काठमाडौं : पछिल्लो एक वर्षमा चलचित्र विकास बोर्डले १५३ वटा फिल्मलाई निर्माणको लागि इजाजत दिएको छ। वैशाखदेखि चैतसम्ममा १५३ वटा फिल्मले निर्माणका लागि बोर्डबाट अनुमति लिएका हुन्।
बोर्डको विवरणअनुसार कोरोना भाइरस कहर कम भएसँगै फिल्म निर्माणको संख्या झण्डै दोब्बरले बढेको देखिन्छ। कोरोना महामारीकबिच२०७८ सालमा ८९ वटा र २०७७ सालभित्र जम्मा ७१ वटा फिल्महरुले बोर्डबाट निर्माण इजाजतको अनुमति लिएका थिए।
इजाजत लिएका केही फिल्महरुले भने समयसीमा सकिएका कारण पुन: इजाजतसमेत लिएका छन्। इजाजत लिएको ३ वर्षसम्म फिल्म प्रदर्शनमा नआए पुनः इजाजत लिनुपर्ने प्रावधान छ।
म्याद सकिएर पुन: नयाँ प्रक्रियाबाट इजाजत लिने फिल्महरुभित्र ‘पानीफोटो’, ‘हिजो आजका कुरा’, ‘डामाडोल’, ‘प्रेमगीत ३’, ‘हुतुतु’, ‘झिँगे दाउ’, ‘सम्हालिन्छ कहिले मन’,‘द्रोपती’, ‘यो कस्तो माया’, ‘डेसान’, ‘डिसेम्बर फल्स’, ‘आमाखान्डो’,’डेसान’, ‘गोर्खा वारियर’,‘बजरंगी’,‘काँडेतार’, ‘हाम्रो कलेज लाइफ’,‘मनको बाँध’, ‘कैदीको पत्र’, ‘जारी’, दिमागखराब लगायतका फिल्महरु पर्छन्।
त्यसैगरि, इजाजत लिएर पनि छायाङ्कन नै सुरु नगरेका फिल्मको सुची लामै छ। सन्तोष सेनको फिल्म ‘हुतुतु’ देखि फिल्म ‘एक्स ९’, असिम शाहको फिल्म ‘डामाडोल’, दीपेन्द्र के खनालको ‘चंगा चेट’, ‘द रिसोर्ट’,‘पिंक लिपस्टीक’ र ‘पर्खि बसेँ तिमीलाई’लगायतका फिल्म पर्छन्।
केही फिल्महरु अहिले छायाङ्कना भइरहेको छ।जसमा ‘नांगो गाउँ, ‘जय हो’, ‘दुई कदम’,‘पशुपति प्रसाद-भष्मे डन’, ‘भगवत् गीता’, ‘दुई कदम’ र ‘ऐंचो पैंचो’‘जाँड’ र ‘ह्रस्वदीर्घ’लगायतका फिल्महरु पर्छन्।
यसवर्ष ४७ फिल्महरु रिलिज भए
२०७९ बैशाख १ गते 'ए मेरो हजुर ४' रिलिज भएसँगै यो वर्षको ओपनिङ भएको थियो। चैत २४ गतेबाट रिलिज भएको ‘बहाव’ सम्म आइपुग्दा यसवर्ष जम्मा ४७ वटा फिल्महरु रिलिज भए।
‘ए मेरो हजुर ४’ सफल भए पनि सोही महिना रिलिज भएका मन्त्र, लक्का जवान, षट्कोण भने बक्सअफिसमा 'फ्लप' भए। त्यसपछि जेठ १३ गते ‘कबड्डी ४’ रिलिज भयो। सो फिल्मले २४ करोड कमाउँदै सर्वाधिक व्यापार गर्नेको रेकर्ड राख्न सफल भयो। ‘कबड्डी ४’ पछि रिलिज भएका ‘लाइफ इन एलए’, ‘चिसो मान्छे’, ‘घनचक्कर’, ‘दोख’, ‘सम्झना बिर्सना’, ‘सिल्लो फो’, ‘पानीफोटो’, ‘म’ र ‘चपली हाइट ३’ प्रदर्शन भए पनि दर्शक तान्न भने सकेनन्।
भदौमा ‘प्रेमगञ्ज’, ‘माइकल अधिकारी’, ‘कृष्ण लीला’, ‘प्रकाश’, ‘द सेक्रेट्स अफ राधा’, ‘सम्हालिन्छ कहिले मन’, ‘झिंगे दाउ’, ‘ऐना झ्यालको पुलती’, ‘गोर्खा: विनिथ द ब्रेभरी’रिलिज भए। जसमध्ये ‘झिंगे दाउ’ व्यवसायिक हिसाबले सफल हुँदा ‘ऐना झ्यालको पुतली’ समीक्षात्मक हिसाबले उत्कृष्ट फिल्म ठहरियो। त्यसैगरि, ‘प्रकाश’ बाट प्रदीप खड्काको अभिनयको चर्चा भयो।
असोज महिनामा ‘प्रेमगीत ३’, ‘बाबरी’, ‘२ नम्बरी’, 'हिजो आजका कुरा' रिलिज भए। तर, ‘प्रेमगीत ३’ र ‘२ नम्बरी’ ले मात्रै राम्रो व्यपार गर्न सक्यो। त्यसैगरि, कात्तिकमा रिलिज भएको ‘महापुरुष’ र ‘के घर के डेरा’ बक्सअफिसमा हिट हुँदा ‘नालापानी’ र ‘लाखे’ ले भने लगानि समेत उठाउन सकेनन्।
मंसिरमा रिलिज भएको ‘चोर र पुलिस’, ‘मीलन’, ‘पासो’ र ‘सोल अफदकमाण्डो’ पनि नराम्ररी डुबे। त्यसपछि पुसमा रिलिज भएको ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’, ‘गुञ्जन’, र ‘तिम्रो मेरो साथ’ले पनि लगानि समेत हात पार्न सकेनन्। माघ महिनामा प्रदर्शन भएका ‘ह्यारीकी प्यारी’, ‘आँधी तूफान २’ र ‘मनसँग मन’ ले पनि बक्सअफिसमा कमाल गर्न सकेनन्।
तीनमहिना सुनसान भएको नेपाली बक्सअफिस फागुन ५ गते रिलिज भएको ‘फूलबारी’ सँगै फेरि ब्युँतियो। पारिवारिक विषयवस्तुमाथि बनेको यस फिल्मलाई दर्शकले मन पराएका थिए।
फागुन १९ गतेबाट दीपकराज गिरीको ‘छक्का पञ्जा ४’ र अनमोल केसीको ‘छड्के २’ रिलिज भए। छक्का पञ्जा सिरिजको अगाडि अनमोलको स्टारडम टिक्न सकेन। ‘छड्के २’ हलमा एक हप्ता पनि टिक्न सकेन। ‘छक्का पञ्जा ४’ हालसम्म पनि छैटौं हप्तामा प्रदर्शन भइरहेको छ।
त्यसैगरि, चैत१७ ‘प्रेमा’ प्रदर्शन भए पनि हलमा केही दिन पनि टिक्न सकेन। त्यसैगरि, चैत २४ गतेबाट रिलिज भएको ‘बहाव’ भने हलमा प्रदर्शनरत छ।