाख १२ कुवेत Vs सिंगापुर कतार Vs मलेसिया
बैशाख १३ ओमन Vs साउदी यूएई Vs बहराइन
बैशाख १४ नेपाल Vs कतार हङकङ Vs कुवेत

प्रिमियर कपको विजेताले सोझै एसिया कपमा स्थान बनाउनेछ। यस्तै, शीर्ष ३ टोलीले इमर्जिङ टिम एसिया कपमा स्थान बनाउनेछ।

इमर्जिङ टीम एसिया कपमा भारत ए, पाकिस्तान ए, श्रीलंका ए, अफगानिस्तान ए र बंगलादेशको ए टोली हुनेछन्। त्यस्तै, प्रिमियर कपका शीर्ष तीन टोलीले इमर्जिङ एसिया कप खेल्नेछन्।

लक्ष्य विश्वकपको पनि

नेपालले लगत्तै खेल्ने अर्को प्रतियोगिता हो विश्वकप छनोट। यो प्रतियोगिता जिम्बावेमा जुन जुलाइको महिनामा हुनेछ। १० टोली सहभागी हुने यो प्रतियोगितामा नेपालसहित ९ टोलीको टुंगो लागिसकेको छ भने एक टोलीको टुंगो लाग्न बाँकी छ।

सन् २०१९ मा ३२ वटा टोलीले विश्वकपमा स्थान बनाउने लक्ष्य लिएर प्रतिस्पर्धा सुरु गरेका थिए। जसमध्ये ७ टोलीले विश्वकपमा स्थान पक्का गरिसक्दा थप १० टोली विश्वकप छनोट खेल्ने तयारीमा छन्।

विश्वकप छनोटको प्रक्रियालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले तीन भागमा विभाजन गरेको थियो : टेस्ट राष्ट्रहरु सम्मिलित १३ टोलीको सुपर लिग, नेपाललगायतका ७ एसोसिएट राष्ट्रसम्मिलित क्रिकेट विश्वकप लिग २ र तल्लो लिगका रुप १२ टोली सम्मिलित च्यालेन्ज लिग।

क्रिकेट विश्वकप लिग २ बाट शीर्ष तीन टोली स्कटल्याण्ड, ओमन र नेपालले विश्वकप छनोटमा स्थानमा बनाउँदा यूएई र युएसएले पनि विश्वकप छनोटमा पनि स्थान बनाएका छन्। क्रिकेट विश्वकप लिग २ मा शीर्ष ३ मा पर्न नसकेका यूएसए, नामिबिया, यूएई र पपुवा न्युगिनीले च्यालेन्ज लिगका शीर्ष दुई टोली जर्सी र क्यानडासँग 'प्लेअफ' खेलेका थिए। जसमा शीर्ष दुईमा रहँदै यूएसए र यूएई विश्वकप छनोटमा स्थान बनाउन सफल भएका हुन्।

त्यस्तै, सुपरलिगबाट न्युजिल्याण्ड, इङ्ग्ल्याण्ड, भारत, बंगलादेश, पाकिस्तान, अस्ट्रेलिया र अफगानिस्तानले शीर्ष ७ मा रहँदै सोझै विश्वकपमा स्थान बनाइसकेका छन्। अहिले आठौँ टोलीका रुपमा सोझै विश्वकप खेल्ने प्रतिस्पर्धामा दक्षिण अफ्रिका र आयरल्याण्ड छन्। अफ्रिकाको सम्भावना बलियो हुँदा आयरल्याण्डसँग समीकरण भने बाँकी छ। यी मध्ये एक टोलीले सोझै विश्वकप खेल्नेछन् भने अर्को टोलीले नेपाललगायतका टिमसँग विश्वकप छनोट खेल्नेछन्।

सुपर लिगमा बाँकी रहेका वेस्टइण्डिज, श्रीलंका, जिम्बावे र नेदरल्याण्ड्सले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ।

अर्थात, विश्वकप छनोटमा नेपाल, ओमन, स्कटल्याण्ड, यूएई, अमेरिका, वेस्टइण्डिज, श्रीलंका, जिम्बावे र नेदल्याण्ड्स पक्का भइसकेका छन् भने अन्तिम टोली दक्षिण अफ्रिका र आयरल्याण्डमध्ये एक हुने पक्का छ।

नेपालले हेभिवेट मानिएका टोलीहरुसँग प्रतिस्पर्धा गर्ने निश्चित भइरहँदा आफ्नो लयलाई निरन्तरता दिने चुनौती पनि थपिएको छ। नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइले प्रिमियर कपको तयारी स्वरुप खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले प्रिमियर कप अगाडि केही टोलीसँग खेल खेलाउने तयारी पनि गरिरहेको छ।

प्रिमियर कप अघि नै केही अभ्यास खेलहरु मुलपानी मैदानमा गराउने तयारी क्यानको छ। त्यसका लागि केही टोलीसँग संवाद पनि अघि बढारहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए।

‘प्रतियोगिता अघि खेल खेल्नका लागि केही टिमले आग्रह गरिरहेका छौं। त्यसमध्ये छनोट गरेर २/३ वटा म्याच खेलाउँछौँ होला,’ पाठकले भने।

एसीसी प्रिमियर कपका लागि २१ सदस्यीय प्रारम्भिक टोली हाल प्रशिक्षणमा छ। क्यानले देव खनाल, किशोर महतोलगायतका खेलाडी समेट्दै २१ सदस्यीय टोली घोषणा गरेको थियो।

प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, सन्दीप जोरा, श्याम ढकाल (मौसम), कमल सिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell