PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अमेरिकाविरुद्ध आक्रमक शेख हसिना, 'उनीहरु जुनसुकै देशको सरकार परिवर्तन गर्न सक्छन्'



पहिलोपोस्ट

अमेरिकाविरुद्ध आक्रमक शेख हसिना, 'उनीहरु जुनसुकै देशको सरकार परिवर्तन गर्न सक्छन्'

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अमेरिकाको आलोचना गरेकी छिन्। प्रत्यक्ष रुपमा अमेरिकाको नाम नलिएर उनले अमेरिकाले चाहे कुनै पनि देशको सत्ता परिर्वतन गर्न सक्ने बताएकी हुन्।

बंगलादेशको संसदमा अमेरिकाको आलोचना गर्नुअघि उनले बंगाली भाषाको दैनिक पत्रिका 'प्रोथोम आलो'को पनि आलोचना गरेकी थिइन्। उनले सो पत्रिका उनको पार्टी अवामी लिगको मात्रै नभइ बंगलादेशी जनता र लोकतन्त्रको दुश्मन भएको बताएकी थिइन्।

बंगलादेशको संसदले ५० वर्ष पूरा गरेको अवसरमा पेस भएको प्रस्तावमाथि सम्बोधन गर्ने क्रममा उनले अमेरिकाले लोकतन्त्रको नाममा आफूहरुलाई झुक्याउने प्रयास गरिरहेको बताएकी हुन्।

'सो देश हामीलाई लोकतन्त्रको नाममा झुक्याउँदैछ र हाम्रो विपक्षी पार्टी र केही मानिस तालि बजाउँदै र नाच्दैछन्,' उनले भनिन्।

'उनीहरु कुनै पनि देशको सत्ता परिवर्तन गर्न सक्छन्। विशेगरि मुस्लिम देशहरुमा। जबसम्म उनीहरुको नियन्त्रण इस्लामिक राष्ट्रमाथि थियो, सबै ठिक थियो। अहिले रसिया र युक्रेन युद्धले विश्वकै आर्थिक संकटको चपेटामा छ,' उनले थप भनिन्।

बंगलादेशका विदेश मन्त्री डा अब्दुल मोमिन अमेरिका भ्रमणमा रहेका बेला हसिनाको यो अभिव्यक्ति आएको हो।

मोमिनसँगको भेटमा अमेरिकाका विदेश मन्त्री एन्थोनी ब्लिन्केनले अमेरिकाले बंगलादेशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन भएको देख्न चाहेको बताएका थिए। ब्लिन्केनले विश्वको नजर बंगलादेशमा हुने निर्वाचनमाथि रहेको बताएका थिए।

पछिल्लो केही वर्षयता बंगलादेश र अमेरिकाको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ। अमेरिकाले रोहिंग्या मुसलमानहरुको मानवअधिकारको विषयलाई लिएर बंगलादेशको आलोचना गर्दै आएको छ। यद्यपि, ब्लिन्केनले भने आफूहरु बंगलादेशले रोहिंग्याप्रति देखाएको उदारताको प्रसंशक भएको मोमिनसँगको भेटमा बताएका थिए।

यही वर्ष आयोजना भएको डेमोक्रेसी समिटमा अमेरिकाले बंगलादेशलाई निमन्त्रणा दिएको थिएन। सो सम्मेलनमा अमेरिकाले नेपालसहित भारत, पाकिस्तान र माल्दिभ्सलाई बोलाएको थियो।

संसदमा सम्बोधन गर्दै हसिनाले अमेरिका भइरहेको गोलीकाण्डको चर्चासमेत गरिन्। अमेरिकाका विद्यालय, सपिङ सेन्टरहरुमा गोली चलिरहेको उनले त्यसप्रति भने अमेरिकी सरकार जवाफदेही नभएको बताइन्। उनले १५ अगस्तको नरसंहारका दोषी रशीद चौधरी अमेरिकामा रहेको र पटकपटक उनलाई कारबाहीको माग गरे पनि नभएको भन्दे उनले भनिन्, 'उनीहरु यस्ता अपराधीहरुको संरक्षण गरिरहेका छन्।'

रशीदले शेख हसिनाका बुवा बंगबंधु शेख मुजीब उर रहमानको विरुद्ध सैनिक विद्रोहको नेतृत्व गरेका थिए। उनीमाथि बंगबंधुको हत्याको आरोप छ।

हसिनाले अमेरिकाले भ्रष्टचारविरुद्ध बोल्ने गरे पनि भ्रष्टाचारीको संरक्षण पनि उनीहरुले नै गरिरहेको आरोप लगाइन्। सम्बोधनका क्रममा उनले नोबेल पुस्कार विजेता मोहम्मद युनुसको सम्पत्तिमाथि पनि प्रश्न खडा गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell